कारागारभित्र गिरीको दादागिरी : समर्थन र विरोधमा नाराबाजी

विनोद भण्डारी

विराटनगर — अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगरका अभिषेक गिरीका नाममा मोरङ कारागार अशान्त हुने क्रम रोकिएको छैन ।

कारागारभित्र गिरीको दादागिरी : समर्थन र विरोधमा नाराबाजी

पहिले गिरीलाई मोरङ ल्याउनु हुँदैन भन्दै कैदीबन्दीले नारावाजी गरे । आइतबारदेखि उनैलाई ल्याउनुपर्छ भन्दै केही कैदीबन्दी र आफन्तले दुइ दिनदेखि नारबाजी गर्दा कारागार थप अशान्त बनेको छ ।

आइतबारदेखि गिरी पक्षका आफन्तले नराबाजी गर्दा कारागार प्रशासनले मुलगेट बन्द गरिदिएपछि गिरीलाई मोरङ कारागार ल्याउनुपर्छ भन्नेहरू बाहिरै बसेर नाराबाजी गरिरहेका छन् ।

उता गिरीलाई मोरङ ल्याउन कुनै आधिकारीक जानकारी नआएको कारागार प्रशासनले जनाएको छ । डिल्लीबजार कारागारमा रहँदा गिरीलाई विभागले भदौ १७ गते मोरङ पठाउने निर्णय गरेको थियो । कारागार विभागले उनलाई एक महिना पहिला मोरङ ल्याएको थियो । तर कारागारका कैदीबन्दीले आन्दोलन गरेपछि स्थानीय प्रशासनले भित्र प्रवेश गराउन नसकेपछि गिरीलाई सप्तरी कारागार पठाइएको थियो । उनलाई पछिल्लो पटक सप्तरीबाट मोरङ ल्याउने कारागार विभागको निर्णय बाहिरिएलगत्तै मोरङ कारागार दुइ दिनदेखि अशान्त बन्दैआएको छ ।

कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलका अनुसार गिरीलाई कहिले ल्याउन हुन्न र कहिले ल्याउनुपर्छ भन्ने नाममा कारागार भित्र र बाहिर आन्दोलन हुँदा आसपासको वातावरण अशान्त हुँदैगएको हो । उनले भने, 'गिरीलाई सप्तरीबाट मोरङ ल्याउनुपर्छ भन्ने आधिकारिक जानकारी आएको छैन । तै पनि उनकै नाममा मोरङ कारागार थप अशान्त बन्दैआएको छ ।'

गिरीलाई दुइ महिना अगाडि मोरङ सरुवा गरेको कारागार व्यवस्थापन विभागको निर्णय बाहिर आउनासाथ कारागारका कैदीबन्दी आन्दोलनमा उत्रिए । विराटनगरको देवकोटा चोकका गिरी यसअघि मोरङमै रहँदा कारागारका चौकीदार थिए । त्यसबेला उनले कैदीबन्दीलाई यातना दिएको र भित्रबाटै असुली र फिरौती धन्दा चलाएको भन्दै कारागार विभागले २०७४ चैतमा डिल्लीबजार कारागार सरुवा गरेको थियो ।

कांग्रेस निकट भनी चिनिएका गिरी शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएलगत्तै गुहमन्त्री बालकृष्ण खाँणको पहलमा उनलाई मोरङ पठाएको स्रोतको दावी छ । उनलाई कारागारका चौकीदार बनाउने प्रशासनको तयारी थियो । गिरीलाई मोरङ ल्याउने तयारीका लागि कारागार प्रशासनले त्यसबेलाका चौकीदार गिरी विरोधी नवीन राईलाई झुम्का कारागार सुरुवा गरिएको थियो । तर विभागको निर्णय तत्काल कार्यान्वयन नहुँदा कर्तव्य ज्यान मुद्दाका दोषी किरण गुरुङलाई चौकीदार बनाइएको थियो ।

गुरुङ चौकीदार भएपछि गिरीलाई मोरङ ल्याइयो । तर त्यसको विरोधमा कैदीबन्दी आन्दोलनमा उत्रिए । गिरीलाई कारागार प्रशासनले भित्र छिराउनै नसकेपछि उनलाई सप्तरी कारागार पठायो । गिरीलाई झुम्का र झापा कारागारले लिन नमानेपछि सप्तरी पठाइएको स्रोतको भनाइ छ ।

