कांग्रेस इलामको सभापतिमा खड्का विजयी

इलाम — संस्थापन पक्षका डम्बर खड्का नेपाली कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनाको परिणामअनुसार प्रतिस्पर्धी भेषराज आचार्यलाई खड्काले १ सय ६० मतको अन्तरले पराजित गरेका हुन् । १७ सय २६ मतदातामध्ये खड्काले ९ सय ३५ मत पाए भने आचार्यले ७ सय ७५ मत प्राप्त गरे । पदाधिकारीमा मिश्रित परिणाम आएको छ । 

कांग्रेस इलामको सभापतिमा खड्का विजयी

पछिल्लो समयमा खड्कालाई संस्थापन पक्षकै पूर्वसभापति केशव थापा र संस्थापनइतरका मानिने सभापति हिमालय कर्मचार्यले साथ दिएका थिए । उपसभापतिमा आचार्य समूहका खगेन्द्र देवान र विष्णु लिम्बु (दाहाल) विजयी भए । देवानले ८ सय ७४ र विष्णु दाहालले ७ सय ७८ मत प्राप्त गरिन् । ४ उम्मेदवारमध्ये खड्का प्यानलका केदार थापाले ७ सय ४७ र होमप्रसाद दुलाल ६ सय ९९ मत प्राप्त गरे ।

सचिव पदमा खड्का प्यानलबाट उठेका निरोज खड्गीले ७ सय ९३ र आचर्य समूहका पूर्णप्रसाद गौतमले ८ सय १९ मतका साथ जित निकाले । खड्का पक्षका हुकमलाल थेवेले ७ सय १५ र आचार्य समूहका विष्णु कार्कीले भने ७ सय २२ मत ल्याउँदै पराजित रहे ।

सहसचिवमा खड्का पक्षबाट उम्मेदवार बनेकी डालाकुमारी कार्की ८ सय ३५ र आचार्य समूहका देवेन्द्र सुवेदी ७ सय ८१ मत ल्याएर विजयी भए । खड्का समूहका प्रविना राईले ६ सय ३४ र आचार्य समूहका चक्र एक्तेन (अभिषेक) ६ सय ५६ मत ल्याए ।

पछिल्लो समय फरक समिकरण देखिएपछि कांग्रेस इलामको अधिवेशन थप रोचक बनेको छ ।

संस्थापन र इतरका २/२ उम्मेदवार चर्चामा रहे पनि पछिल्लो समय संस्थापनका खड्का र इतरबाट आचार्य सभपाति पदमा लडे । समर्थन इतर मानिने आचार्यविरुद्ध ३ वटा समूह १ ठाउँमा उभिएका थिए ।


प्रकाशित : मंसिर ११, २०७८ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?