बैंक लुटेको रकमसहित ७ भारतीय डेढ महिनादेखि बिहारमै लुकिछिपी- प्रदेश १ - कान्तिपुर समाचार

बैंक लुटेको रकमसहित ७ भारतीय डेढ महिनादेखि बिहारमै लुकिछिपी

जितेन्द्र साह

विराटनगर — डेढ महिनाअघि सीमावर्ती मोरङको धनपालथान गाउँपालिका–४ स्थित कर्सियाको बीपी चोकको सिटीजन्स बैंकको शाखाबाट लुटेको २४ लाख ८५ हजार ३ सय ९३ रुपैया“सहित फरार ७ भारतीय नागरिक अझै पक्राउ परेका छैनन् ।

प्रहरीको अनुसन्धान अनुसार उनीहरू भारत बिहारको अररियामा लुकेर बसेका छन् । लुटलगत्तै पक्राउका मुख्य योजनाकार विराटनगर–८, बलुवाहीका ३२ वर्षीय श्याम मुखियासहित तीन र केही दिनपछि पक्राउ परेका एक जनामाथि अझै अनुसन्धान जारी छ ।

‘यो संगठित अपराध भएकोले हद म्याद बाँकी छ,’मोरङ प्रहरीका अनुसन्धान अधिकृत डिएसपी दीपक श्रेष्ठले भने,‘ संगठित अपराध निवारण ऐन अन्तर्गत यस्तो कसुरमा पटकपटक गरी ६० दिन सम्म अनुसन्धान म्याद लिन सकिन्छ ।’

उनका अनुसार हालसम्मको अनुसन्धानमा एक नेपालीसहित ११ जनाको संलग्नता रहेको खुलासा भएको छ जसमध्ये मुख्य योजनाकार नेपाली र तीन भारतीय पक्राउ परिसकेका छन् । सीसीटीभी फूटेजबाट पक्राउ परेकाहरुको कसुर प्रमाणित भइसकेको र उनीहरुले पनि स्वीकारेको डिएसपी श्रेष्ठले बताए । प्रहरीका अनुसार लुटमा संलग्न विरुद्ध संगठित अपराध, ज्यान मार्ने उद्योग, डा“का, हातहतियार एवं खरखजाना तथा लागूऔषधमा मुद्दा चलाइनेछ ।

रकमसहित फरार ७ भारतीय लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सीसीटीभी फुटेज र सोधपुछमा बाँकी लुटेराहरु बारे खुलासा भएको हो । प्रहरीका अनुसार एक बैंक कर्मचारीबाट लुटिएको मोबाइलको आईएमई नम्बरसमेत ट्रयाकिङमा राखिए पनि हालसम्म त्यसमा कुनै पनि गतिविधि नभएको देखिएको छ ।

‘रकमसहित भागेकाहरु अझै भारतको अररियामा रहेको जानकारी छ, अररिया प्रहरीलाई भेटेर सम्पूर्ण जानकारी दिएका छौं, निरन्तर सम्पर्कमा छौं, पहल गरिरहेको भारतीय पक्षले बताएका छन्,’डिएसपी श्रेष्ठले कान्तिपुरस“ग भने । पक्राउ र फरारमध्ये केही लुटेराहरू पारि पनि ‘वान्टेड’ सूचीमा रहेकाले भारतको अररिया प्रहरीले पहिलेदेखि खोजीरहेको थियो । प्रहरीका अनुसार फरारहरू सीमा वारिपारि बरोबर निगरानीमा छन् ।

लुटेरा समूहले २२ असोजमा विराटनगरको मेनरोडस्थित एक गार्मेन्ट र २५ असोजमा उक्त बैंक लुटेका थिए । प्रहरीका अनुसार उनीहरुले बैंकबाट करिब २५ लाख रुपैयाँ, एक मोबाइल र गार्मेन्टबाट १२ हजार रुपैया“ एवं ४ मोबाइल लुटेका थिए । ‘बैंकबाट लुटिएको रकम बरामदगीका लागि घटनालगत्तै केही दिनसम्म वारि लुटेराहरुले आउजाउ गरेको र बसेको हरेक स्थलमा छापा मारिसकिएको छ,’मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले भने ।

