पाँचथर पहिरो : ज्यान गुमाउनेको संख्या २८ पुग्यो - प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँचथर पहिरो : ज्यान गुमाउनेको संख्या २८ पुग्यो 

लक्ष्मी गौतम

पाँचथर — पाँचथर जिल्लाका विभिन्न स्थानमा पहिरो र बाढीमा परेर परी ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।

बिहीबार साँझ जिल्लाको मिक्लाजुङ गाउँपालिकामा थप एक जनाको शव भेटिएसँगै मृतकको संख्या २८ पुगेको हो । सोमबार रातिदेखि मंगलबार बिहानसम्म जिल्लाको मिक्लाजुङ, फाल्गुनन्द र कुम्मायक गाउँपालिकाका विभिन्न स्थानमा गएको बाढीपहिरोमा परी ज्यान गुमाएका २७ जनाको सनाखत बिहीबार नै भएको थियो ।

मिक्लाजुङ गाउँपालिकामा ४ र फिदिम नगरपालिकामा २ गरी ६ जना अझै बेपत्ता छन् । उनीहरुको प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार घाइतेको संख्या ९ पुगेको छ । घाइतेमध्ये ४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि धरान पठाइएको छ भने बाँकी ५ जनाको स्थानीय अस्पतालमा उपचार हुँदैछ ।

प्रकाशित : कार्तिक ५, २०७८ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्

कीर्तिपुरको इतिहास जोगाऔं

सम्पादकीय

शुक्रसागर श्रेष्ठकृत पुस्तक ‘कीर्तिपुरको सांस्कृतिक, पुरातात्त्विक इतिहास’ बोल्छ— कीर्तिपुरमा लायकु दरबार पाटनका राजा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लको पालामा बनेको थियो; बाबुसित मनमुटाव भएपछि कीर्तिपुरमा अलग्गै राज्य बनाएर बस्दा श्रीनिवासले लायकु र तलेजु मन्दिर बनाएका थिए ।

गोपाल राजवंशावलीअनुसार चारतले पञ्चपुरसहितको उक्त श्रीराजगृह राम्ररी जग हाली बनाइएको थियो  । साढे तीन सय वर्ष पुरानो सो दरबार अहिले छैन; कहिले ढल्यो, यकिन पनि छैन । प्राकृतिक कारण, कालक्रम आदिले दरबार, तलेजु मन्दिर तथा अन्य संरचना नाश भएको हुन सक्ने जानकारहरूको मत छ । तत्कालीन ब्रिटिस रेजिडेन्सीका चिकित्सक हेनरी एम्ब्रोस ओल्डफिल्डले सन् १८५५ ताका बनाएको स्केचमा कीर्तिपुर दरबारको भग्नावशेष देखिन्छ । केही दशकअघिसम्म पनि दरबारको भग्नावशेषलाई पर्खालले घेरिएको थियो । पुरातत्त्वको अध्ययनअनुसार अहिले पनि दरबारका अवशेषहरू जमिनभित्र लुप्त भएका हुन सक्छन्, यसबारे जान्न उत्खनन गर्नुपर्ने हुन्छ । उत्खनन र थप प्रमाणहरूको खोजबिन गरी कीर्तिपुरको यस ऐतिहासिक साक्षी–सम्पदालाई फेरि पुरानै स्वरूपमा बनाउन सकिन्छ, बनाउनु पनि पर्ने हो । तर विडम्बना भन्नुपर्छ– सहरको ऐतिहासिक सानलाई पुनर्जीवित गर्ने सोच स्वयं स्थानीय सरकारमा छैन ।

कीर्तिपुर नगरपालिकाले त ऐतिहासिक लायकु दरबार अर्थात् राजदरबारको भग्नावशेष भएको ठाउँमा वडा कार्यालय भवन बनाउन थालेको छ, यसका लागि टेन्डर नै आह्वान गरिसकेको छ । धन्न, सम्पदाप्रति चेतनशील स्थानीय बासिन्दाहरू पालिका–कदमको विरोधमा उत्रिएका छन् । प्राचीन रूपमै लायकु दरबार बनाउनुपर्ने आवाज बुलन्द बनाएका छन्, जुन सरासर जायज छ । नगरपालिकाले उनीहरूको मागको सुनुवाइ गर्नुपर्छ । नगरको ऐतिहासिकता यथावत् राख्न र संवर्द्धन गर्न आफैं अग्रसर हुनुपर्ने पालिका स्थानीयको आवाज सुनेर झकझकिनुपर्छ । र, दरबार क्षेत्र नमासीकनै पुनः प्राचीन रूपमै लायकु दरबार बनाउने दिशामा अघि बढ्नुपर्छ । बरु यस कार्यमा सहयोगका लागि पालिकाले संघ–प्रदेश सरकार र पुरातत्त्व विभागलगायतलाई अनुरोध गर्नुपर्छ । उक्त दरबारको भग्नावशेष कीर्तिपुरविशेषको मात्र होइन, राष्ट्रकै निम्ति चासोको विषय बन्नुपर्छ, त्यसैले यसको संरक्षण गर्न संघ र प्रदेश सरकारलगायतका सम्बद्ध निकायले आफैं पनि अग्रसक्रियता देखाउनुपर्छ ।

