शिविर कुरेर बस्छन् मोतीबिन्दुका बिरामी- प्रदेश १ - कान्तिपुर समाचार

शिविर कुरेर बस्छन् मोतीबिन्दुका बिरामी

आनन्द गौतम

ताप्लेजुङ — देब्रे आँखाको पट्टी फुकाएपछि मिक्वाखोला गाउँपालिका ३ लिङखिमकी आसमती लिम्बूलाई शल्यक्रिया गर्ने डाक्टर अंकिता शर्माले सोधिन्, ‘आमा आँखा देख्नुभयो ?’ 

उनले एउटा आँखाले मात्रै देखेको प्रतिक्रिया दिएपछि अंकिताले अर्को आँखामा पनि जालो परेकाले शल्यक्रिया गर्न सुझाइन् । छोराको साथमा आएकी आसमती दोस्रो आँखाको पनि शल्यक्रिया गर्न राजी भइन् । भोलिपल्टै अर्को आँखाको पनि पट्टी खोलेर परीक्षण गरेपछि डाक्टर शर्माले यही प्रश्न दोहोर्‍याइन् । कान पनि कम सुन्ने र मातृभाषामा बढी बोल्ने उनलाई छोराले कानको नजिकै मुख पुर्‍याएर आमा खुसी इखुकिम्मु (खुसी हुनुभयो) भनेर सोधे ।

उनले आशीर्वाद दिँदै भनिन्, ‘खुसी भयो नानी, तिमीलाई राम्रो होस् ।’ सदरमुकाम फुङलिङबाट पाँच घण्टाको यात्रामा पुगिने लिवाङकी उनलाई शिविर आएर परीक्षण गराउन डेढ वर्षदेखि पर्खेका थिए । कात्तिक २८ देखि ३० सम्म शिविर सञ्चालन हुने सूचना एफएममा सुनेपछि गाडीमा लिएर आए र दुवै आँखाको शल्यक्रिया गरेर फर्किए । फुङलिङ–३ का रघुनाथ न्यौपानेले पनि यही मौका छोपे । सदरमुकाम नजिकै घर भएका न्यौपाने पनि शिविरको प्रतीक्षामा थिए । छोराहरू परदेस गएपछि श्रीमती, बुहारी र नातिनातिनासँग बस्दै आएका उनका आँखा छ महिनायता ठप्प भएका थिए ।

सदरमुकाम फुङलिङमा रहेको डिचेन डोङगला आँखा उपचार केन्द्रमा आएर जचाँएका उनलाई स्वास्थ्यकर्मीले इटहरी वा झापामा गएर वा शिविर आएका बेला शल्यक्रिया गर्न सुझाव दिएका थिए । आँखा चिलाउँदा, बिझाउँदा धामीझाँक्रीकामा गएर झारफुक गराउँथे, अनि आँखा उपचार केन्द्रमा आएर शीतल पार्ने औषधि लगेर लगाउँथे ।

पहाडका आँखामा समस्या हुनेहरू प्रायः शिविरकै पर्खाइमा बस्ने गरेका छन । नेत्रज्योति संघका क्लिनिक इन्चार्ज काजी गुरुङ आफूहरूको सिफारिसमा इटहरी आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने बताउँछन् । तर साथीसहित लिएर जानुपर्ने भएकाले शिविरै पर्खेर बस्नुपरेको रघुनाथ बताउँछन् । २०५४ देखि आँखा उपचार केन्द्रलाई सहयोग गरिरहेका सेवा फाउन्डेसनका निर्देशक रामप्रसाद कँडेल सुरुवाती दिनमा शिविरमा ल्याउनै हम्मे भएको तर अहिले तत्काल बाहिर पठाउन समस्या भएको बताउँछन् ।

२०५४/५५ सालमा शिविर सञ्चालन गर्दाको अनुभव सुनाउँदै उनले भने, ‘दिनभरि परीक्षण गरेर अप्रेसनका लागि तयार पार्‍यो बेलुका राति नै भागी दिन्थे ।’ आँखा निकालिदिन्छ, गोरुको आँखा लगाइदिन्छ, काटेर भताभुंग बनाइदिन्छ भन्ने हल्लाका कारण भाग्ने गरेको उनले सुनाए । अहिले आँखाको उपचार गराउनुपर्छ भन्ने भए पनि तत्काल उपचार गर्नुपर्छ भन्ने सन्देश गाउँ बस्तीमा पुर्‍याउन नसकेको उनले स्विकारे ।

डाक्टर अंकिताका अनुसार मोतीबिन्दु लामो समयसम्म भए आँखा पाक्ने र जलबिन्दु हुन सक्ने खतरा हुन्छ । ‘मैले यसअघि गाउँमा गएर अप्रेसन गर्दा धेरै पाकेको भेटेको थिए,’ उनले भनिन्, ‘यसरी अप्रेसन गर्दा आँखाको ज्योती जति आउनुपर्ने हो त्यति नआउन पनि सक्छ ।’

आफ्ना अग्रज डाक्टरले भनेको सुन्दाको भन्दा अहिले मानिसहरूमा चेतना आए पनि अझै कहींकतै समस्या रहेको उनले सुनाइन् । कँडेल भने अब प्रत्येक महिना वा दुई महिनामा जिल्लाका उपचार केन्द्रमा डाक्टर बस्ने व्यवस्था गर्नुपर्ने बताउँछन् । स्थानीय तहका सरकारले सहयोग गरे त्यसरी डाक्टर घुमाउन सकिने उनले बताए ।