यो संगठित अपराधको योजना बनाउन र लुटिएको रकम बाडफाड गर्नलाई मुखियाले मोरङको पूर्वीदक्षिण सीमावर्ती गाउँ जहदा गाउँपालिका–५, मझारेमा एक कोठा भाडामा लिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ३१ असोजमा उनको कोठामा प्रहरीले खानतलासी गर्दा नाइन एमएमको १ पेस्तोल, त्यसमा लाग्ने १ म्याग्जिन र आधा किलो गा“जा बरामद भएको थियो । मुखियाले गा“जा भने निजी सेवनका लागि किनेको प्रहरीले जनाएको छ ।

बैंक लुटेलगत्तै भाग्दाभाग्दै मुखियास“गै पक्राउ दुई अभियुक्तले उक्त कोठा देखाएको एसपी जीसीले बताए । ‘गार्मेन्टमा लुटिएको १२ हजार रुपैया“ मुखियाकै कोठामा दामासाहीले बाँडियो, बैंकबाट लुटेको २५ लाख रुपैयाँसहित अर्को लुटेरा समूह भारत पुगिसकेको पछि पक्राउ परेका एक लुटेराबाट खुलासा भएको हो,’ एसपी जीसीले भने,‘लुटिएको नोटको नम्बरसहित लुटेराको तस्बिरहरू भारतका प्रहरी एवं दुवै तिरका मुद्रा सटही काउन्टरहरूलाई दिएका छौं, नोट साट्न आउना साथ पक्राउ पर्छन् ।’

बैंक लुटमा संलग्न थप एक भारत अररिया फारविसगञ्ज–१० का २० वर्षीय रोशन यादवलाई मोरङको सीमावर्ती क्षेत्र सुनवर्षी नगरपालिका–८, सिक्टीस्थित नेपाल चोक नजिकबाट १ कात्तिकमा प्रहरीले पक्राउ गरेको थियो । बैंकबाट लुटेको रकमसहित अन्य साथीहरु भारत भागेको यादवले नै प्रहरी बयानमा भनेका हुन् ।

लुटमा प्रयोग भएको दुई पेस्तोल बरामद भइसकेको छ । एसपी जीसीका अनुसार गार्मेन्टको लुटमा मुखिया, सुनवर्षीबाट पक्राउ परेक यादव, भारत अररिया सेखपुरा–५ का २८ वर्षीय सुनील यादव र गोराहा–४ का ३० वर्षीय विजय सहनीको संलग्नता थियो । ‘गार्मेन्टबाट ठूलो रकम हात नलागेपछि योजना अनुरुप बैंक लुट्नलाई मुखियाले गिरोहमा थप ७ जना र हतियार थपेका थिए,’उनले भने ।

बैंकभित्र लुटपाटको क्रममा नोटको बिटा समाएर अर्को साथीलाई दिने क्रममा असावधानीवश यादवले बोकेको पेस्तोलबाट गोली चल्दा गिरोहका अर्का सदस्य विजय सहनी घाइते भएका थिए । यिनै घाइते सहनीलाई लिएर भाग्ने क्रममा तत्कालै तीन जना र सातापछि यादव पनि पक्राउ परेका थिए ।

बैंक लुटेलगत्तै पक्राउ भएकाहरुबाट कटुवा पेस्तोल र नपड्केको एक राउन्ड गोली, १ मोबाइल, घटनास्थलबाट पेस्तोलको एक राउण्ड गोली, १ खोका र बैंकका घाइते सुरक्षागार्ड ३८ वर्षीय शितल कुमालको शरीरबाट निकालिएको एक गोली प्रहरीले बरामद गरेको थियो ।

