हलेसीमा चार महिनामै १२ लाख भेटी

डम्बरसिं राई

खोटाङ — कोरोनाले बन्द हलेसी मन्दिर खुलेको चार महिनामा १२ लाख बढी भेटी संकलन भएको छ । गत साउन १ गतेदेखि मंसिर दोस्रो सातासम्म हलेसी दर्शनमा आउँने तीर्थालुबाट १२ लाख ८० हजार रुपैयाँ भेटी संकलन भएको हो ।

हलेसीमा चार महिनामै १२ लाख भेटी

हलेसी मन्दिरको शिव पार्वती थानमा आठ लाख ८४ हजार पाँच सय ३० रुपैयाँ, दान हलेसी प्राङ्गणको दान पेटिकाबाट एक लाख ९८ हजार आठ सय ५५ रुपैयाँ, बसाहा गुफा दान पेटिकाबाट ८२ हजार एक सय ७० रुपैयाँ र गणेश मन्दिर दान पेटिकाबाट ३४ हजार पाँच सय २५ रुपैयाँ भेटी रकम संकलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए ।

संकलन भएको भेटीमध्ये पाँच लाख ३२ हजार १४ रुपैयाँ खर्च गरिएको छ । बाँकी रहेको ६ लाख ६८ हजार ६६ रुपैयाँ माछापुच्छ्रे बैंकको हलेसी शाखामा जम्मा गरिएको राईले सुनाए । यस अवधिमा भारु तीन हजार नौ सय ३५, चाँदी ६१ दशमलव सात ग्राम, सुन शून्य दशमलव सात ग्राम र अमेरिकन डलर तीन जम्मा भएको छ ।

मन्दिरबाट संकलन भएको भेटीबाट मन्दिर वरिपरि, दिव्यध्वनि, होम भवन, मन्दिर व्यवस्थापन समितिको भवन, मन्दिरभित्र रेलिङ रंगरोगन, बसाहा थान धाराको ढल निकास (जेसीभी प्रयोग), भेटी गणना, अतिथि खाजा, खानेपानीको लागि हिलटेक खरिद, सूचना प्रकाशन, विभिन्न आर्थिक सहयोग लगायतमा खर्च भएको राईले जनाए ।

हलेसीमा नेपालसहित भारत, चीन, भुटान, जापान, श्रीलंका, अमेरिका, दक्षिण कोरिया लगायत विभिन्न मुलुकबाट दर्शनार्थी तथा अवलोकनकर्ता आउने गरेका छन् । मध्यपहाडी लोकमार्गमा पर्ने हलेसीमा रामनवमीमा १५ दिन, बालाचतुर्दशीमा १२ दिन, शिवरात्रिमा सात दिन र हरितालिका तीजमा तीन दिन मेला लाग्ने गरेको छ ।

प्रकाशित : मंसिर १६, २०७८ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?