मेरा पिक आधारशिविरमा अवैध टहरा

कुम्भराज राई

ओखलढुंगा — सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाअन्तर्गत मकालु–वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र टहरा निर्माण हुन थालेपछि विरोध भएको छ । मेरा पिक हिमालको आधारशिविर र उच्च शिविर क्षेत्रमा स्थानीय होटल व्यवसायीले टहरा निर्माण गरेका हुन् ।

मेरा पिक आधारशिविरमा अवैध टहरा

पर्यटन ऐनविपरीत टहरा निर्माण गरिएको भन्दै स्वतन्त्र पर्यटन श्रमिक संघले विरोध जनाएको हो । हाल त्यहाँ दुईवटा टहरा निर्माण भएका छन् । मेरा पिकको आधारशिविर नजिकै खारे भन्ने स्थानका होटल सञ्चालकले उक्त टहरा निर्माण गरेका हुन् । खारेमा पाँचवटा होटल सञ्चालनमा छन् । यदि ती टहरा निर्माण गर्न दिने हो भने अन्य व्यवसायीले पनि बनाउन सक्ने स्वतन्त्र पर्यटन श्रमिक संघका अध्यक्ष रामकाजी तिवारीले बताए । ‘पहिलो कुरा त पर्यटन ऐनविपरीत हिमालको आधारशिविर र त्योभन्दा माथि टहरा निर्माण गरिएको छ,’ अध्यक्ष तिवारीले भने, ‘अर्कोतर्फ जस्तापाता प्रयोग गरेर पर्यावरणलाई असर गर्ने काम भएको छ । त्यसैले सम्बन्धित निकायले तत्काल टहरा हटाउन लगाउनुपर्छ ।’

६ हजार ४ सय ७६ मिटर उचाइको मेरा पिकलाई अन्य हिमाल आरोहणका लागि अभ्यास गर्ने हिमालका रूपमा समेत चिनिन्छ । स्कीका लागि उपयुक्त मानिएको मेरापिकमा बर्सेनि सयौं पर्यटक आरोहणका लागि जाने गर्छन् । हाल निर्माण गरिएको टहरा आरोही तथा पर्यटकलाई टेन्ट टाँगेर शिविर बनाउने ठाउँमा छ । यदि यसरी टहरा निर्माण गर्दै जाने हो भने आगामी दिनमा पर्यटकले शिविर बनाएर बस्ने ठाउँ नै नहुने स्वतन्त्र पर्यटन श्रमिक संघको भनाइ छ । यसअघि ती स्थानमा होटल व्यवसायीले नै टेन्ट टाँगेर आरोही समूहलाई भाडा लिने गरेको थियो । हाल आएर टेन्टलगायत सामग्री ल्याउन लान गाह्रो हुने भन्दै उनीहरूले टहरा निर्माण गर्न थालेका हुन् ।

मकालु–वरुण राष्ट्रिय निकुञ्जले आफ्नो कार्यालयमा लिखित उजुरी प्राप्त भइसकेकाले तत्काल वास्तविकता अध्ययनका लागि मातहतका कार्यालयलाई जानकारी दिइसकेको छ । मेरापिक नजिकै बुङ भन्ने ठाउँमा रहेको सेक्टर कार्यालयलाई तत्काल सत्यतथ्य बुझ्न निर्देशन दिइसकेको मकालु–वरुण राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले बताए ।


प्रकाशित : मंसिर १०, २०७८ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?