सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्सका चार उडान कटौती

आनन्द गौतम

ताप्लेजुङ — नेपाल एयरलाइन्सले  काठमाडौं–ताप्लेजुङ उडानमा कटौती गरेको छ । सातामा चार दिन नियमित र यात्रु भए एक दिन चार्टर गरी पाँच उडान हुँदै आएको सुकेटार विमानस्थलमा नयाँ मन्त्री प्रेम आले आएसँगै उडान कटौती गरिएको हो । नयाँ व्यवस्थाअनुसार सातामा एक दिन बुधबार मात्रै उडान राखिएको छ ।

सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्सका चार उडान कटौती

‘यसअघि सोमबार, बुधबार, शुक्रबार र शनिबार गरी चार उडान थियो,’ निगमका ताप्लेजुङ इन्चार्ज लोकेन्द्र लिम्बूले भने, ‘अब बुधबार एक दिन मात्रै हुन्छ ।’ केन्द्रबाट निर्देशन आएकाले त्यसरी नै टिकट काट्न थालिएको उनले बताए ।

यसअघिको तथ्यांकअनुसार पूर्वमा ताप्लेजुङ र भोजपुर तथा पश्चिममा दाङको उडानमा अधिक यात्रु हुने गरेका थिए । ताप्लेजुङबाट ९५ प्रतिशत यात्रु भरिने गरेको लिम्बूले बताए । ‘म ताप्लेजुङ आएको एक वर्ष भयो,’ उनले भने, ‘हरेक उडान यात्रुले भरिएकै छ ।’

यहाँबाट काठमाडौंसम्मको भाडा प्रतिव्यक्ति ७ हजार ३ सय ७० रुपैयाँ छ । ताप्लेजुङवाट गाडीमा झापाको बिर्तामोड पुग्न कम्तीमा आठ घण्टा र काठमाडौं पुग्न दुई दिन लाग्ने भएकाले उडान कटौती नहुँदा अशक्त र बिरामीलाई सहज भएको थियो । सुकेटार विमानस्थलबाट जहाजमा एक घण्टामै काठमाडौं पुगिन्छ । उडान कटौतीले यात्रुलाई समस्या हुने व्यवसायी सुरेश सिंघक बताउँछन् । प्रदेश राजधानी विराटनगर–ताप्लेजुङ उडानको समेत माग भइरहेका बेला भएकै उडान कटौती गर्न नहुने स्थानीयको भनाइ छ ।

नेपाल एयरलाइन्सबाहेक ताप्लेजुङमा सीता एयरले पनि बेलाबेला उडान गर्ने गरेको छ ।

प्रकाशित : कार्तिक ८, २०७८ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?