१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हुर्रा र होमस्टेले तान्छ नाम्जेमा पर्यटक

रमेशचन्द्र अधिकारी

धनकुटा — डाँडामाथि उक्लिएर नियाल्दा चिटिक्क देखिने नाम्जेमा यतिबेला चिसो छिप्पिँदै गएको छ । तैपनि यहाँ पुग्ने पर्यटकलाई स्थानीयको न्यानो स्वागतमा होमस्टेमा बस्न पाउँदा त्यसको पर्वाह छैन । 

हुर्रा र होमस्टेले तान्छ नाम्जेमा पर्यटक

काठमाडौंका जयन श्रेष्ठ नाम्जेको होमस्टेको चर्चा सुनेपछि पहिलो पटक पुगेका रहेछन् । उनी नाम्जेमा बास बस्दाको क्षण सधैंका लागि सुखद स्मरणीय हुने बताउँछन् । श्रेष्ठसँगै होमस्टेमा भेटिएका गौरव क्षत्रीले पनि बसाइ आनन्दमय रहेको सुनाए ।

प्राकृतिक रमणीय क्षेत्रमा भुल्नकै लागि आफूहरू आएको उनीहरूको भनाइ छ । यतिबेला नाम्जेमा सबै होमस्टे भरिभराउ छन् । अधिकांश पूर्व आसपासका जिल्लाबाट पुगेको नाम्जे थुम्की होमस्टे सञ्चालक स्थानीय बताउँछन् । पूर्वका पर्यटकीय स्थलमध्ये भेडेटार तथा आसपासको क्षेत्र पनि पर्यटकीय आकर्षणको केन्द्रमा पर्छन् । जसमध्ये नाम्जे गाउँ पनि एक हो । साँगुरीगढी गाउँपालिका–६ मा रहेको नाम्जे थुम्की भेडेटार बजारबाट करिब ४ किलोमिटरको दूरीमा पर्दछ ।

समुद्र सतहबाट १ हजार ५ सय ८५ मिटर उचाइमा रहेको नाम्जेमा ९५ प्रतिशत मगर जातिको बसोबास रहेको छ । उक्त क्षेत्रमा सञ्चालित होमस्टेका मौलिक परिकारहरू जिब्रोमा झुन्डिने खालको भएको पाहुनाहरू बताउँछन् । उक्त जातिको मौलिक संस्कृति झल्कने हुर्रालगायत नृत्यमा रमाउँदाको मज्जै बेग्लै भएको झापाबाट पुगेका लक्ष्मी उप्रेतीले बताए । ‘नाम्जे र आसपासका गाउँ अवलोकन गर्दा असाध्यै आनन्द आयो,’ उनले भने, ‘होमस्टेको बास, हुर्रा नाचेको हेर्न र आफैं पनि नाच्न पाउँदा अविस्मरणीय बसाइ भइरहेको छ ।’

नाम्जे थुम्की होमस्टे संस्थामा आबद्ध २२ होमस्टे सञ्चालनमा छन् । कोरोनाको महामारीमा सुस्ताएको होमस्टे गत असोजदेखि पुनः सञ्चालनमा आएको नाम्जे थुम्की होमस्टे व्यवस्थापन समितिका अध्यक्ष अनिलकुमार रानाले जनाए ।

असोजदेखि मंसिर पहिलो सातासम्म होमस्टेमा ८ हजार बढी पाहुना आइसकेको उनले बताए । रानाले आफ्नो घरका चार कोठालाई होमस्टेमा प्रयोग गर्दै आएका छन् । असोजयता उनको घरमा चार सय बढी पाहुना आइसकेको बताए । यस्तै नाम्जेमा १३ र थुम्कीमा ९ गरी २२ वटा होमस्टेमा ६० वटा कोठामा पाहुना राखिन्छ । होमस्टेबाट मासिक ३० देखि ६० हजार बढी आम्दानी हुने सञ्चालक बताउँछन् ।

छिनछिनमा चिसो सिरेटोसँगै आउने बादलमा छोपिने र क्षणभरमै उघ्रिने नाम्जेको विशेषता हो । प्राकृतिक सौन्दर्यता र स्थानीय मगर समुदायको लोकप्रिय हुर्रा नाचप्रति पर्यटक लोभिने गर्दछन् । मगर समुदायको बाहुल्यता रहेको यहाँ अतिथिलाई आदरसत्कार गरी मीठो बचनले गाँस, बास दिने परम्पराले पर्यटक तानिने गरेको स्थानीय टंक भुजेल सुनाउँछन् ।

हुर्रा नृत्य, नमुनायोग्य होमस्टे, अतिथि सत्कार, आत्मा चौतारो, अर्गानिक खेती, पर्यटक लोभ्याउने भौगोलिक बनावटबाट पर्यटक आकर्षित हुने गरेको उनको ठम्याइ छ । सांस्कृतिक नृत्य प्रस्तुत गरेबापत नाम्जे थुम्की होमस्टेको सामुदायिक सांस्कृतिक भवन निर्माण सहयोगार्थ २ हजार रुपैयाँ शुल्क लिने गरिएको छ । पाहुनालाई नास्तामा सिजनअनुसार उसिनेको आलु, स्कुसको जरा र त्यसैको मुन्टाको तरकारी, मकैको भात, लोकल कुखुराको मासु, बंगुरको सेकुवा, खसीबोकाको मासु र आवश्यकताअनुसार लोकल कोदोको निगार, तोङ्वालगायत पेय पदार्थ आदिको व्यवस्था गरिएको सञ्चालकले जनाए ।

दैनिक २ सय ५० जनालाई खान र बस्नको व्यवस्था मिलाइएको होमस्टेमा पछिल्लो समयमा जनप्रतिनिधि र कर्मचारीको परिवार बढी मात्रामा आउने गरेको स्थानीय होमस्टे सञ्चालक गुञ्जमान मगरले बताए । नाम्जे थुम्की होमस्टेमा आउने पर्यटकले नाम्जेको आत्मा बस्ने घर, सूर्योदय बौद्ध विहार, जनजाति पार्क, नाम्जे थुम्की डाँडा वरिपरि रहेका टावर, नाम्जेडाँडाबाट तराईका समथल भूभागको अवलोकन गर्छन् ।

त्यस्तै नाम्जे थुम्की वरपर रहेका भेडेटारको चार्ल्स प्वाइन्ट, भेडेटारको पाथीभरा मन्दिर, ओख्रेको भ्यु–टावर, नमस्ते झरना, डाँडाबजारको ध्वजेडाँडा, एसियाको सबैभन्दा ठूलो बरको बोट, चौबीसको रानीताल, मोरङको जेफाले टावरलगायतका पर्यटकीय स्थलको अवलोकन गर्न सकिने भएपछि आकर्षण बढेको छ । पाहुनाहरूले त्यहाँ उत्पादित तरकारी र फलफूल खरिद गरेर लैजाने गरेकाले व्यापार व्यवसायसमेत फस्टाउने गरेको स्थानीयवासीले बताए ।

प्रकाशित : मंसिर १०, २०७८ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?