२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

प्रशासनमा भीड बढेपछि टोकन सेवा

लक्ष्मी गौतम

पाँचथर — चाडबाड सकिएलगत्तै सेवाग्राहीको चाप थेग्नै नसक्ने गरी बढेको भन्दै जिल्ला प्रशासन कार्यालय पाँचथरले मंगलबारदेखि टोकनका आधारमा सेवा दिन थालेको छ ।

प्रशासनमा भीड बढेपछि टोकन सेवा

भीड व्यवस्थित गर्दै पहिले आउने सेवाग्राहीलाई पहिल्यै सेवा दिने उद्देश्यले टोकनका आधामा सेवा दिन थालिएको प्रशासन कार्यालयका कर्मचारीहरूले जनाएका छन् ।

दसैं-तिहार बिदा हुनुभन्दा महिनौं अघिदेखि कोरोना भाइरस संक्रमणको त्रासले प्रायः सुनसान रहेको उक्त कार्यालयमा अहिले दैनिक १ सयको हाराहारीमा नागरिकता र ४० को हाराहारीमा राहदानी बनाउन आउनेहरू छन् । यसवाहेक अन्य सबैखाले सेवा लिन आउनेहरूको संख्या पनि पछिल्लो समय अत्याधीक बढेपछि टोकन सेवा सुरु गरिएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेका अनुसार हरेक दिन सेवाग्राहीको संख्या ४ सय नाघेको छ । भीड व्यवस्थित गर्नका लागि टोकनका आधारमा सेवा दिन थालिएको प्रजिअ न्यौपानेले बताए ।

उनका अनुसार सेवा लिन आउने नागरिकलाई कार्यालयले प्रवेश गर्नासाथ टोकन उपलब्ध गराएर सोही नम्बरका आधारमा काम सकेर पठाउने व्यवस्था मिलाइएको छ ।

सेवाग्राहीको चाप थेग्नै नसक्ने अवस्थामा पुगेपछि सबै फाँटका कर्मचारीलाई नागरिकता र राहदानी फाँटमै केन्द्रित गरेको पनि प्रजिअ न्यौपानेले बताए । कार्यालयले कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै सेवाग्राहीलाई मास्क अनिवार्य लगाउन भने पनि भौतिक दूरी भने कायम गराउन सकेको छैन ।

प्रकाशित : कार्तिक ३०, २०७८ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?