कांग्रेस अधिवेशनको तयारी पूरा- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस अधिवेशनको तयारी पूरा

कान्तिपुर संवाददाता

मोरङ — कांग्रेस प्रदेश १ को पहिलो अधिवेशनको तयारी पूरा भएको आयोजकले जनाएको छ । आयोजक समितिका संयोजक केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधबार विराटनगरमा बसेको बैठकले अधिवेशनसम्बन्धी तयारी र आयोजनाबारे छलफल गरेको थियो ।

अधिवेशन आयोजक समितिको बैठकमा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला, महेश आचार्यलगायतको उपस्थिति थियो । प्रचार समितिका संयोजक राजीव कोइरालाका अनुसार विराटनगर अस्पतालनजिकैको खुला मैदानमा बिहीबार २ बजे अधिवेशन उद्घाटन हुनेछ ।

बैठकले नेपाली कांग्रेस प्रदेश नम्बर १ को अधिवेशन आयोजक समितिको सम्पर्क कार्यालय मोरङ कांग्रेसको कार्यालयमा खोल्ने, प्रदेश अधिवेशन प्रतिनिधिको नामावली दर्ता बिहीबार पार्टी कार्यालयमा सुरु गर्ने, शुक्रबार बिहान ८ बजेदेखि १ बजेसम्म मोरङ पार्टी कार्यालयमा उम्मेदवारी दर्ता गर्ने र सोही दिन अन्तिम नामावली प्रकाशन गर्ने निर्णय भएको कोइरालाले बताएका छन् ।

प्रदेश पदाधिकारी चयन गर्न विराटनगर अस्पताल छेउको मैदानमा शनिबार बिहान ८ बजेदेखि चुनावी प्रक्रिया सुरु हुनेछ । चुनावमा १ हजार ७ सय प्रदेश प्रतिनिधिहरूले मत खसाल्ने छन् । जसमा शुभेच्छुक संस्थाबाट १७ र भ्रातृ संगठनका प्रतिनिधि १३ ले समेत मत खसाल्न पाउने छन् ।

कांग्रेसको प्रदेश समितिमा एक अध्यक्ष, दुई उपाध्यक्ष, दुई महामन्त्री, तीन सह–महामन्त्री एक महिलासहित, हरेक जिल्लाबाट महिला १४ र खुला १४ सदस्य, प्रत्येक निर्वाचन क्षेत्रबाट ६ महिला र १३ खुला सदस्य, खस आर्यबाट महिला ७ र खुला ५, जनजातिमा महिला ७ र खुला ८, मधेसी महिला एक र खुला एक, दलित महिला एक र खुला दुई, थारूतर्फ महिला एक र खुला एक, मुस्लिममा खुला एक, अल्पसंख्यक र अपांगमा एक सदस्य पदका लागि निर्वाचित हुने बताइएको छ ।

प्रकाशित : मंसिर १६, २०७८ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्

पोखरामा केबलकारको परीक्षण सफल

कान्तिपुर संवाददाता

कास्की — पोखरामा पहिलो पटक निर्मित केबलकारको परीक्षण सफल भएको छ । अन्नपूर्ण केवलकार कम्पनीले निर्माण गरेको केवलकारको मंगलबार परीक्षण गरिएको थियो । सञ्चालक तिर्थराज त्रिपाठीका अनुसार फेवाताल किनार सेदीबगरदेखि सराङकोट जाने केबलकारको २ घण्टा परीक्षण गरिएको थियो । परीक्षणमा कुनै पनि समस्या नदेखिएको उनले बताए ।

आगामी जनवरी १ देखि व्यावसायिक रुपमा सञ्चालनको तयारीमा कम्पनी छ । केबलकारमा जडित डिब्बा (गुन्डला) र टावरको जडान परीक्षण गर्न जापानबाट ७ प्राविधिकको टोली आएको थियो । जापानी निपुन केवलबाट ओचीआई नेतृत्वको टोली एक साताअघि आएर अन्तिम चराणको काम गरिरहेको उनले बताए ।

कोरोना महामारी र निर्माण कम्पनीले पटकपटक म्याद थप्दा आयोजना निर्माणमा तोकिएभन्दा ४ वर्ष ढिलो भएको कम्पनीले जनाएको छ । केबलकार सञ्चालनमा आएपछि सेदीबगरबाट ७ मिनेटमै सराङकोट पुग्न सकिन्छ । अहिले गाडीमा करिब ३० मिनेट लाग्छ । नेपालीका लागि भाडा (जाने र आउने) ६ सय रुपैयाँ तोकिएको छ । विदेशीलाई १५–२० प्रतिशतसम्म बढी शुल्क लिने र स्थानीय, विद्यार्थीलगायतका लागि विशेष छुटको व्यवस्था हुने त्रिपाठीले बताए । उनका अनुसार आयोजनाको लागत करिब २ अर्ब पुगेको छ । २.४ किलोमिटर दूरीमा १८ टावर र १८ वटा डिब्बा रहनेछन् । कम्पनीले हाल करिब २५ जनालाई रोजगारी दिँदै आएको छ भने व्यावसायिक रुपमा सञ्चालन भए ८० जनालाई रोजगारी दिने जनाएको छ ।

प्राविधिक इन्चार्ज डिएन कायस्थले छिट्टै लोड परीक्षण गरी व्यावसायिक रूपमै केबलकार सञ्चालन गर्ने तयारीमा रहेको बताए । उनका अनुसार बिहीबारदेखि नियमित परीक्षण हुनेछ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार परीक्षणका सबै चरण पार गरेपछि मात्र व्यावसायिक रूपमा सञ्चालन गरिने त्रिपाठीको भनाइ छ ।


प्रकाशित : मंसिर १६, २०७८ ०९:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×