पाँच देशबाट आएका नागरिकलाई पाँचथरमा प्रवेश प्रतिबन्ध- प्रदेश १ - कान्तिपुर समाचार

पाँच देशबाट आएका नागरिकलाई पाँचथरमा प्रवेश प्रतिबन्ध

लक्ष्मी गौतम

पाँचथर — कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) पाँचथरले अफ्रिकासहित ओम्रिकन नामक नयाँ भेरिएन्टको संक्रमण देखिएका मुलुकहरूबाट आएका नागरिकलाई जिल्ला प्रवेशमा रोक लगाएको छ ।

ओम्रिकन भेरिएन्टका संक्रमित छिमेकी मुलुक भारतसहित नेपालमा पनि देखा पर्न थालेपछि जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले अफ्रिका, बोल्सवाना, जिम्बाब्बे, लेसोयो, इस्वातिको, लगायतका मुलुकबाट फर्किएका नागरिकलाई मंसिर १९ गते मध्यरातदेखि जिल्ला प्रवेशमा रोक लगाएको हो ।

तीन महिनायता ती मुलुकबाट काम गरेर फर्किएकासँगै भ्रमण गरेर आएका नागरिकलाई पनि जिल्ला प्रवेशमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।

बैठकले ओम्रिकनसहितका कोरोनाको जोखिम भएका मुलुकबाट फर्किएकाको अनिवार्य पीसीआर परीक्षण गर्ने र जिल्ला प्रवेश गर्ने सबै नागरिकको विवरण नाकाहरूमा राख्नुका साथै सबैखाले कार्यालय र संघ संस्थाले स्वास्थ्य मापदण्ड पालना गरेर सेवा प्रवाह गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । उनका अनुसार बैठकले सबै स्थानीय तह र स्वास्थ संस्थालाई पूर्वतयारीका लागि सचेत रहन आग्रहसमेत गरेको छ ।

प्रकाशित : मंसिर २०, २०७८ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्

बाढीले बगाएर भारतीय भूमिमा पुगेको गैंडा फिर्ता ल्याइयो 

नारायण शर्मा

नवलपुर — ६ वर्षअघि नारायणीको बाढीमा बगेर भारत पुगेको गैंडा नेपाल ल्याइएको छ । त्रिवेणीधामको उखुबारीमा चर्दै गरेको गैंडाका बारेमा स्थानीयले निकुञ्जलाई खबर गरेपछि प्राविधिकको टोलीले गैंडालाई बेहोस बनाएर चितवन निकुञ्जको पूर्वी सेक्टरमा ल्याइएको हो । 


बर्खाको भेलले बगाएर भारत पुगेको गैंडा त्रिवेणीस्थित सुस्ता र आसपासका क्षेत्रलाई आधार बनाएर चर्दै आएको थियो । नेपाल–भारत ओहोर–दोहोर गरिरहने गैंडाका बारेमा स्थानियले निकुञ्जलाई खबर गरेका थिए ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार सोमबार नेपालतिर आएको मौका छोपेर निकुञ्जका प्राविधिकसहितको टोलीले डार्ट गरेर (लठ्याएर) नियन्त्रमा लिएको हो । बेहोस गैंडालाई क्रेजमा राखी ट्रकमा राखेर राजमार्ग हुँदै चितवन निकुञ्जको पूर्वी क्षेत्र ल्याएर छाडिएको सूचना अधिकारी तिवारीले बताए ।

करिब १० वर्षको उक्त भाले गैंडालाई नियन्त्रणमा लिन ६ वटा हात्तीसहित २५ जनाको टोलि खटिएको थियो । हरेक वर्ष बर्खायाममा चितवन निकुञ्जका गैंडालाई नारायणी, राप्ती र अन्य नदीको भेलले बगाएर भारत पुर्‍याउने गरेको छ । तिवारीका अनुसार अहिलेसमम २० भन्दा बढी गैंडा भारतमा त्यसरी पुगेको अनुमान छ ।

प्रकाशित : मंसिर २०, २०७८ १८:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×