बाढीपहिरो : इलाममा मृतकको संख्या १४ पुग्यो

विप्लव भट्टराई

इलाम — सोमबार साँझदेखिको अविरल वर्षाका कारण निम्तिएको बाढीपहिरोमा परी इलाममा थप एक जनाको मृत्यु भएको छ । माङ्सेबुङ–६ मा पहिरोमा पुरिएकी ५३ वर्षीया हरिमाया राईको शव बिहीबार फेला परेसँगै जिल्लामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १४ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाढीपहिरो : इलाममा मृतकको संख्या १४ पुग्यो

यसअघि उक्त स्थानबाट हरिप्रसाद राई र कविता राईको शव निकालिएको थियो भने ३ जनालाई सकुशल उद्धार गरिएको थियो । तीमध्ये गम्भीर घाइते भक्तकुमारी राई र जनम राईलाई उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत धरानको घोपा क्याम्पमा उपचारका लागि लगिएको छ । रनश्वरी राई अझै बेपत्ता छिन् ।

इलाम नगरपालिका–२ घर भएका ठाकुर याक्खा र माङ्सेबुङ–२ का सुमन राई, स्थानीय विद्यालयका प्रधानाध्यापक विष्णु लावती पनि बेपत्ता छन् । माङ्सेबुङको पञ्चमीस्थित बाँझो स्वास्थ्यचौकीमा कार्यरत राई र याक्खा सोमबार साँझ पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ कुरुम्बामा पहिरोले घाइते बनाएकाहरूको उपचारमा गएको अवस्थामा बेपत्ता भएको स्थानीयले बताएका छन् । ‘बेपत्ताहरूको खोजीका लागि दुवै जिल्लाबाट प्रयास भइरहेको छ,’ इलाम प्रहरीका एसपी महेन्द्रकुमार श्रेष्ठले भने ।

यसअघि फाकफोकथुम गाउँपालिकामा एकै परिवारका ४ सहित ६ जना, सूर्योदय नगरपालिकामा ३ जनाको पहिरोमा पुरिएर ज्यान गएको थियो । त्यस्तै, देउमाई नगरपालिकामा १ जनालाई खोलाले बगाएर तथा माई नगरपालिकामा हुरीले रूखको हाँगा खस्दा थप एकको ज्यान गएको थियो ।


प्रकाशित : कार्तिक ४, २०७८ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?