‘हामी भिडियोमार्फत विशेषज्ञ डाक्टरले हेर्ने र सल्लाह दिने प्रविधिको पनि प्रयोग गर्ने प्रयासमा छौं,’ कँडेलले भने, ‘तत्काल शल्यक्रिया वा अन्य उपचार गर्नुपर्ने भए परीक्षणपछि बोलाइहाल्ने ।’ दुर्गम गाउँमा जन्मनु कुनै अपराध नभएको बताउने कँडेल उपचार सेवा पुर्‍याउन नसक्नुचाहिँ कमजोरी भएको बताउँछन् । नेत्रज्योति संघ ताप्लेजुङको तथ्यांकअनुसार ताप्लेजुङमा ६६ र त्यही टोलीले मंसिर २ देखि ४ गते पाँचथरको कुम्यायक गाउँपालिकामा २८ जनाको शल्यक्रिया गरेको थियो । ६ जनाको साधारण शल्यक्रिया भयो । दुवै ठाउँमा गरी ६ सय १२ जनाले आँखाको परीक्षण गराएका थिए ।

प्रकाशित : मंसिर १३, २०७८ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्

विवाद दाइजोको, मुद्दा अपहरण

लक्ष्मी साह

बारा — दिनेश सहनी मलाहले जेठी छोरीको विवाह गरेको एक वर्ष पुग्यो । तीन सन्तानमध्ये एक मात्र छोरीको विवाह गर्न उनले साढे दुई लाख भारतीय रुपैयाँ दाइजो दिए । गत मंसिरमा भारतीय सीमावर्ती गाउँ (पारि) कोइरगाँवाका विक्रम सहनीसित छोरीको मागी विवाह गरिदिए । तर उनकी छोरीको विवाह भएको वर्ष दिनमै श्रीमान्सँग सम्बन्ध टुट्यो ।

कारण हो–उनका ज्वाइँ विक्रमले पटक–पटक गर्दै आएको पैसाको लोभ । विवाह भएदेखि विक्रमले ससुरालीबाट कहिले एक लाख, कहिले ५० हजार रुपैयाँ माग्थे । तर दिनेशले दाइजो दिएयता नगद दिएका छैनन् । पैसा नपाएको झोकमा विक्रम एक साथीसहित गत बिहीबार ससुराली घर महागढीमाई–६ पत्रहटी गाउँ (दिनेशको घर) मा पुगे । त्यतिन्जेल उनकी पत्नी (दिनेशकी छोरी) माइतमै थिइन् । उनी माइती आएको दुई साता भएको थियो । मदिरा सेवन गरेका विक्रमले १३ वर्षीय सालो सुशान्तलाई आफू चढेको मोटरसाइकलमा बसाएर साथीसित गाउँबाट केही परसम्म पुर्‍याए । त्यत्तिकैमा गाउँमा अपहरणको हल्ला चल्यो ।

त्यसपछि विक्रम मोटरसाइकलमा सालोसित अघिअघि र गाउँलेसहितका प्रहरी तिनको पछिपछि लागे । प्रहरी र गाउँले देखेर विक्रमले सालो सुशान्तलाई छाडेर भागे । तर प्रहरीले उनी र उनका साथीलाई नियन्त्रणमा लिइछाड्यो । र, अहिले विक्रमसहित उनका साथी मुन्ना साहलाई अपहरण मुद्दा दर्ता गर्दै अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

‘पटक–पटक पैसा माग गर्ने, तर्साउने, ज्वाइँको बानी परिसकेको थियो,’ दिनेशकी पत्नी श्रीपति देवीले भनिन्, ‘पैसा नपाएको झोकमा तर्साउनलाई छोरालाई जबरजस्ती उठाएर लान खोज्यो । अब हाम्रो सम्बन्ध रहँदैन । ज्वाइँ परोस् वा जोसुकै ।’ प्रहरीले अपहरण मुद्दा हालेर ठीक गरेको उनले बताइन् ।

विक्रमले सुशान्तलाई हतारमा फाल्दा उनको टाउको, हातखुट्टामा चोट लागेको छ । अपहरण मुद्दा लगाए पनि प्रहरीले अपहरण नै भएको स्वीकारेका छैनन् । ‘घटना प्रकृति हेर्दा अपहरण नै भएको भन्न सकिँदैन,’ बाराका प्रहरी उपरीक्षक दिपेन्द्रबहादुर शाहीले भने, ‘ससुराली घरमा विक्रमसितको विवाद अर्कै रहेछ । पीडितले अपहरणको उजुरी लिएर आएपछि त्यहीअनुसार दर्ता गरी अनुसन्धान गर्दै छौं ।’ जिल्ला प्रहरी कार्यालयका मुद्दा अनुसन्धान अधिकृत प्रहरी निरीक्षक सुरेन्द्र यादवले लेनदेनको विवादले पारिवारिक झगडाले घटना भएको देखिएको बताए । ‘अनुसन्धान गर्दै छौं,’ उनले भने ।

प्रकाशित : मंसिर १३, २०७८ १२:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×