कांग्रेस महाधिवेशन

धनकुटामा निर्वाचन प्रक्रिया स्थगित

धनकुटा — सत्तारूढ दल कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत धनकुटा जिल्ला अधिवेशनको लागि सोमबार निर्धारण गरिएको निर्वाचन अन्तिम समयमा स्थगित भएको छ । स्थगित भएपछि संस्थापन (देउवा) र रामचन्द्र पौडेल खेमाका उम्मेदवार एकापसमा आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

धनकुटामा निर्वाचन प्रक्रिया स्थगित

सोमबार दिनभर निर्वाचन प्रक्रियाको तयारी गरिए पनि राति अबेर स्थगित भएको थियो । पौडेल समूहबाट सभापति पदका उम्मेदवार कमोटकुमार फागोले पत्रकार भेला नै आयोजना गरेका छन् । उनले सल्लाह नगरी निर्वाचन समितिको आधिकारिक सूचनाबिना निर्वाचन भाँड्ने कार्यमा संस्थापन पक्ष दोषी रहेको बताए ।

निर्वाचन कार्य तालिकाअनुसार समयसीमाभित्रै मतदान कार्य गरिनुपर्ने माग राखे पनि सुनुवाइ नभएको उनको गुनासो छ । ‘प्रतिपक्षी राजनीतिक दलसँग मुकाबिला गर्नुपर्ने बेलामा आफ्नै पार्टीका साथीहरूको हर्कतको विरुद्ध लड्नुपर्ने परिस्थितिले लज्जाबोध भएको छ,’ फागोले भने, ‘इमान्दार, निष्ठावान् कार्यकर्ता र नेताको आस्थामाथि चोट पुग्ने कामको विरुद्ध आफूहरू उत्रिन बाध्य छौं ।’

निर्वाचन प्रक्रिया अन्योल बनाउने कार्यमा निर्वाचन अधिकृतसमेत प्रभावित बनेको उनको आरोप छ । पार्टीको विधानअनुसार अधिवेशनबाट आफूहरू नभाग्ने अर्का नेता हरिकुमार राईले बताए । पूर्वजिल्ला सभापतिसमेत रहेका राईले हारको मानसिकताबाट संस्थापन पक्ष निर्वाचनबाट भागेको आरोप लगाए । उनले कांग्रेसको खोल ओढेर अलोकतान्त्रिक शक्ति हावी भएको बताए । निर्वाचन गराउन आफूहरू संयमित भएर जुटेको पत्रकार भेलामा राईले बताए ।

निर्वाचन प्रक्रिया लम्ब्याएर प्रदेश र केन्द्रीय महाधिवेशनमा प्रतिनिधि जान वञ्चित गर्ने षड्यन्त्र गरिएको राईको कथन थियो । उनले तत्काल निर्वाचन नतोकिए पार्टीको नेतृत्वविरुद्ध उत्रने जनाए । उता, दुवै उम्मेदवारको भावनाको कदर गर्दै मतदान प्रक्रिया स्थगित गरिएको कांग्रेस जिल्ला सचिव विजयसन्तोषी राईले जनाए ।

प्रकाशित : मंसिर ८, २०७८ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?