२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

कालो टीका निधारमा  !

पर्वत पोर्तेल

काँकडभिट्टा — विजया दशमीको दिन शुक्रवार धेरैको निधार रातो अक्षतासहितको टीकाले भरियो । तर, मेचीनगर ५ का आदिवासी युवा दिलिप धिमालले अक्षताको टीका लाएनन् । उनको चौडा निधारको मध्यभागमा कालो (मोसो) गोलो टीका देखियो । ‘यो टीका हाम्रा पूर्वजहरूको पतनको सम्झनाको टीका हो’, उनी भन्दै थिए,‘हाम्रा पीतापूर्खामाथि भएको दमन विरुद्धको टीका हो ।’ 

कालो टीका निधारमा  !

मंगोल नेसनल अर्गनाइजेसनका युवा नेता धिमाल जस्तो धेरै अहिन्दु, मंगोल मुलवासीहरू वर्षेनी दसैंमा कालो टीका लगाएर विजया दशमी र दसैंप्रतिको आफ्नो फरक मत राख्दै आएका छन् । उनले दसैंप्रति विमती राख्न थालेको दशक नाघिसक्यो । ‘जव म संगठित भएँ, त्यसपछि दसैंप्रतिको वुझाइ क्रमश: फेरिदै गयो’, धिमालले थपे,‘हाम्रा पूर्खाको रगतमा मुछिएको टीका लगाएर हामी पूर्खाप्रति नै अन्याय गर्दैरहेछौ ।’

विजयी दशमीलाई खस/आर्य समुदायले निधारभरी रातो टीका लगाएर उत्सबको रुपमा मनाउँछन् । केही जनजाति समुदायले सेतो टीका लगाएर उत्सव मनाइरहँदा आफूलाई मूलबासी मंगोल भन्ने जनजाति, दलित र उत्पीडित समुदायको एउटा हिस्साले भने मोसोको टीका लगाएर दसैंको विरोध जनाउँदै आएको छ ।

करिव ६० जिल्लामा आफ्नो प्रभाव रहेको दावी गर्ने मंगोल नेसनल अर्गनाइजेसन नामको एक राजनीतिक दलले वर्षेनी विजयी दशमीको टीका वहिष्कार गर्दै आएको छ । धिमालजस्ता धेरै नेता कार्यकर्ता विजय दशमीलाई उत्सवको रुपमा हैन, शोक सभाको रुपमा मनाउँछन् । शुक्रवार झापाको मेचीनगर, भद्रपुरको श्रीजंगा हाटवजार, इलामको फिक्कल र सन्दकपुर लगायतका विभिन्न ठाउँमा खुला सभा आयोजना गरेर टीका वहिष्कारसहित शोक सभा गरिएको संगठनकी जिल्ला सचिव बानिरा मेचेले जनाइन् ।

सन् १५५९ मा गोर्खाको लिगलिगकोटमा घले राजाको विजय दशमीकै दिन हत्या भएको दिनलाई मुलबासी मंगोलहरुले कालो दिनका रुपमा मनाउँनुका साथै विरोधमा कालै टीका लगाउने चलन रहेको मंगोल नेसनल अर्गनाइजेसनका मुल सचिव सन्तोष तामाङले जनाए ।

तामाङकाअनुसार हिन्दु धर्म र जात व्यवस्थाले जवजस्ती दशै लादिएको र कतिपय अहिन्दुहरु पनि दसैं स्वीकार्न वाध्य पारिएको हो । ‘विजयी दशमीलाई स्वीकारेर रातो टीका लगाउनु भनेको संस्कृति र इतिहास नामेट पार्न तल्लीन हुनु हो’, मेचीनगर ७को खुला सभालाई सम्वोधन गर्दै तामाङले भने ।

प्रकाशित : आश्विन २९, २०७८ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?