गिरीलाई सप्तरी पठाएपछि मोरङ कारागारमा गिरी पक्ष र विपक्षीका कैदीबन्दीबीच अघिल्लो मंगलबार दोहोरो झडप भयो । झडपमा चौकीदार गुरुङसहित ६ जना घाइते भए । झडपपछि कारागार प्रशासनले गुरुङसहित १४ कैदीबन्दीलाई झुम्का र झापा कारागारमा सरुवा गरेर कर्तब्य ज्यान मुद्दाकै कैदी कात्तिक कामतलाई प्रशासनले चौकीदार नियुक्त गर्‍यो।

यसरी मोरङ कारागार गिरीका नाममा एक महिनादेखि अशान्त रहेको निमित्त जेलर रामप्रसाद पोखरेलको भनाइ छ । बाहिर झैँ कारागार भित्र पनि राजनीति छिरेको पोखरेल बताउँछन्। पोखरेलले भने कैदीबन्दी पनि दलगत गुटका नाममा उफ्रिन थालेका छन । गुरुङसहित १४ जनालाई सरुवा गरेपछि अहिले कारागारमा केही शान्ति छाएको पोखरेलको भनाइ छ । हाल मोरङ कारागारमा ७२ महिलासहित एक हजार कैदीबन्दी छन् ।

को हुन् गिरी ?

युवती प्रयोग गरी सरकारी कर्मचारीलाई बन्धक बनाएर फिरौती मागेको आरोपमा गिरीलाई प्रहरीले २०७० सालमा पक्राउ गरेको थियो । यसअघि उनी विराटनगर जतुवाका करण यादवको हत्यामा पक्राउ परेर २०६९ सालमा उनले कर्तव्य ज्यान मुद्दामा सफाइ पाएर जेलमुक्त भएका थिए । त्यसबेला गिरीका सहकर्मी पर्शुराम बस्नेत थिए । बस्नेत हाल एमाले मोरङका प्रभावशाली युवा नेता हुन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाएर रकम मागेको आरोपमा गिरीसहित चारजनालाई प्रहरीले पक्राउ गरेको थियो । गिरीले आफ्नी प्रेमिकालाई प्रयोग गरेर रेग्मीलाई सानेपास्थित आफ्नो डेरामा बन्धक बनाएर १० लाख रुपैयाँ फिरौती मागेका थिए । यही प्रकरणमा गिरी अहिले जेलमा छन् । गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि गिरीमाथि विशेष अदालतमा मुद्दा चलाएको छ ।

चौकीदार बन्न मरिहत्ते

कारागार व्यवस्थापन विभागका अनुसार कारागारमा कानुनी रुपमै चौकीदार चयन हुने गरेको छ । चौकीदारसहित नाइके र भाइ नाइकेको पनि व्यवस्थ हुन्छ ।

कैदीबन्दीको व्यवस्थापन, औषधि उपचार, खाद्यान्न आपूर्ति लगायतमा चौकीदारको प्रमुख भूमिका हुन्छ । उसले जेलभित्र पसल चलाउने, मेस चलाउने, खाद्यान्न आपूर्ति गराउने जिम्मा पाउँछ । मोरङ कारागारको चौकीदार हुनेले लाखौं आम्दानी गर्दैआएका छन् । त्यसका लागि चौकीदार बन्न जेलभित्रका कैदी बन्दीको तँछाड मछाड नै हुने बताइन्छ ।

त्यति मात्र नभएर चौकीदार दिनभर बाहिर स्वतन्त्र रुपमा हिँडडुल गर्नसमेत पाउँछन् । साँझसम्ममा कारागार प्रवेश गरिसक्नुपर्ने गरी दिनभर जहाँ पनि हिँड्न मिल्ने र आफ्नो गृहनगरमा अरू धन्दा चलाउन पाइने भएकाले पनि गिरी मोरङ कारागार आउन खोजेको बुझिन्छ ।

यसअघि गिरी मोरङ कारागारको चौकीदार रहँदा दिनभर हिँडडुल गरी ठेक्कापट्टा चलाउनेदेखि कारागारभित्र कैदीबन्दीलाई यातना दिने, फिरौती र असुली धन्दामा सञ्चालन गरेको पुष्टि भएपछि उनलाई २०७४ चैतमा डिल्लीबजार कारागार सरुवा गरिएको थियो ।

प्रकाशित : मंसिर ६, २०७८ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?