मेची राजमार्गको पहिरोले सास्ती- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेची राजमार्गको पहिरोले सास्ती

एकतर्फी खुलाइएको सडकमा एम्बुलेन्सलसमेत जाममा
कान्तिपुर संवाददाता

ताप्लेजुङ — ताप्लेजुङबाट बिरामी बोकेर झापाको बिर्तामोड जाँदै गरेको ग्रामीण विकास मञ्चको एम्बुलेन्स मंसिर २ मा पाँचथरको हेवाखोला छेउमा डेढ घण्टा जाममा पर्‍यो ।

फुङलिङ नगरपालिका–९ का बिरामी लिएर गएको एम्बुलेन्सले साइरन त बजाइरह्यो तर न अगाडि बढ्न सक्यो, न पछाडि फर्कने अवस्था नै थियो । पाँचथरको फिदिम नगरपालिकाकी एक महिलाको मलामी आएकाले मोटरसाइकल र गाडी सडकको दायाँबायाँ राखिदिएपछि जाम परेको थियो । सदरमुकाम फिदिमबाट आएको ट्राफिक प्रहरीलाई सडक खुलाउन हम्मेहम्मे पर्‍यो ।

पूर्वको ताप्लेजुङदेखि पाँचथर सदरमुकाम फिदिम, इलाम हुँदै झापा जोड्ने उक्त सडक यसरी जाम भएको यो पहिलो पटक भने होइन । हेवाखोलाका बासिन्दाका अनुसार जाम भइरहन्छ तर कहिले छिटो खुल्छ, कहिले घण्टौं लाग्छ । एम्बुलेन्सलाई समेत पार पाउन गाह्रो पर्छ । यस्तो समस्या पाँचथरको हेवाखोलादेखि इलामसम्मै छ । जहाँ सडकको अधिकांश भाग एकतर्फी मात्रै छ । कात्तिक पहिलो साताको वर्षाका कारण झरेको पहिरो सडक विभागले अझै पन्छाइसकेको छैन । न त बगेको ठाउँमा पर्खाल लगाएर उठाउने काम सुरु भएको छ । ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख दीपक दुलाल कहिलेकाहीं अवरोध हुने गरेको बताउँछन् ।

झापाबाट पाथीभरा मन्दिर जान हिँडेकाहरूले होटल बुक गर्ने तर बेलुका आउन सकेनौं भनेर फोन आउने गरेको पाथीभरा होटल एन्ड ताप्लेजुङ लजका सञ्चालक नन्दु बानियाँ बताउँछन् । ‘चारआलीबाट उकालो लाग्यौं भनेर कोठा बुक गर्छन्, कोठा राख्यो राति अबेरसम्म पनि आउन सक्दैनन्,’ बानियाँले भने । मेची राजमार्गको जिम्मा लिएको सडक डिभिजन कार्यालय इलामले भने दुई साताभित्रमा दुईतर्फी बाटो चल्ने दाबी गरेको छ । डिभिजन प्रमुख श्यामकुमार यादवले भने, ‘इलामतर्फको भाग पन्छाइसक्न लाग्यौं, अब पाँचथरको पनि लगातार काम भइरहेको छ ।’ यादवले दुईतर्फी बाटो सफा गर्ने काम भइरहेको बताए ।

पहिरो पन्छाउन समय नलाग्ने भए पनि ड्यामेज भएको ठाउँ पत्ता लगाएर मर्मत गर्न समय लाग्ने यादवको कथन छ । धेरै ठाउँमा वाल लगाउनुपर्ने भएकाले त्यसको स्टिमेट भइरहेको उनले बताए । पहिरो पन्छाउन मात्रै ५१ लाख रुपैयाँ खर्च हुने अनुमान कार्यालयको छ । कात्तिक पहिलो साताको वर्षा, बाढी र पहिरोले पाँचथर र इलाम खण्डमा धेरै क्षति पुर्‍याएको छ ।

प्रकाशित : मंसिर १९, २०७८ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्

अर्केस्ट्रामा गुन्जिरहेका स्वरसम्राट्

२०४४ सालमा आयोजित स्वर्णिम सन्ध्यामा खोज्दा पनि नारायणगोपालले आफ्नो सांगीतिक प्रस्तुतिमा भ्वाइलिनलाई सामेल गराउन पाएका थिएनन्
सुशीला तामा‌ङ

काठमाडौँ — महाराजगन्जस्थित स्वरसम्राट् नारायणगोपालको घरमा दैनिक अर्केस्ट्रा धुन गुन्जिरहन्छ । डबल बेस, चेलो, भिओला तथा भ्वाइलिनको धुनमा बज्छन् नारायण गोपालका गीतहरू । अर्केस्ट्रा संगीतका धुनमा उनका गीतहरूलाई संयोजन गर्न तीन दशकदेखि लागिरहेका संगीतकार राजकुमार श्रेष्ठ ।

