कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

काेसी अस्पतालमा अब पाठेघरकाे मुखकाे क्यान्सर परीक्षण हुने

जितेन्द्र साह

विराटनगर — पाठेघरको मुखमा क्यान्सर पत्ता लगाउन गरिने आधुनिक परीक्षण सेवा बुधबारदेखि विराटनगरस्थित कोसी अस्पतालको कोरोना प्रयोगशालामा सुरु भएको छ ।

काेसी अस्पतालमा अब पाठेघरकाे मुखकाे क्यान्सर परीक्षण हुने


‘पाठेघरको मुखबाट लिइएको स्वाबको आरटी–पीसीआर परीक्षण विधिबाट पाठेघरको मुखमा क्यान्सर भए/नभएको पता लगाउने गरिएको प्रयोगशालाका क्लिनिकल माइक्रोबायोलाेजिस्ट प्रणवकुमार यादवले बताए । उनले कान्तिपुरसँग भने,‘पीसीआर परीक्षणमा जस्तै यस्मा पनि क्यान्सर भए पोजिटिभ, नभए नेगेटिभ रिपोर्ट आउँछ ।’ यसमा पनि स्वाबलाई भीटीएम (भाइरल ट्रान्सपोर्ट मिडियम) मा राखेर परीक्षण गर्ने गरिएको उनले बताए । ‘कोरोना परीक्षण र यसमा प्रयोग हुने रिएजेन्ट मात्र फरक हुन्छ,’यादवले भने ।

चिकित्सकीय भाषामा ‘एचपीभी डिनए पीसीआर एण्ड जेनोटाइपिंग टेस्ट’ भनिने यो सेवा सुरु गर्ने नेपालको सरकारी अस्पतालहरुमध्ये कोसी अस्पताल पहिलो भएको उनको दाबी थियो । यादवको अनुसार अन्य अस्पताललले स्वाबलाई स्लाइडमा राखेर माइक्रोस्कोपले हेरेर रिपोर्ट तयार पार्छ जसलाई प्याथोलोजी स्मियर टेस्ट भनिन्छ । अत्याधुनिक आरटी–पीसीआर स्वचालित यन्त्रले जस्तो भरपर्दो रिपोर्ट माइक्रोस्कोपले हेरेर दिन नसकिने उनले बताए ।

‘काठमाडौंको निजी अस्पतालमा मात्र, त्यो पनि महंगो शुल्कमा हाम्रो जस्तो अत्याधुनिक परीक्षण सेवा उपलब्ध छ,’ यादवले भने, ‘काठमाडौं बाहिरका अधिकांश अस्पतालले क्यान्सरको शंका गरिएका बिरामीको स्वाब परीक्षणका लागि बढी भारततिरै पठाउँछ ।’ काठमाडौंको निजी अस्पतालमा ५ हजार रुपैयाँ र भारतमा १० हजार रुपैयाँसम्म लिइने यो परीक्षणको शुल्क कोसीले भने मात्र २ हजार ५ सय रुपैयाँ तोकेको छ ।

उनको अनुसार यो परीक्षणमा पाठेघरको मुखको क्यान्सरकालागि कारक मानिने एचपीभी ( ह्युमन प्यापीलोमाभाइरस) को किसिमसमेत पत्ता लाग्छ । ‘यसबाट बिरामीलाई कस्तो उपचार र कुन सुई दिने निर्धारण गर्न चिकित्सकलाई सहज हुन्छ,’ यादवले भने ।

स्वास्थ्य जाँच क्रममा प्रसुति विभागमा आउने सेवाग्राहीमध्ये क्यान्सरको शंका गरिएकालाई विज्ञ चिकित्सकले परीक्षणकालागि आरटी–पीसीआर प्रयोगशालामा पठाउने उनले बताए । यादवको अनुसार शुक्रबार सम्म ४ जनाले यो परीक्षण गराइसकेका छन् ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले प्रयोगशाला एवं शल्यक्रिया विभागलाई आधुनिक बनाउन एक पछि अर्को प्रविधि भित्र्याइरहेको बताए । ‘कोसीको प्रयोगशालामा जटिलभन्दा जटिल रोगको परीक्षण/उपचार होस् भन्ने प्रयासमा छौं,’ उनले भने, ‘दूरबीनबाट प्रोस्टेटको शल्यक्रिया सेवा समेत सुरु गरेका छौं, मेडिकल वार्डलाई आधुनिक बनाइँदैछ र सेवाग्राहीको चाप अनुरुप पूर्वाधार थपिंदैछ ।’


प्रकाशित : मंसिर १०, २०७८ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?