२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मोरङमा कांग्रेसमा तीनजनाबीच प्रतिस्पर्धा हुँदै

विनोद भण्डारी

विराटनगर — मोरङ कांग्रेस सभापति पदका लागि तीनजनाबीच प्रतिस्पर्धा हुने भएको छ । अन्तिम समयसम्म सहमतिको प्रयास गरेपनि सफल नभएपछि निर्वाचनबाटै नेतृत्व टुंगो लाग्ने भएको हो ।

मोरङमा कांग्रेसमा तीनजनाबीच प्रतिस्पर्धा हुँदै

सभापतिका लागि संस्थापन पक्षबाट पूर्वराज्यमन्त्री दिलीप गच्छदार, कोइराला–पौडेल पक्षबाट निवर्तमान सभापति डिगबहादुर लिम्बू र पूर्वसचिव यदुकुमार विष्टको उम्मेदवारी परेको छ ।

शनिबार दिनभर सर्वसम्मतको प्रयास भएपनि सहमति जुट्न नसकेपछि निर्वाचनबाट नेतृत्व चयन हुन लागेको हो । सर्वसम्मतका लागि कांग्रेसका चार केन्द्रीय सदस्य शेखर कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल र अमृत अर्यालको संयुक्त बैठक बसेको थियो । कोइरालाले सर्वसम्मत 'असम्भव' भनेपछि वार्ता टुंगिएको बैठकमा सहभागी एक नेताले बताए ।

सहमतिको प्रयास केन्द्रीय नेताहरुबाटै विफल भएपछि मोरङमा तीन उम्मेदवारका नाममा जातीय नारा पनि लाग्न सुरु भएको छ । एक नेताका अनुसार लिम्बूका नाममा जनजाती, गच्छेदारका नाममा मधेशी र विष्टका नाममा क्षेत्री बाहुनले नारा लगाउन सुरु गरेका हुन् । लिम्बूलाई शेखर कोइराला, विष्टलाई केन्द्रीय सदस्य महेश आचार्य, रक्षामन्त्री मिनेन्द्र रिजाल र महामन्त्री शशांक कोइराला र गच्छदारलाई केन्द्रीय सदस्य अमृत अर्याल, डिला संग्रौला, विजयकुमार गच्छदार समूहको साथ छ ।

केन्द्रीय स्तरका नेतै पिच्छेको गुट र उपगुटका कारण मोरङ कांग्रेस लथालिङ हुँदै आएको कांग्रेसजनको गुनासो छ । यहाँ कोइराला, आचार्य, रिजाल, विजयकुमार गच्छदार र कृष्ण सिटौलाको आ–आफ्नो गुट छ ।

जिल्लाको पदाधिकारीमा पनि तिनै पक्षको प्यानलको उम्मेदवारी परेको छ । उपसभापतिमा गोपालबहादुर थापा, नागेश कोइराला, भक्तिनाथ माझी, राजु मास्के र सुवेधकुमार सिंह उठेका छन् । त्यसैगरी सचिवमा अर्जुन निरौला, मनोज बस्नेत, मोदराज घिमिरे, रविन राई, ललितबहादुर श्रेष्ठ, शिवप्रसाद ढकाल र ज्ञानेन्द्र ढकालको उम्मेदवारी परेको छ । त्यस्तै, सहसचिवमा अशोक रिजाल, थिरप्रसाद फुयाल, विशालकुमार गौतम, भुवनेश्वर मण्डल, सञ्जयकुमार मण्डल र सुभाश भण्डारीले उम्मेदवारी दिएका छन ।

आइतबार हुने मतदान कार्यक्रममा जिल्लाका १७ स्थानीय पालिका र ६ निर्वाचन क्षेत्रका १२ क्षेत्रका ३ हजार ५ सय मतदाताले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ । यसअघि भएको १७ स्थानीय तहको अधिवेशनमा संस्थापन पक्ष दुई र इतर पक्ष १५ तथा ६ वटा संघीय क्षेत्रमध्ये संस्थापन पक्षले एक र इतर पक्षले ५ वटा क्षेत्रमा विजय हात पारेका थिए ।

प्रकाशित : मंसिर ११, २०७८ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?