खोटाङका सबै पालिकामा कोरोना खोप अभियान सञ्चालन गरिने

डम्बरसिं राई

खोटाङ — मंसिर २२ र २३ गते जिल्लाका दसवटै स्थानीय तहमा कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । पहिलो मात्राका खोप लगाइसकेका तथा लगाउन बाँकी नागरिकलाई पायक पर्ने क्षेत्रमा खोप लगाइने छ ।

खोटाङका सबै पालिकामा कोरोना खोप अभियान सञ्चालन गरिने

अभियानका लागि जिल्ला स्वास्थ्य कार्यालयले आवश्यक सामग्रीसहित स्वास्थ्यकर्मी सम्बन्धित स्थानीय तहमा पठाउने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी) खोटाङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए ।

दिक्तेलमा उपलब्ध गराइने खोपका लागि जिल्ला स्वास्थ्य कार्यालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्री, जिल्ला अस्पतालले कोठा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वास्थ्यकर्मीको व्यवस्था गर्ने भएका छन् ।

खोप अभियानका लागि जिल्ला स्वास्थ्य कार्यालयमा संघ तथा प्रदेश सरकारले उपलब्ध गराएको कोभिसिल्ड र भेरोसेल गरी दुई प्रकारका खोप रहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले बताए ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा कोरोनाविरुद्धको पहिलो मात्राको खोप ७४ हजार ७ सय ७४ र दोस्रो मात्राको खोप ४० हजार ९ सय ७९ जनालाई उपलब्ध गराइएको संयोजक दाहालले बताए ।

प्रकाशित : मंसिर २१, २०७८ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?