कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

टेन्डरको १४ महिनापछि सिटी स्क्यान

नियमतः बोलपत्र खोलेको ४ महिनाभित्र ठेकेदारले आपूर्ति नगरिदिँदा प्रतिष्ठानलाई ४ करोड २० लाख घाटा
प्रदीप मेन्याङ्बो

सुनसरी — टेन्डरपछि आपूर्ति ठेक्का पाएको १४ महिनामा बल्ल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान (कम्प्युटेड टोमोग्राफी) मेसिन आएको छ । जडान हुन भने अझै बाँकी नै छ । सिटी स्क्यान मेसिन आपूर्ति गर्ने ठेक्का पाएलगत्तै काडमाडौंका म्याक्स मेडिटेक कम्पनीका सञ्चालक जीवन उप्रेतीले २०७७ भदौमा कुल बजेटको ५० प्रतिशत (८ करोड रुपैयाँ) अग्रिम भुक्तानी लिइसकेका थिए ।

टेन्डरको १४ महिनापछि सिटी स्क्यान




तर उनले सम्झौताअनुसार सार्वजनिक खरिद ऐन नियमावलीअनुसार बोलपत्र खोलेको १ सय २० दिन अर्थात् चार महिनाभित्रमा मेसिन आपूर्ति गर्न सकेका थिएनन् ।

गत आर्थिक वर्षमा सरकारले सिटी स्क्यान मेसिन खरिद गर्न बीपी प्रतिष्ठानलाई २० करोड रुपैयाँ दिएको थियो । सोही रकमले प्रतिष्ठानले कुल १६ करोड रुपैयाँमा २५६ स्लाइसको सिटी स्क्यान खरिद गर्ने टेन्डर आह्वान गर्दा म्याक्स मेडिटेक कम्पनीका उप्रेतीले आपूर्ति ठेक्का पाएका थिए ।

कुल बजेटको आधा बजेट अग्रिम भुक्तानीको रूपमा लगे पनि १४ महिनासम्म मेसिन आपूर्ति नगर्दा प्रतिष्ठानलाई उक्त अवधिमा ४ करोड २० लाख रुपैयाँ घाटा भएको रेडियोलोजी विभागका एक बरिष्ठ प्राविधिकले बताए । उनका अनुसार प्रतिष्ठानको आफ्नै सिटी क्यान १४ महिनादेखि नहुँदा दैनिक २० देखि २५ जना अन्यत्र रेफर गर्नुपरिरहेको छ ।

प्रतिष्ठानमा सिटी स्क्यान गर्दा ३ हजार ५ सय रुपैयाँदेखि ६ हजार रुपैयाँ शुल्क लाग्छ । ठेक्का पाएर पनि समयमै सिटी स्क्यान आपूर्ति गर्न नसक्ने कम्पनीलाई कालोसूचीमा राखेर कुल बजेटको शून्य दशमलब शून्य पाँच (०.०५) प्रतिशत रकम हर्जाना तिराउनुपर्ने प्रावधान सार्वजनिक खरिद ऐन नियमावलीमा छ । तर उपकुलपति डा. ज्ञानेन्द्र गिरीले उनलाई पटक–पटकसम्म म्याद थपिदिएका थिए । पछिल्लो पटक गिरीले उप्रेतीलाई मंसिरसम्मको म्याद थपिदिएका थिए ।

रेडियोलोजी विभागका डेमोस्ट्रेटर तथा प्राविधिक इन्चार्ज मुकेस झाले भने, ‘नयाँ सिटी स्क्यान मेसिन भर्खर झरेको छ । भारतको बैंग्लोरबाट मेसिन जडान गर्ने इन्जिनियर पनि आइसकेका छन् । सायद भोलि (सोमबार) देखि जडान गर्ने काम सुरु हुन्छ र एक महिनाभित्रमा प्रतिष्ठानको आफ्नै सिटी स्क्यान मेसिन सञ्चालनमा आउने भनेर सुनेको छु ।’ उक्त मेसिन अमेरिकाको जीई कम्पनीले निर्माण गरेको आधुनिक प्रविधियुक्त भएकाले मुटुको पनि स्क्यान गर्न सक्ने बताइएको छ ।

८ करोड रुपैयाँ अग्रिम भुक्तानी लिएर पनि सम्झौता गरेको समयभन्दा १० महिना ढिलो मेसिन आपूर्ति गर्ने कम्पनीलाई प्रतिष्ठानले सार्वजनिक खरिद ऐन नियमावलीअनुसार कालोसूचीमा राखेर कारबाही गर्छ/गर्दैन त्यो भने हेर्न बाँकी रहेको रेडियोलोजी विभागका अर्का एक प्राध्यापकले बताए । उनले भने, ‘हर्जाना तिराउने काम प्रतिष्ठान व्यवस्थापनले गर्ने हो । यसै पनि ४ करोड बढी त घाटा व्यहोरोको छ । त्यसको शोधभर्ना कसरी हुन्छ हेर्न बाँकी छ ।’

यसैबीच, प्रतिष्ठानमै ८ वर्षअघि सार्वजनिक निजी साझेदारी (पीपीपी) मा जडान गरिएको १६ स्लाइसको सिटी स्क्यान पनि बिग्रँदा आकस्मिक कक्षमा ल्याइएका घाइते र प्रतिष्ठानका वार्डमा भर्ना गरिएका बिरामीको सिटी स्क्यान हुन सकिरहेको छैन । रेडियोलोजी विभागका अनुसार दसैंताका उक्त मेसिन बिग्रेको हो । सिटी स्क्यान गर्दा राम्रो ‘इमेज’ नआउने र त्यस्तो इमेज चिकित्सकले नहेर्ने भएकाले रेफर बिरामीलाई अन्यत्रै गर्नुपरेको छ ।

काठमाडौंको मेडी सोल्यसुन कम्पनीसँग मिलेर प्रतिष्ठानले उक्त मेसिन जडान गरेको थियो । चार वर्षयतादेखि आरबी मर्चेन्टले त्यसको साझेदारी स्वामित्व लिएको छ । पीपीपीमा जडान गरेको सिटी स्क्यान मेसिनबाट बिरामी उपचार गरेबापत प्राप्त हुने रकम भने ६५ प्रतिशत रकम पहिले मेडी सोल्युसनले लिँदै आएको थियो भने पछिल्लो चार वर्षयता आरबी मर्चेन्टले लिँदै आएको छ ।

जबकि सम्पूर्ण बिरामी, जनशक्ति, प्राविधिक, आवश्यक अन्य उपकरण र जडानस्थल भने प्रतिष्ठानकै छ । दैनिक ३५ सय बढी बिरामी उपचारका लागि आउने प्रतिष्ठानमा व्यवस्थित सिटी स्क्यान मेसिन नहुनु विडम्बना भएको छ ।

प्रकाशित : मंसिर ७, २०७८ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?