कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अवैध असुलीको छानबिन सुरु

केही दिनअघि कोसी राजमार्गमा गुड्ने मालवाहक सवारी साधनबाट ट्राफिक प्रहरीले रकम असुलेको भिडियो बाहिरिएको थियो
चन्द्र कार्की

तेह्रथुम — कोसी राजमार्गका विभिन्न स्थानमा सवारी व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीले नियमविपरीत यातायात व्यवसायीसँग अवैध रकम असुली गरेको बारे प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले छानबिन सुरु गरेको छ । 

उक्त राजमार्गमा गुड्ने मालवाहक सवारी साधनबाट ट्राफिक प्रहरीले नियमविपरीत रकम असुलेको भिडियो केही दिनअघि सार्वजनिक भएको थियो । यसपछि प्रदेश ट्राफिक प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

विभिन्न बहाना देखाएर अवैध रूपमा रकम उठाएको भिडियो बाहिरिएपछि छानबिन सुरु गरिएको उक्त कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वासुदेव खतिवडाले बताए । उनका अनुसार पहिलो चरणमा कोसी राजमार्गमा पर्ने मोरङ, सुनसरी, धनकुटा र तेह्रथुमका ट्राफिक प्रहरी कार्यालयमै पुगेर छानबिन सुरु गरिएको हो ।

पर्यटकीय क्षेत्र धनकुटाको भेडेटारमा तैनाथ ट्राफिक प्रहरी हवल्दार राजन तामाङ र जवान मातृकाप्रसाद बाँस्तोलाले नियम मिचेर जरिवाना उठाउने र यात्रुलाई दुर्व्यवहार गर्ने गरेको गुनासो आएको थियो । त्यसलगत्तै अन्य ट्राफिक प्रहरीले यातायात व्यवसायी र चालकसँग विभिन्न बहाना देखाउँदै रकम असुलेको भिडियो बाहिर आएको थियो । उक्त कार्यालयले तामाङ र बाँस्तोलालाई अन्यत्र सरुवा गरेको छ ।

त्यसलगत्तै अर्को भिडियो पनि बाहिरिएपछि यथार्थ बुझ्न समिति नै गठन गरेर स्थलगत रूपमा टोली पठाइएको कार्यालयले जनाएको छ । टोलीका सदस्यहरू धनकुटा र तेह्रथुम आएर स्थानीयवासी र यातायात व्यवसायीसँग सोधपुछ गरी फर्किएका छन् ।

राजमार्गको चेक पोस्टमा सवारी चेकिङ हुने भए पनि केही स्थानमा ट्राफिक प्रहरीले ५ सयदेखि २ हजार रुपैयाँसम्म जरिवाना काट्ने गरेका थिए । केही स्थानमा ट्राफिक प्रहरीले १ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्म घूस लिएर मात्र सवारी छोड्ने गरेको व्यवसायीले आरोप लगाउँदै आएका छन् । कोसी राजमार्गमा तरकारी, गोलिया, निर्माण सामग्री, जडीबुटीलगायत मालसामान लिएर गुड्ने मालवाहक सवारी साधनका चालकसँग ट्राफिक प्रहरीले रसिदमा ऊल्लेख हुनेबाहेक अतिरित रकम माग्ने गरेको यातायात व्यवसायीले गुनासो गरेका छन् ।

उनीहरूले मागेको रकम नदिए विभिन्न अप्ठयाराहरू देखाएर जरिवाना काट्ने र दुःख दिने गरेको चालक र व्यवसायीको आरोप छ । यातायात व्यवसायी र चालकले ट्राफिक प्रहरीलाई जरिवानाबाहेक थप रकम दिनुपरेको दाबी गरे । यसरी घूस दिने व्यवसायीले ट्राफिक प्रहरीको डरले आफ्नो नाम भने बताउन चाहँदैनन् ।

यातायात व्यवस्था विभागको मालवाहक सवारी साधन भार वहन नियमन निर्देशिका २०७४ अनुसार तोकेको भन्दा बढी भार बोक्ने सवारीलाई ट्राफिकले केही रकम जरिवाना गरे मात्रै छोड्न नपाउने उल्लेख गरेको छ । जरिवानासँगै बढी भएको सामान त्यही ओराल्नुपर्ने वा सम्बन्धित यातायात कार्यालयमा थप कारबाहीका लागि पठाउनुपर्ने नियम छ । तर ट्राफिक प्रहरीले जरिवाना गर्नुका साथै घूस लिएर छाड्ने गरेका थिए ।

प्रकाशित : मंसिर २०, २०७८ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?