कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बाढीले पिलर कटान गर्दा सिंघीया खोलाको पुल जोखिममा

देवनारायण साह

मोरङ — विराटनगर र पूर्वी मोरङ जोड्ने सिंघीया खोलाको पुल बाढीले कटान गरिरहँदा जोखिममा परेको छ । अघिल्लो साताको बाढीले विराटनगरको हाटखोला र कटहरी बजार जोड्ने पुलको पिलरको जग कटान गरिदिँदा पुल जोखिममा परेको हो ।

बाढीले पिलर कटान गर्दा सिंघीया खोलाको पुल जोखिममा


पुलका चार पिलरमध्ये पूर्वपट्टिको तीन वटा कटान पिलर भइरहेका छन् । पुलको माथिल्लो भागमा पनि खाल्डैखाल्डो भएर भ्वाङ पर्ने अवस्था हुँदा दुर्घटनाको जोखिम बढेको छ । कटहरी र विराटनगर दुवैतर्फ रहेका उद्योगका लागि कच्चा पदार्थ र उत्पादन बोकेर कन्टेनर, लरीलगायत २२ चक्कासम्मका सयौं ट्रक दैनिक उक्त पुलबाट ओहोर दोहोर भइरहने हुँदा पुल नै भत्किने जोखिम बढेको कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामत बताउँछन् ।

‘सिंघीया खोलाको पुल भत्किए विराटनगर पूर्वका सम्पूर्ण उद्योगका लागि आउने कच्चा पदार्थ ल्याउन र उत्पादन बजार पठाउने कार्य बन्द हुन्छ,’ उनले भने, ‘पुल भत्किए पूर्वी मोरङको सम्पर्क नै विराटनगरसँग विच्छेद हुन्छ । त्यसैले तत्काल कटान रोकथामका साथै पुल मर्मत आवश्यक छ ।’

पिलरको जग कटान भइरहेको सूचना आएपछि मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले प्राविधिक इञ्जिनियरको टोलीसहित मंगलबार निरीक्षण गरेका छन् । ‘तल पुलको जगको वरिपरीको माटो ४ फिटभन्दा बढी कटान भइसकेको छ भने माथि खाल्डो परेर भ्वाङ फुट्ने अवस्था देखियो,’ उनले भने, ‘औद्योगिक क्षेत्र भएकोले पुलबाट हेभी सवारीसाधनहरू रात-दिन चलिरहेको हुँदा जुनसुकै बेला दुर्घटना हुने अवस्था छ ।’

हुलाकी सडक परियोजनाअन्तर्गतको उक्त पुल तत्काल मर्मतका लागि सडक डिभिजन कार्यालय विराटनगरलाई प्रजिअ दाहालले निर्देशन दिएको बताए । उनले पुलको अवस्थाबारे विभाग र सम्बन्धित मन्त्रालयलाईसमेत जानकारी गराएकोले तत्काल मर्मत गरिने प्रतिबद्धता जनाए ।

हुलाकी सडक परियोजना इकाई इटहरीका इञ्जिनियर शिवराम देवले आफूहरुले बुधबार पुलको स्थलगत अवलोकन गरेर तत्काल कटान रोक्ने उपाय लगाउने बताए ।

यस्तै, विराटनगर र कटहरीको महेशपुर जोड्ने सिंघीया खोलाको अर्को पुलमा पनि बाढीले क्षति पुर्‍याएको छ । उक्त पुलको पश्चिमतर्फको पिलरमा बाढीले कटान हुँदा भत्किने जोखिम बढेको प्रजिअ दाहालले बताए ।

यस्तै, विराटनगर १४ स्थित जतुवा र जहदा गाउँपालिका ३ भाथिगछ जोड्ने सिंघीया खोलाको अर्को पुलमा पनि बाढीले क्षति पुर्‍याएको छ । पुलको पश्चिमपट्टिको स्ल्याब बगाएकोले सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा तरकारी खेतीको पकेट क्षेत्र रहेको भाथिगछका किसानले आफ्ना उत्पादन विरानटगर ल्याउन कठिनाइ व्यहोर्दैआएका छन् । वडा कार्यालयको सहयोगमा स्थानीय किसानहरुले मंगलबार माटो हालेर पैदल हिँड्नसक्ने बनाएको जहदा गाउँपालिकाका अध्यक्ष कैलास मण्डलले बताए ।

प्रकाशित : कार्तिक ९, २०७८ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?