मोरङ कांग्रेस सभापतिमा डिगबहादुर लिम्बु विजयी 

विनोद भण्डारी

विराटनगर — कांग्रेस मोरङको सभापतिमा निवर्तमान सभापति डिगबहादुर लिम्बु विजयी भएका छन् । उनी संस्थापन पक्षका प्रतिस्पर्धी दिलीप गच्छदारलाई ४ सय ८१ मतले पराजित गर्दै दोस्रो पटक सभापति भएका हुन् ।

मोरङ कांग्रेस सभापतिमा डिगबहादुर लिम्बु विजयी 

लिम्बुले १ हजार ९ सय ६ मत ल्याए । प्रतिद्वन्द्वी गच्छदारले १ हजार ४ सय २५ मत ल्याएको निर्वाचन अधिकृत केदार कार्कीले बताए ।

मोरङ कांग्रेस सभापति दोस्रो चरणको निर्वाचनवाट चुनिएका हुन् । तीनजना उम्मेदवारका लागि आइतबार भएको पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत मत नकटाएपछि पहिलो र दोस्रो हुने लिम्बु र गच्छदारबीच मंगलबार दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणमा कुल ३ हजार ५ सय ८५ मतमध्ये ३ हजार ३ सय ५६ मत खसेको थियो । त्यसमा २५ मत बदर भएको थियो ।

पहिलो चरणको निर्वाचनमा लिम्बुले १ हजार ५ सय ४४, गच्छदारले १ हजार १ सय ५९ र यदुकुमार विष्टले ५ सय ६३ मत ल्याएका थिए । यसअघिको अधिवेशनमा लिम्बु शेरबहादुर देउवा खेमाबाट निर्वाचित भएका थिए । उनी पछिल्लो समय कोइराला पक्षमा छिरेर उक्त खेमाबाट पुन: निर्वाचित भएका हुन् ।

सभापतिको टुंगो लागेपछि अन्य पदाधिकारीको मतगणना बुधबार बिहानदेखि सुरु हुने निर्वाचन अधिकृत कार्कीले बताए । उपसभापतिमा लिम्बु समूहबाट नागेश कोइराला र भक्तिनाथ माझी थारु, गच्छदार समूहबाट गोपालबहादुर थापा र सुवोध सिंहसहित राजु मास्के प्रतिस्पर्धी छन् ।

त्यसैगरी सचिवमा लिम्बु खेमाबाट मोदराज घिमिरे र ललितबहादुर श्रेष्ठ, गच्छदार खेमाबाट अर्जुन निरौला र शिवप्रसाद ढकालसहित मनोज बस्नेत, ज्ञानेन्द्र ढकाल र रविन राई प्रतिस्पर्धामा छन् ।

प्रकाशित : मंसिर १५, २०७८ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?