कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमामा भारतीयलाई मतदाता परिचयपत्र अनिवार्य

पर्वत पाेर्तेल

काँकडभिट्टा — दार्जिलिङका सुजय राई मंगलबार आफन्त भेट्न नेपाल आएका थिए । भारतीय निर्वाचन आयोगले जारी गरेको परिचयपत्र देखाएपछि मात्रै उनलार्ई सुरक्षाकर्मीले प्रवेश दिए । ‘त्यो नबोकेको भए फर्किएर जानुपर्ने अवस्था हुन्थेछ,’ राईले भने । 

सीमामा भारतीयलाई मतदाता परिचयपत्र अनिवार्य

रोहिंग्या र अफगानी शरणार्थीहरूको अवैध प्रवेश हुन थालेको भन्दै गृह मन्त्रालयले नाकामा गरेको कडाइको घानमा भारतीय पर्यटक परेका छन् । प्रहरीले नक्कली आधार कार्डका कारण भारतीयहरूको पहिचानमा समस्या भएकाले मतदाता परिचयपत्र अनिवार्य गरेको जनाएको छ ।

भारतीयहरू आफन्त भेट्न, घुमघाम गर्न र आँखा उपचारका लागि यो नाकाबाट प्रवेश गर्छन् । गत वैशाखमा कोरोना संक्रमण बढेपछि भारतीय पर्यटकलाई प्रवेशमा रोक लगाइएको थियो । करिब महिना अघिदेखि मात्रै भारतीयलाई प्रवेश दिन थालेको थियो । दुवै डोज कोरोना खोप या ७२ घण्टा अघि गरिएको पीसीआर रिपोर्टका आधारमा । तर, रोहिंग्या र अफगानी शरणार्थी प्रवेश गर्न सक्ने बहानामा भारतीय पर्यटकमाथि गरिएको पुनः कडाइले स्थानीय व्यवसायीसमेत आक्रोशित बनेका छन् । ‘भारतीय पर्यटक आउन सुरु मात्रै गरेका थिए,’ ट्राभल व्यवसायी विजय सुवेदीले भने, ‘प्रशासनले पुनः लफडा गर्न थाल्नु दुःखद छ ।’


लामो समयको कोरोनापछि भर्खरै तंग्रिन थालेको सीमा क्षेत्रको व्यापार व्यवसायलाई पुनः असर पर्न सक्ने व्यवसायी सुवेदीले जनाए । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी सुनील दाहालले रोहिंग्या र अफगानी शरणार्थी भित्रन सक्ने खतरालाई मध्यनजर गर्दै नाकामा कडाइ सुरु गरिएको जनाए । दाहालले भने, ‘भारतीयलाई कडाइ गरिएको छैन, मात्रै निर्वाचन आयोगको परिचयपत्र मात्रै मागिएको हो ।’ नक्कली आधार कार्ड देखाउँदै भारतीय तथा अन्य देशका नागरिकको शंकास्पद आवागमन हुन सक्ने दाहालले आशंका व्यक्त गरे ।


गृह मन्त्रालयको निर्देशनपछि काँकडभिट्टा–पानीट्यांकी सीमा नाकामा कडाइ गरिएको र भारतीय नागरिकमाथि थोरै कडाइ गरिएको डीएसपी दाहालले जनाए । ‘पछिल्लो समय भारतको आधार कार्ड देखाएर रोहिंग्या शरणार्थी र बंगलादेशी नागरिक अवैध रूपमा प्रवेश गर्न सुरु गरेको सूचना आएको छ,’ डीएसपीले भने, ‘यही कारण भारतीयमाथि पनि कडाइ गरिएको हो ।’


भदौ ३० गते राजधानीमा पक्राउ परेका १४ रोहिंग्या शरणार्थी काँकडभिट्टा नाकाबाट प्रवेश गरेको खुलासा भएको थियो । प्रहरीले आँखा उपचारका बहानामा पनि रोहिंग्याहरू भित्रन सक्ने भन्दै थप निगरानी सुरु गरेको छ । झापामा दर्जन बढी आँखा अस्पताल छन् । अस्पतालमा धेरैजसो भारतीय बिरामीकै चाप हुन्छ ।


प्रकाशित : कार्तिक १७, २०७८ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?