स्वरसम्राट्को ३१ औं स्मृति दिवस आइतबार परेको छ । उनका कालजयी गीतहरूलाई अर्केस्ट्रा धुनमा प्रस्तुतिको विशेष तयारीमा छन् श्रेष्ठ । धेरै गीतको संयोजन तयार भइसकेको छ । जमलस्थित राष्ट्रिय नाचघरमा सांगीतिक समारोह हुँदै छ । अर्केस्ट्रा धुनका साथ डेढ दर्जनजति गीतहरू प्रस्तुतिका लागि युवा पुस्ताका सर्जकहरू तयारीमा छन् । भ्वाइलिनको धुनका लागि विशेष सजक छन्, श्रेष्ठ । ‘नेपालमा अर्केस्ट्रा संगीत अझ विशेषगरी भ्वाइलिनको प्रयोगलाई विस्तार गर्ने नारायण गोपालको ड्रिम प्रोजेक्ट नै थियो,’ उनी भन्छन्, ‘यसका लागि स्कुल खोल्ने, भ्वाइलिनको प्रयोग, प्रशिक्षण उहाँको जीवनकालमा सम्भव भएन ।’

श्रेष्ठले अम्बर गुरुङसँग अर्केस्ट्रा संगीत सिक्ने मौका पाए । स्वरसम्राट्कै इच्छा– अनुसार ड्रिम प्रोजेक्टअन्तर्गत नेपाली संगीतमा भ्वाइलिनको स्कुल, प्रशिक्षण दिने काम गुरुङले चेला श्रेष्ठलाई दिए । वि.सं. २०४८ सालदेखि श्रेष्ठ त्यही ड्रिम प्रोजेक्टमा छन् । उनले सयौंलाई सिकाइसके । सिकाएकाहरूमध्ये केही अर्केस्ट्रा संगीतका गुरु बनिसकेका छन् ।

हाल स्वरसम्राट्कै निवासमा बसेर श्रेष्ठले नयाँ पुस्तालाई अर्केस्ट्रा संगीत सिकाइरहेका छन् । उनलाई लाग्छ– भ्वाइलिनको धुन नारायणगोपालले पनि सुनिरहेका होलान् । ‘उहाँका गीतहरूसँगै उहाँकै सपनाअनुसार भ्वाइलिनका धुनहरू गुन्जाउन पाउँदा साह्रै आनन्द लाग्छ,’ उनले भने । श्रेष्ठका अनुसार अर्केस्ट्रा संगीतको एउटा छुट्टै सेक्सन (परिवार) नै हुन्छ । भ्वाइलिन बजाउनेको ठूलो समूह, भिओला, चेलो, डबल बेसको धुन सामूहिक रूपमा प्रस्तुत हुँदा बेग्लै सांगीतिक माहोल सिर्जना हुन्छ । यही समूहको परिकल्पना नै स्वरसम्राट्ले गरेको उनको भनाइ छ । श्रेष्ठ, अम्बर गुरुङ तथा स्वरसम्राट्को भ्वाइलिनप्रतिको लगाबलाई नजिकैबाट नियालेका तलेजु धनकुमारी फन्डका अध्यक्ष जयदेवकृष्ण श्रेष्ठका अनुसार नेपालमा अर्केस्ट्रा संगीत विस्तार ४० को दशकतिर नै भएको सुनाउँछन् । ‘२०४४ सालमा नारायण गोपाल स्वर्णिम सन्ध्या भएको थियो । त्यतिबेला उहाँलाई पनि प्रस्तुति दिँदा भ्वाइलिन प्रयोग गर्न ठूलो इच्छा थियो, एउटा पनि भ्वाइलिन भेटिएन ।’

ड्रिम प्रोजेक्टमा जोडिएपछि संगीतकार श्रेष्ठ भारतमा गएर २५ वटा भ्वाइलिन किनेर ल्याएको स्मरण गर्छन् । ‘गुरु अम्बर गुरुङको आज्ञाअनुसार म आफैं भ्वाइलिन खोज्न त्यहाँ गएको थिएँ ।’ अझै पनि नेपालमा स्वरसम्राट्को सपनाअनुसार अर्केस्ट्रा संगीत अगाडि बढ्न नसकेको उनी सुनाउँछन् । ‘राज्यले गर्नुपर्ने प्रोजेक्टलाई हामी व्यक्तिगत रूपमा अगाडि बढाइरहेका छौं । यसका लागि ठूलो सांगीतिक समूह चाहिन्छ । यसैमा लागेर दैनिक गुजारा चलाउने अवस्था अझै बनेको छैन,’ श्रेष्ठ दुःखेसो गर्छन् । स्वरसम्राट्को सपनालाई केही अंश पूरा गर्न मात्र भए पनि उनले अर्केस्ट्रा धुन बजाउन छोडेका छैनन् ।

स–साना स्कुले विद्यार्थीदेखि लिएर अर्केस्ट्रा संगीतप्रेमीका लागि उनी दैनिक भ्वाइलिन चलाउन सिकाउँछन् र आफू पनि धुन सिर्जना गरेर स्वरसम्राट् निवासलाई संगीतमय बनाउँछन् । ‘अहिलेसम्म रहरै मात्र जस्तो भएको छ । त्यही रहरमा हाम फाल्दै निरन्तर भ्वाइलिन बजाउने र सिक्ने काम जारी छ,’ श्रेष्ठ सुनाउँछन् । राज्यको सम्बन्धित निकायमा एक दिन धुन पुग्नेछ भन्ने उनको आशा छ ।

प्रकाशित : मंसिर १९, २०७८ ०९:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×