२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

देउवा र खाँणले पार्टीभित्र अराजक समूहलाई संरक्षण दिइरहेका छन् : शेखर कोइराला

प्रदीप मेन्याङ्बो

सुनसरी — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र एउटा समूह अराजक रहेको र उक्त समूहलाई पार्टी सभापति शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले संरक्षण गरेको आरोप लगाएका छन् ।

देउवा र खाँणले पार्टीभित्र अराजक समूहलाई संरक्षण दिइरहेका छन् : शेखर कोइराला

धरानमा मंगलबार आयोजित सुनसरी क्षेत्र नं १ को नेपाली कांग्रेसको १४औं अधिवेशन अन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई बधाइ तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

‘त्यो अराजक समूहको जवाफ मंसिर २७ गते हुने महाधिवेशनमा कार्यकर्ताहरूले दिने छन्,’ नेता कोइरालाले बताए । उनलेले आफू सभापतिको उम्मेदवार भएको पनि दोहोर्‍याएका थिए ।

यस्तै हाल पार्टीका नेता कार्यकर्तामा रहेको उकुसमुकुसलाई विवाद र लडाइँ, झगडा गरेरभन्दा पनि महाधिवेशनमा मतदानबाट व्यक्त गर्न उनले कार्यकर्ताहरूलाई सुझाव दिएका थिए । उनले भने, ‘जिल्ला, क्षेत्रीय र पालिकाको अधिवेशनमा भइरहेको गोलीकाण्ड, झडप, वादविवाद र धाँधली सभापति देउवा र गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा भएको कतैबाट लुक्न सकेको छैन । सभापतिले देउवाले नै प्रहरी प्रशासन लगाएर निर्वाचनमा धाँधली गरिरकेका छन् । पार्टीको विधानमा सभापति र निर्वाचन अधिकृत सल्लाह गरी निर्वाचन गर्नुपर्ने प्रावधान भए पनि समन्वय नगरी निर्वाचन गरेका छन् ।’

यसअघि मंसिर १२ गते सर्लाहीको बलरामा वडा अधिवेशनको क्रममा विवाद हुँदा गोली चलेको थियो । प्रदेशमन्त्रीका अंगरक्षकले गोली चलाएका थिए । विवादका कारण बलराको २ वटा वडाको अधिवेशन रोकिएको थियो। नेता कोइरालाले सोही घटनालाई लक्षित गर्दै त्यसको आरोप संस्थापन पक्षलाई लगाएका थिए ।

पार्टीभित्र अर्को जमातले आफ्नै नेता कार्यकर्तालाई अर्कै पार्टीको नेता कार्यकर्ता जस्तो व्यवहार गरिरहेको पनि उनको गुनासो थियो । त्यसका लागि महाधिवेशनसम्म पर्खिनै पर्ने उनले बताए ।

अर्को प्रसंगमा नेता कोइरालाले हाल ६५ प्रतिशत सांसद्‍ कम्युनिस्ट भएकाले अब आउने स्थानीय, प्रदेश र संघीय सरकारको चुनावमा उनीहरूलाई पराजित गर्न चुनौती रहेको बताएका थिए ।

तर त्यसका लागि अहिलैदेखि नै तयार हुन पनि उनले निर्देशन दिए । ‘तर हाल नेपाली कांग्रेस संस्थापन पक्ष आफ्नो पार्टीको समूहलाई भन्दा अर्कै पार्टीलाई सहयोग गरिहेको छ । नेकपा (एस)का नेता माधव नेपाललाई सहयोग गरिरहेको छ । कांग्रेस कहिलै पनि कम्युनिस्टसँग मिल्ने होइन । तर संस्थापन पक्षले विधि प्रक्रियालाई नमानी आफ्नोलाई पाखा लगाएर अर्को पार्टीलाई साथ दिइरहेको छ ।’

कांग्रेसको वडा अधिवेशनमा विवादपछि सर्लाही बलरामा गोली चल्यो

प्रकाशित : मंसिर १४, २०७८ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?