सुरुआती अनुसन्धानमा बैंक लुटमा तीन पेस्तोल प्रयोग भएको देखिएको प्रहरीले जनाएको छ । बाँकी एक पेस्तोल रकम लिएर फरार भएकासँग हुनसक्ने प्रहरीको अनुमान छ । ‘धेरै दिनसम्म लुकेर बस्न र लुटिएको रकम खर्चिन सजिलो छैन,’ एक अनुसन्धान अधिकृतले भने ।

प्रकाशित : मंसिर ११, २०७८ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्

स्वदेशी कम्पनीमा मात्र पुनर्बीमा गर्न निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वदेशी कम्पनीमा मात्र पुनर्बीमा गर्न नियामक निकाय बिमा समितिले निर्देशन दिएको छ । समितिले बिमा कम्पनीहरुका लागि जारी परिपत्रमा उक्त व्यवस्था छ । ‘प्रत्यक्ष हिस्सा स्वरुप प्रदान गरिएको पुनर्बीमा बाहेक बाँकी हुन आउने सबै पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमकहरुलाई प्रदान गर्ने,’ निर्देशनमा भनिएको छ ।

निर्देशन अनुसार अब बिमा कम्पनीहरुले नेपालमा रहेका पुनर्बीमा कम्पनीमा मात्र पुनर्बीमा गर्नुपर्ने छ । स्वदेशी पुनर्बीमा कम्पनीले अस्वीकार गरेको अवस्थामा मात्र कम्पनीहरुले विदेशी कम्पनीमा पुनर्बीमा गर्न पाउनेछन् । ‘स्वदेशी पुनर्बीमा कम्पनीले पुनर्बीमा अस्वीकार गरेको खण्डमा त्यसरी अस्वीकार गरेको अंशको पुनर्बीमा ‘पुनर्बीमा निर्देशिका २०७८’ मा उल्लेख भए बमोजिमको योग्यता पुगेको विदेशी कम्पनीसँग गर्न पाउने,’ निर्देशनमा उल्लेख छ । यो बाध्यात्मक व्यवस्था हो । कम्पनीहरुले आपसी समझदारीमा व्यवसाय नगरेपछि हस्तक्षेप गर्नु परेको बिमा समितिले दाबी गरेको छ ।

‘स्वदेशको पैसा देशभित्रै रहोस भन्नका लागि यो निर्देशन जारी गरिएको हो,’ बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘पुनर्बीमा कम्पनीले पनि अर्को पुनर्बीमासँग बिमा गर्नुपर्ने भएकाले जोखिम स्थातान्तरण नहुने भन्ने हुँदैन ।’ हाल नेपाल पुनर्बीमा र हिमालयन पुनर्बीमा गरी दुई वटा कम्पनी सञ्चालनमा छन् । ती कम्पनी व्यापार सुरक्षित गरिदिनका लागि विदेशी कम्पनीसँग पुनर्बीमा गर्न नपाइने निर्देशन बिमा समितिबाट आएको आरोप कम्पनीहरुले लगाएका छन् ।

हाल बिमा कम्पनीहरुले आफूले आर्जन गरेको बिमा व्यवसायको २० प्रतिशत प्रत्यक्ष हिस्सा अन्तरगत नेपाल पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्नुपर्ने अनिवार्य व्यवस्था छ । पछिल्लो निर्देशनमा बिमा समितिले उक्त व्यवस्था यथावत राखेको छ ।

यस्तै, विदेशी पुनर्बीमा कम्पनीलाई भुक्तानी गर्नका लागि समितिसँग पुनर्बीमा सापटी सिफारिस माग गर्दा स्वदेशी पुनर्बीमा कम्पनीले पुनर्बीमा अस्वीकार गरेको प्रमाण पेश गर्नुपर्ने प्रावधान पनि निर्देशन छ ।

प्रकाशित : मंसिर ११, २०७८ १५:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×