२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कैदीबन्दीको आन्दोलनलाई बेवास्ता गर्दै गिरीलाई मोरङ कारागार ल्याइयो

विनोद भण्डारी

विराटनगर — कैदीबन्दीको डेढ महिनादेखिको आन्दोलनलाई बेवास्ता गर्दै मोरङ प्रशासनले अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तानी गरिरहेका विराटनगरका अभिषेक गिरीलाई बिहीबार बिहान सबेरै मोरङ कारागारमा ल्याएको छ ।

कैदीबन्दीको आन्दोलनलाई बेवास्ता गर्दै गिरीलाई मोरङ कारागार ल्याइयो

सर्वत्र विरोध भइरहेकै समयमा गिरीलाई सप्तरीबाट मोरङ कारागार ल्याइएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । उनलाई ल्याउने बित्तिकै कारागारको चौकीदार नियुक्त गरिएको स्रोतले बताएको छ ।

दिउँसो ल्याउँदा भित्रका कैदीबन्दीले अवरोध गर्ने भयले गिरीलाई सबेरै ल्याएर कारागार भित्र्याएको स्रोतको दाबी छ । डिल्लीबजार कारागारमा रहँदा गिरीलाई विभागले भदौ १७ गते मोरङ पठाउने निर्णय गरेको थियो । त्यसको केही दिनपछि गिरीलाई मोरङमा ल्याउँदा कैदीबन्दीले भित्र छिर्न नदिएपछि उनलाई सप्तरी कारागार लगिएको थियो ।

गिरीलाई मोरङमा ल्याउन डेढ महिनाको अवधिमा मोरङ कारागारमा तीनवटा नाइके परिवर्तन गर्दै अन्यत्र कारागार सरुवा गरिएका थियो । उनलाई ल्याउन पछिल्लो पटक कारागार प्रशासनले बुधबार गिरी विरोधी चौकीदार कात्तिक कामतसहित ८ जना कैदीबन्दीलाई झुम्का र सिन्धुली कारागार सरुवा गरेको थियो ।

त्यसअघि गिरीलाई मोरङ ल्याउने तयारीका लागि कारागार प्रशासनले त्यसबेलाका चौकीदार गिरी विरोधी नवीन राईलाई झुम्का कारागार सुरुवा गरिएको थियो । तर विभागको निर्णय तत्काल कार्यान्वयन नहुँदा कर्तव्य ज्यान मुद्दाका दोषी किरण गुरुङलाई चौकीदार बनाइएको थियो ।

गुरुङ चौकीदार भएपछि गिरीलाई मोरङ ल्याइयो । तर, त्यसको विरोधमा कैदीबन्दी आन्दोलनमा उत्रिए । गिरीलाई कारागार प्रशासनले भित्र्याउनै नसकेपछि सप्तरी कारागार पठायो । गिरीलाई झुम्का र झापा कारागारले लिन नमानेपछि सप्तरी पठाइएको स्रोतको भनाई छ ।

गिरीलाई सप्तरी पठाएपछि मोरङ कारागारमा गिरी पक्ष र विपक्षीका कैदीबन्दी बीच तीनसाताअघि झडप भयो । झडपमा चौकीदार गुरुङसहित ६ जना घाइते भएका थिए । झडपपछि कारागार प्रशासनले गुरुङसहित १४ कैदी बन्दीलाई झुम्का र झापा कारागारमा सरुवा गरेर कर्तव्य ज्यान मुद्दाकै कैदी कात्तिक कामतलाई प्रशासनले चौकीदार नियुक्त गरेको थियो । उनलाई बुधबार साँझ सरुवा गरेर बाहिर निकाल्दा कारागारको वातावरण तनावग्रस्त बनेको थियो ।

विराटनगरको देवकोटा चोकका गिरी यसअघि मोरङमै रहँदा कारागारका चौकीदार थिए । त्यसबेला उनले कैदीवन्दीलाई यातना दिएको र भित्रबाटै असुली र फिरौती धन्दा चलाएको भन्दै कारागार विभागले २०७४ चैतमा डिल्लीबजार कारागार सरुवा गरेको थियो । त्यसबेला गिरीले कैदीवन्दीलाई चरम यातना दिएको भन्दै यो कारागारका कैदीबन्दी उनलाई आउन नदिन डेढ महिनादेखि नियमित आन्दोलन गर्दै आएका थिए ।

युवती प्रयोग गरी सरकारी कर्मचारीलाई बन्धक बनाएर फिरौती मागेको आरोपमा गिरीलाई प्रहरीले २०७० सालमा पक्राउ गरेको थियो । यसअघि उनी विराटनगर जतुवाका करण यादवको हत्यामा पक्राउ परेर २०६९ सालमा उनले कर्तव्य ज्यान मुद्दामा सफाइ पाएर जेलमुक्त भएका थिए ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाएर रकम मागेको आरोपमा गिरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो । गिरीले आफ्नी प्रेमिकालाई प्रयोग गरेर रेग्मीलाई सानेपास्थित आफ्नो डेरामा बन्धक बनाएर १० लाख रुपैयाँ फिरौती मागेका थिए । यही प्रकरणमा गिरी उनी अहिले जेलमा छन् । गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि गिरीमाथि विशेष अदालतमा मुद्दा चलाएको छ ।

चौकीदार बन्न मरिहत्ते

कारागार व्यवस्थापन विभागका अनुसार कारागारमा कानुनी रुपमै चौकीदार चयन हँुदै आएको छ । चौकीदारसहित नाइके र भाइ नाइकेको पनि व्यवस्था हुन्छ । कैदीबन्दीको व्यवस्थापन, औषधि उपचार, खाद्यान्न आपूर्ति लगायतमा चौकीदारको ठूलो भूमिका हुन्छ । चौकीदारले जेलभित्र पसल चलाउने, मेस चलाउने, खाद्यान्न आपूर्ति गराउने जिम्मा पाउँछन् । चौकीदार हुनेले लाखांै आम्दानी गर्दै आएका छन । त्यसकालागि चौकीदार बन्न जेलभित्रका कैदीबन्दीबीच प्रतिस्पर्धा नै हुने स्रोतको भनाई छ ।

त्यतिमात्र होइन । चौकीदार दिनभरि बाहिर स्वतन्त्र रुपमा हिँडडुल गर्ने पाउँछन् । साँझसम्ममा कारागार प्रवेश गरिसक्ने पर्ने दिनभरि जहाँपनि जान मिल्ने र दिनभरिमा गृह नगरमा अरू काम गर्न पाइने भएकोले पनि गिरी मोरङ कारागार आउन खोज्छन् ।

यसअघि गिरी मोरङ कारागारको चौकीदार रहँदा दिनभरि हिँडडुल गरी ठेक्कापट्टा चलाउनेदेखि कारागारभित्र कैदीबन्दीलाइ यतना दिने, फिरौती र असुली धन्दामा सञ्चालन गरेको पुष्टि भएपछि गिरीलाई २०७४ चैतमा डिल्लीबजार कारागार सरुवा गरिएको थियो ।

प्रकाशित : मंसिर ९, २०७८ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?