हावाहुरी र पानीले पाक्नै लागेको धानबालीमा क्षति- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हावाहुरी र पानीले पाक्नै लागेको धानबालीमा क्षति

विनोद भण्डारीे

विराटनगर — प्रदेश १ मा सोमबारदेखि चलेको हावाहुरी र अविरल वर्षाले पाक्नै लागेको धानबालीमा क्षति पुर्‍याएको प्रदेश कृषि मन्त्रालयले जनाएको छ । 


हावाहुरीले पाक्न लागको धान ढालेको र त्यसमाथि अविरल पानी परेर डुबानमा परेकाले धानबालीमा धेरै नै क्षतिको अनुमान गरिएको मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले बताए । उनका अनुसार फूल खेल्दै गरेको धान हावाले लडाउँदा सबैभन्दा बढी क्षति पुगेको छ । त्यस्तो धानको नलमा फल लाग्ने सम्भावना न्यून हुन्छ ।


उप्रेतीका अनुसार क्षतिको वास्तविक विवरण आइपुगेको छैन । प्रदेश १ को अन्नको भण्डारले चिनिएका मोरङ, सुनसरी र झापाको अधिकांश धान हावाहुरीले ढलाउँदा पानीमा डुबेको छ । उप्रेतीका अनुसार फूल खेल्दै गरेको धान लडेर पानीमा डुब्दा दाना लाग्ने सम्भावना हुँदैन ।


उनका अनुसार प्रदेश १ मा धान कटानी सुरु भएको छैन । नकाटिएको धान हावाहुरीले लडाएर एक फिटसम्म पानीले डुबाएको छ ।


मोरङमा यसपालि ८३ हजार ३ सय हेक्टर, सुनसरीमा ५५ हजार र झापामा ८७ हजार ५ सय हेक्टरमा बर्खे धान रोपाईं भएको प्रदेश कृषि निर्देशनालय प्रमुख प्रकाश डाँगीले बताए ।


प्रदेश १ मा यसपालि ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा धान खेती भएको छ । त्यसबाट करिब १४ लाख टन धान उत्पादन हुने निर्देशनालयको आकलन थियो । डाँगीले भने, 'यो हावाहुरी र अविरल वर्षाले उत्पादन ह्वात्तै घट्ने स्थिति छ ।' गत वर्ष १३ लाख टन धान उत्पादन भएको थियो ।


यो प्रदेशको ताप्लेजुङमा ८ हजार ७ सय ३७, संखुवासभामा १३ हजार ८ सय ५१, सोलुखुम्बुमा १ हजार ५ सय २५, पाँचथरमा ९ हजार २ सय, इलाममा १४ हजार ८ सय १५, भोजपुरमा १८ हजार, तेह्रथुममा १० हजार १ सय ७५, धनकुटामा ७ हजार ९ सय ५०, उदयपुरमा १३ हजार ३ सय, ओखलढुङ्गामा ४ हजार ४ सय र खोटाङमा १२ हजार ८ सय ९३ हेक्टरमा बर्खे धान रोपाइँ भएको निर्देशनालयको तथ्यांक छ ।

प्रकाशित : कार्तिक २, २०७८ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्

महाकालीको टापुमा फसेका ५ जनाको अझै भएन उद्धार

बाढीले कञ्चनपुरमा २ सयभन्दा बढी घर डुबानमा
भवानी भट्ट

कञ्चनपुर — आइतबारदेखिको अविरल वर्षापछि महाकालीमा आएको बाढीका कारण बीच भागमा फसेका मसेट्टीका ५ जनाको अझै उद्धार हुन सकेको छैन । नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्ने भने पनि प्रतिकुल मौसमका कारण सम्भव नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नदीमा पानीको बहाव बढ्दै गएपछि टापुमा फसेकाहरुलाई झनै जोखिम बढ्दै गएको छ । उनीहरु सोमबार रातिदेखि टापुमा फसेका हुन् ।

महाकालीमा पानीको बहाव बढेपछि वनबासा पुलमा आवागमन ठप्प गरिएको छ । सोमबार साँझ चारपांग्रे सवारी साधन आवागमनमा मात्रै रोक लगाइएको थियो । मंगलबार बिहानैदेखि पानीको बहाव उच्च भएका कारण पैदल यात्रुलाई समेत आउजाउमा रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार महाकालीमा मंगलबार पानीको बहाव ५ लाख ४ हजार क्युसेक पुगेको छ । नदीले पहुँच मार्ग कटान निरन्तर गरिरहेको छ । ६ लेनको सडकमध्ये सय मिटरसमम तीन लेन सडक कटान गरिसकेको छ ।

यसैगरी महाकाली नदीको बाढी भुजेला खोला हुँदै बस्तीमा पसेपछि नदी किनारका भीमदत्त नगरपालिका ११, १२ र १३ का सयौं घरहरु डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–९ खल्ल मसेट्टीमा पनि बाढी बस्तीमा पस्दा दर्जनौं घरहरु डुबानमा परेका छन् ।

‘खल्ला मसेट्टीदेखि दोधारा चाँदनीसम्म दुई सय बढी घर डुबानमा परेका छन्,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेले भने, ‘सबैलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।’

महाकाली नदीमा आएको बाढीले निर्माणाधीन चार लेनको पक्की पुलको पहुँच (भाइरल रोड) मार्गमा क्षति पुर्‍याएको छ । भीमदत्त नगरपालिका १२ मा पर्ने करिब सय मिटर जति पहुँच मार्ग नदीले कटान गरेको छ ।

प्रकाशित : कार्तिक २, २०७८ १३:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×