१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हिमाली महिलाको राजनीतिक छलाङ

सगरमाथा आरोही, पत्रकार डोमा शेर्पा प्रदेश अधिवेशन प्रतिनिधि र पर्यटन एवं पत्रकारितामा सक्रिय फुर्किमा शेर्पा संघीय महाधिवेशन प्रतिनिधि चुनिएका छन्
भानुभक्त निरौला

सोलुखुम्बु — तीन वर्षअघि पत्रकार डोमा शेर्पाको चर्चा सर्वोच्च शिखर सगरमाथा आरोहणका कारणले भयो । सन् २०१८ मा शेर्पा समुदायको पहिलो महिला पत्रकारका रूपमा उनले सगरमाथामा पाइला राखेकी थिइन् । विश्व कीर्तिमानी शेर्पालाई त्यसबेला स्वदेश–विदेशबाट बधाईको ओइरो र पुरस्कारको चाङ लाग्यो ।

हिमाली महिलाको राजनीतिक छलाङ

ठीक तीन वर्षपछि उनलाई फेरि बधाई दिने ओइरिएका छन् । यतिखेर राजनीतिक आरोहण सफलताका लागि बधाई पाइरहेकी छन्, सोलुदूधकुण्ड नगरपालिका–२ की ३० वर्षीया डोमाले । भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४ औं अधिवेशनअन्तर्गत प्रदेश अधिवेशन प्रतिनिधिमा अत्यधिक मतले विजयी भएर राजनीतिक आरोहणको यात्रा सुरु गरेकी छन् । उनले कुल खसेको ४ सय ३८ मध्ये सबैभन्दा बढी ३ सय ३४ मत ल्याएकी हुन् ।

डोमा मात्रै नभएर जिल्लाबाट हिमाली क्षेत्रको महिलाको प्रतिनिधित्व गर्दै आदिवासी जनजाति समुदायकै कान्छी प्रतिनिधि २६ वर्षीया फुर्किमा शेर्पाले पनि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा जित हासिल गरेकी छन् । हिमाल चढ्ने र ट्रेकिङ गर्ने कुरामा बढी अन्तरसम्बन्धित रहेको शेर्पा समुदायका यी दुई महिलाको राजनैतिक यात्राले चर्चा पाउनु स्वाभाविकै हो । सुरुवातदेखि नै पर्यटन क्षेत्रमा क्रियाशील डोमा शेर्पालाई केही नौलो गरेर समाजलाई चिनाउने धोकोले नयाँ काममा धकेलिरहन्छ ।

२७ वर्षको उमेरदेखि पत्रकारितामा कलम चलाइरहेकी एक महिलाका लागि सगरमाथाको शिखर चुम्नु चानचुने कुरो थिएन । ‘मसँग एउटा दृढ अठोट थियो अनि संकल्प पनि,’ डोमाले कान्तिपुरसँग विगत सम्झँदै भनिन्, ‘हाम्रो समुदायको महिला पत्रकारबाट पहिलो कीर्तिमान राख्ने मेरो सपना सबैको सहयोगले साकार भयो ।’ विकट हिमाली क्षेत्रको मध्यमवर्गीय परिवारमा जन्मिएकी डोमाले बेलैमा पत्रकारितमा पेसा रोजिन् । हिमाली क्षेत्र र हिमाल आरोहीका आवाज बुलन्द गराई पर्यटन पत्रकारिता गर्ने उनको सानैदेखिको सपना पूरा भयो ।

कीर्तिमानी रूपमा सगरमाथाको आरोहण सफल गरेसँगै उनले नेपाल अल्पाइन फाउन्डेसन नामक छुटै संस्था खडा गरेर पर्यटन क्षेत्रमा सक्रियतापूर्वक काम गरिरहेकी छन् । उनको फाउन्डेसनले हिमाल आरोहणमा गएका शेर्पाको परिवारलाई सहयोग गर्ने र अनाथ बच्चालाई पढाउने काम गर्छ । ‘हामी पर्यटन क्षेत्रमा नयाँ रुट पत्ता लगाउने काम पनि गर्छौं,’ शेर्पाले भनिन् ।

नेपालकै राजनीतिक अभ्यासले उनलाई राजनीतिमा आउन बाध्य गरेको हो । अध्ययन र अनुभवका आधारमा मात्रै ठूलो ठाउँमा पुग्न सकिन्छ भन्ने मान्यता राखेकी डोमालाई धेरै नियुक्तिहरूमा राजनीतिकै कारण असफलता मिल्यो । ‘मलाई नेपाल माउन्टेन एकेडेमीको सदस्यमा नियुक्ति गर्ने निर्णय भइसकेको थियो तर मेरो राजनीतिक सक्रियता नभएको र विचार नमिलेकै कारण त्यहाँबाट विमुख गराइयो,’ दुखेसो पोख्दै डोमाले भनिन्, ‘माथिल्लो क्षेत्रमा पुग्न अध्ययन र अनुभवसँगै राजनीतिक पहुँच पनि चाहिने भएर राजनीतिमा होमिएकी हुँ ।’

अघिल्लो सालको चैतमा मात्रै कांग्रेसको क्रियाशील सदस्यता लिएकी डोमाले छोटो समयमै पार्टीका कार्यकर्ताको मन जितेर लोकप्रिय मतका साथ प्रदेश अधिवेशन प्रतिनिधि भइन् । अब पूर्णकालीन राजनीतिमा लागेर युवालाई कांग्रेसमा आकर्षित गरी सामाज परिवर्तनमा लाग्ने उनको अठोट छ । त्यस्तै आदिवासी जनजाति महिला समुदायबाट नेपालकै कान्छी प्रतिनिधिका रूपमा सोलुखुम्बुको सोताङ–१ की फुर्किमा शेर्पाले त महाधिवेशन प्रतिनिधि नै जितिन् । अघिल्लो चैतमा मात्रै क्रियाशील सदस्यता लिएकी फुर्किमाले पनि छोटो समयमा नै राजनीतिमा उचाइ हासिल गरिन् ।

पर्यटन र पत्रकारिता क्षेत्रमा क्रियाशील फुर्किमाले २०१५ मा पुन हिलमा अस्ट्रेलियन ग्रुपको ट्रेकिङ चलाएर पर्यटन क्षेत्रमा यात्रा सुरु गरेकी थिइन् । पत्रकारितामा स्नातक फुर्किमाले शेर्पा मिडिया ग्रुपको अध्यक्ष भएर शेर्पा समुदायको पत्रकारितामा सानै उमेरमा नेतृत्व लिइसकेकी छन् । छिमेकी सबै पर्यटन क्षेत्रमा रहे पनि फुर्किमालाई भने समाज सेवा र राजनीति मन पर्छ । ‘मेरो सानैदेखिको सोच समाज सेवा र राजनीति हो,’ उनले भनिन्, ‘शेर्पा समुदायको काम हिमाल चढ्ने र ट्रेकिङ गर्ने मात्र हो भन्ने परिभाषालाई बदल्न पनि म राजनीतिमा आएकी हुँ ।’

कुल खसेको ८ सय ८८ मतमध्ये ४ सय १७ मत ल्याएर महाधिवेशनमा निर्वाचित बनेकी फुर्किमा भन्छिन्, ‘अब युवाहरूलाई पार्टी नेतृत्वमा स्थापित गरेर, उनीहरूलाई नै परिचालन गरेर समाजलाई सुदृढ बनाउने अभियानमा लागिरहन्छु ।

प्रकाशित : मंसिर २१, २०७८ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?