१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

१७ सय ७३ घरमा क्षति

बेमौसमी झरीले पुर्‍याएको हानिको यकिन विवरण अझै आएन
लक्ष्मी गौतम

पाँचथर — जिल्ला विपद् व्यवस्थापन समितिले गरेको अध्ययनबाट कात्तिक १ देखि ३ सम्मको बेमौसमी झरीले जिल्लाका १ हजार ७ सय ७३ घरमा क्षति पुगेको देखिएको छ । समितिले बाढीपहिरो प्रभावित स्थानीय तहसँगको समन्वयमा क्षतिको विवरण संकलन गरेको हो ।

१७ सय ७३ घरमा क्षति

जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाका ७ वटा स्थानीय तहमा बाढीपहिरोका कारण १ हजार ७ सय ७३ घरमा क्षति पुगेको हो । जसमध्ये ३ सय ४४ घरका १ हजार ५ सय सर्वसाधारण विस्थापित भएका छन् भने ३७ घरपरिवार अझै जोखिमयुक्त घरमा बसिरहेका छन् । यस्तै १ हजार ३ सय ९२ वटा घरमा आंशिक क्षति पुगेको छ ।

बाढीपहिरोले पुर्‍याएको क्षतिको विवरण यकिन गरिएसँगै स्थानीय तह र नेपाल रेडक्रस सोसाइटीले विस्थापित र प्रभावित परिवारलाई प्रारम्भिक चरणको राहत दिन थालेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । उनका अनुसार पहिरोका कारण प्राकृतिक नाकाबन्दीमा परेको मिक्लाजुङ–७ लेकगाउँका २६ घरपरिवारलाई पनि शुक्रबार रेडक्रस र गाउँपालिकाले राहत पुर्‍याएका छन् ।

पालिकाले खाद्यान्न र रेडक्रसले गैरखाद्य गरी तत्कालका लागि राहत उपलब्ध गराइएको प्रजिअ न्यौपानेले बताए । मृतक परिवारका हकमा भने राहत रकम उपलब्ध गराउन केही साता लाग्ने बताइएको छ । बाढीपहिरोमा परी जिल्लाभर ३१ जनाले ज्यान गुमाएका थिए भने ३ जना बेपत्ता छन् । बेपत्ताका परिवारलाई पनि मृतकलाई सरह राहत उपलव्ध गराउने बताइएको छ । यसअघि सरकारले ज्यान गुमाएका सदस्यको हकमा प्रतिव्यक्ति २ लाखका दरले र एउटै परिवारका २ जनाभन्दा धेरैको ज्यान गएको भए प्रतिव्यक्ति थप एक लाखका दरले राहत दिने निर्णय गरेको थियो ।

३ हजार १ सय बढी हेक्टरमा क्षति

बेमौसमी झरीका कारण पाँचथरका ७ पालिकामा धान, कोदो, तरकारी, अलैंची, फलफूल र दाल बाली गरी ३ हजार १ सय हेक्टर क्षेत्रफलमा लगाइएको बालीमा क्षति पुगेको तथ्यांक संकलन भएको छ । कृषि ज्ञान केन्द्र पाँचथरका अनुसार सबैभन्दा धेरै क्षति धान बालीमा भएको छ । २ हजार ३ सय २२ हेक्टरमा लगाएर पाक्नै लागेको धानमा क्षति पुगेको ज्ञान केन्द्र प्रमुख सागर विष्टले बताए ।

उनका अनुसार २ सय ९६ हेक्टरमा लगाइएको कोदो, २ सय २० हेक्टरमा लगाइएको तरकारी र १ सय २८ हेक्टरको अलैंची, १० हेक्टरको फलफूल र ३ हेक्टर क्षेत्रफलको दाल बालीमा क्षति पुगे पनि परिमाण भने अझै यकिन भएको छैन । ज्ञान केन्द्रकै सेवा क्षेत्रमा पर्ने छिमेकी जिल्ला ताप्लेजुङका ९ वटा स्थानीय तहमा २ सय ८८ हेक्टरको धान र २९ हेक्टरको कोदो बालीमा क्षति पुगेको तथ्यांक छ ।

‘यत्ति धेरै क्षेत्रफलको बाली नष्ट भए पनि कति परिमाणमा अन्न गुमाइयो भन्ने तथ्यांक संकलन भइरहेको छ । स्थानीय तहका कृषि विकास शाखासँग समन्वय गरेर कात्तिकभित्रमा क्षतिको विवरण यकिन गर्छौं,’ विष्टले भने ।

प्रकाशित : कार्तिक २७, २०७८ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?