लायकु क्षेत्रमा लायकु डबलीसँगै आगम गुठी घर, सत्तललगायत संरचना छन् । वडा कार्यालय प्राचीन सत्तलमा छ, त्यही ठाउँमै नयाँ भवन बनाउन लागिएको हो । नगरपालिका कार्यालयले गत साउन २२ मा ‘लायकु’ निर्माण गर्ने भनेर टेन्डर आह्वान गरेको थियो । तर ऐतिहासिक दरबार रहेको ठाउँको साटो तलेजु भवानीको पूजा गरिँदै आएको क्षेत्रलाई क्षति पुग्ने गरी संरचना बनाउन लागेको भन्दै स्थानीय बासिन्दा विरोधमा उत्रिए । त्यसपछि पालिकाले त्यसलाई सच्याउँदै साउन २८ मा वडा नं. १ को कार्यालय भवन निर्माणको टेन्डर आह्वानसम्बन्धी सूचना निकाल्यो । पछिल्लो सूचनापछि त स्थानीय झन् आक्रोशित छन् । पालिकाले भने वडा कार्यालय भवन दरबार रहेको ठाउँमा नभई पानी ट्यांकी भएको स्थानमा बनाउन लागिएको जनाएको छ । वडा कार्यालय भवन दरबारकै शैलीमा बनाउन लागिएको उसको भनाइ छ । यो कदममा वास्तविक दरबार नबनाउने नियत लुकेको स्थानीय बासिन्दाको विश्लेषण छ । वडा कार्यालय बनाउने खर्चले दरबार नै बनाउन पुग्ने उनीहरूको दाबी छ ।

वडाको व्यवस्थापकीय र प्रशासकीय कार्य सञ्चालनका निम्ति गतिलो कार्यालय अवश्य चाहिन्छ । यस्तो कार्यालय पालिकाले सहरको ऐतिहासिक पहिचान झल्कने गरी बनाउनु पनि उचित नै कुरा हो । खालि यत्ति हो— यस क्रममा पुरानो राजदरबारको भग्नावशेषमा खलल पुग्नु हुन्न, उक्त स्थान अतिक्रमित हुनु हुन्न । र, यसमा दरबार नबनाउने नियत पनि लुकेको हुनु हुन्न । तसर्थ, लायकु क्षेत्र ऐतिहासिक, पुरातात्त्विक, सामाजिक र सांस्कृतिक रूपले महत्त्वपूर्ण रहेकाले चार किल्ला सुरक्षित गरी संरक्षण गर्नुपर्ने र मल्लकालीन दरबारको भग्नावशेष भएको ठाउँमा प्राचीन रूपमै दरबार बनाउनुपर्ने स्थानीयवासीको मागप्रति नगर नेतृत्व संवेदनशील र सकारात्मक बन्नुपर्छ । नगरपालिकाले ऐतिहासिक दरबारलाई ब्युँताउने विश्वसनीय प्रतिबद्धता जनाई त्यसअनुरूप आवश्यक योजना अघि सार्नुपर्छ । आज दरबार नभए पनि भग्नावशेष त अवश्य छ, विभागको अध्ययनले पनि यही ठम्याएको छ । यसको संवर्द्धन गरेर भोलिका सन्ततिका लागि इतिहास सुरक्षित राख्नु सबैको दायित्व हो, यसको बोध सर्वप्रथम नगर नेतृत्वले गर्नुपर्छ । सम्बद्ध सबैलाई हेक्का हुनुपर्छ— इतिहासै मासिए आफ्नो विगत कहाँ हेर्छौं हामी ?

प्रकाशित : कार्तिक ५, २०७८ ०६:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×