इलाममा पहिरोबाट मृत्यु हुनेको संख्या १३ पुग्यो, सबैको सनाखत

सख्त घाइते ३ जनालाई हेलिकप्टरमार्फत घोपा लगिँदै
मेची राजमार्ग अझै खुलेन
विप्लव भट्टराईं

इलाम — लगातारको वर्षापछिको पहिरोका कारण इलाममा मृत्यु हुनेको संख्या १३ पुगेको छ । जिल्लाको फाकफोकथुम गाउँपालिकामा एकै परिवारका ४ सहित ६ जनाको पहिरोले पुरिँदा ज्यान गएको छ । प्रहरीका अनुसार फाकफोकथुम ३ आम्चोकको सल्लेरीमा घरमाथिको ढिस्को खस्दा ८६ वर्षीय नैनसिंह कटुवाल, ७५ वर्षीया रनदत्ता थापा, १५ वर्षीया निशाना कटुवाल र १३ वर्षीय निश्चत कटुवालको ज्यान गएको हो ।

‘घरको भूइँतलामा सुतेका उनीहरुलाई पहिरोले पुर्दा ज्यान गएको थियो । माथिल्लो तलामा सुतेका समीक्षा र गोमा कटुवाल भने बच्न सफल भएका छन् । ‘पहिरोले घरलाई धक्का दिँदा माथिल्लो तलामा सुतेका २ जनालाई उछिट्याएर बाहिर फाल्दा बाँच्न सफल भएका हुन्,’ स्थानीय उद्धव लामिछानेले भने ।

माङसेवुङ गाउँपालिका ६ को पञ्चमी बजार नजिक पहिरोमा पुरिएकामध्ये २ जनाको शव निकालिएको छ । घरमै पहिरो झर्दा ५५ वर्षीय हरिप्रसाद राई र २७ वर्षीय कमला राईसहित ५ जना पुरिएका थिए । २ को शव भेटिएको र अन्य ३ जना सख्त घाइते अवस्थामा उद्धार गरिएको साहयक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले जानकारी दिए । घाइते भक्तकुमार राई, जनम राई र चन्द्र लिम्बुलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत धरानको घोपा लाने तयारी भइरहेको उनले जानकारी दिए । प्रहरी र स्थानीयवासीको सक्रियतामा सबै शव पहिरोबाट निकालिएको छ ।

यस्तै फाकफोक गाउँपालिकाकै १ नम्बर वडा ठिङ्गेपुरमा पहिरोले पुर्दा २ जनाको मृत्यु भएको छ । मंगलबार साँझ साडे ७ बजेतिर नरबहादुर शेर्माको भान्सामा रहेका ४ जनालाई पहिरोले पुरेको थियो । स्थानीयले तत्काल उद्धार गरेर २ जनालाई बचाए पनि ३० वर्षीया विना शेर्मा लावती र १४ वर्षीय आइतबार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ४० वर्षीय नरबहादुर र १८ वर्षीय खगेन्द्र शेर्मा सकुशल छन् ।

सूर्योदय नगरपालिका ३ जिलमा घरमा पहिरो खस्दा ३८ वर्षीया विष्णुमाया तामाङ र १७ वर्षीय विशाल तामाङको ज्यान गएको छ । सूर्योदय नगरपालिका ३ मेहेलबोटेमा राति गएको पहिरोले सुतेकै अवस्थामा ४९ वर्षीया नारायणीदेवी मोतेको मृत्यु भएको छ । अन्य ३ जनाको सकुशल उद्धार गरिएको छ ।

यस्तै देउमाई नगरपालिका २ बस्ने ४५ वर्षीय सरिता आचार्यलाई लुटिया खोलाले बगाउँदा ज्यान गएको छ । सोमबार साँझ ८ बजेदेखि आएको निरोधार झरीका कारण दर्जन बढी घर विस्थापित भएका छन् । थुप्रै पशु बगाएको र पुरिएको प्रहरीले जनाएको छ ।

मेची राजमार्ग अझै खुलेन

मेची राजमार्गअन्तर्गत इलामको देउमाई नगरपालिका १ स्थित देउमीखोपमा झरेका पहिरोका कारण अझै पनि यातायातका साधान चल्‍न सकेका छैनन् । करिब ५० मिटर क्षेत्रमा झरेको पहिरोका कारण पाँचथर ताप्लेजुङतर्फ जाने र त्यताबाट इलाम झापातर्फ झर्ने सवारी साधन रोकिएका हुन् । राजमार्ग खुलाउने प्रयास निरन्तर रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । वर्षाका कारण फिक्कल, इलाम नगरपालिकालगायत क्षेत्रमा झरेको पहिरो हटाइसकिएको छ ।

इलामबाट झापातर्फका सवारी साधन भने दिउँसोदेखि सञ्चालनमा छन् । अधिकांश ग्रामीण सडकमा क्षति पुगेको छ । अविरल वर्षाका कारण आएको बाढीले फाकफोकथुम र देउमाई नगरपालिका बीचमा रहेको देउमाई खोलाको पुल मंगलबार राति बगाएको थियो ।

प्रकाशित : कार्तिक ३, २०७८ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्

उद्धार, राहत र पुन:स्थापनामा तीव्रता दिन मानव अधिकार आयोगको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले बाढी पहिरोबाट प्रभावितहरुको उद्धार, राहत, पुन:स्थापना र मनोसामाजिक परामर्शमा तीव्रता दिन आग्रह गरेको छ ।

आयोगले बुधबार विज्ञप्ति जारी गर्दै ३ दिनदेखि अविरल वर्षाका कारण देशभरका बाढी पहिरो प्रभावितहरुको उद्धार, राहत, पुन:स्थापना र मनोसामाजिक परामर्शमा ध्यान दिन सरकारलाई आग्रह गरेको हो ।

आयोगले मानव अधिकारका अन्तर्राष्ट्रिय मापदण्डहरुले निर्दिष्ट गरेअनुरुप व्यक्तिको जीऊधनको सुरक्षा, आधारभूत आवश्यकता परिपूर्ति लगायत विपद्को अवस्थामा आवश्यक अन्य मानव अधिकारको सुनिश्चितता गर्ने कार्यमा सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ ।

‘प्राकृतिक विपद्बाट हुन जाने थप जोखिमको न्यूनीकरण गर्न, विपद् प्रभावितहरुको खोज, उद्धार, उपचार, मनोसामाजिक परामर्श र पुनर्स्थापनामा सरोकारवालासँग समन्वय र सहकार्य गरी नागरिकको जीऊधनको रक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ,’ आयोगका प्रवक्ता टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आयोगले आफ्नो अनुगमनबाट बाढी पहिरोका कारण विभिन्न जिल्लामा मानवीय तथा भौतिक क्षति पुगेको, धानबालीलगायत कृषिजन्य उत्पादन र पशुपंछी नष्ट भएको र तराईका विभिन्न स्थानमा घरहरु डुबानमा परेको, सुदूरपश्चिमका अधिकांश जिल्लामा यातायात, टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको जनाएको छ ।

प्रकाशित : कार्तिक ३, २०७८ १५:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×