१९ वर्षीया किशोरी कांग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधि
पाँचथर — नेपाली कांग्रेस पाँचथरको अधिवेशनले १९ वर्षीय किशोरीलाई प्रदेश महाधिवेशन प्रतिनिधिमा चयन गरेको ।
हिलिहाङ ६ भारपाकी भावना रिजाललाई कांग्रेसले प्रदेश प्रतिनिधि चयन गरेको हो । यसै वर्ष नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएकी उनी भारपाबाट प्रतिनिधि चुनिएर आएलगत्तै भएको क्षेत्रीय अधिवेशनले उनलाई बहुमतसहित प्रदेश महाधिवेशनका लागि प्रतिनिधि पठाएको हो । पाँचथर बहुमुखी क्याम्पस बिएड दोस्रो वर्षमा अध्ययनरत उनी यसअघि पाँचथर क्याम्पसकै बिएड प्रथम वर्ष संकायको सहसचिव थिइन् ।
‘युवा पुस्तालाई पार्टीले विश्वास गरेर दिएको जिम्वेवारी पूरा गर्न सदैब लाग्नेछु, महिला र युवाको प्रतिनिधित्व पार्टीभित्र सुनिश्चित गर्ने, युवाको जोश र पुरानाको अनुभवलाई संयोजन गर्दै पार्टी संघठनलाई सुदृढ बनाएर तीनै तहका निर्वाचनमा कांग्रेसलाई पहिलो बनाउनु हाम्रो दायित्व हो,' उनले भनिन् ।
कांग्रेसको विधानले अब प्रदेशमा छुट्टै कार्यसमिति गठन गर्ने प्रावधान गरेको छ । जसअनुसार अब प्रदेश प्रतिनिधिहरूलाई प्रदेश महाधिवेशनमा भाग लिने,उम्मेदवार बन्ने,मतदान गर्नेदेखि नीति निर्माण गर्नेसम्मको अधिकार दिएको छ । यस्तै नेपाली कांग्रेसले पाँचथर जिल्लाबाट ११ जना महाधिवेशन प्रतिनिधिलाई महासमितिमा पठाएको हो ।
प्रकाशित : मंसिर ११, २०७८ १९:२५