२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

ताप्लेजुङमा जिप दुर्घटना, १० घाइते

आनन्द गौतम

ताप्लेजुङ — सदरमुकाम फुङलिङबाट सिरिजंगा गाउँपालिका ४ तेल्लोक जाँदै गरेको मे १ ज २०५६ नम्बरको बलेरो जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

तीमध्ये ७ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङले सुविधा सम्पन्न अस्पतालमा लैजान रेफर गरेको छ । फुङलिङ नरपालिका ४ का ३८ वर्षीय चन्द्र बस्नेतको अवस्था गम्भीर रहेको जिल्ला अस्पतालले जनाएको छ ।

फुङलिङ नगरपालिका ७ दोखु ल्याङवाको पुछार ट्रनिङमा जिप सडकबाट तल झरेको हो । प्रारम्भिक अनुसन्धान अनुसार ब्रेक फेल भएर झरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ‘जिपमा १८ जना यात्रु थिए,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवत्ता प्रहरी निरीक्षक राकेश यादवले भने, ‘सबै १८ जना नै घाइते भए, उनीहरुलाई कुनै न कुनै घाउ चोटपटक लागेको छ, तीमध्ये १० जनाचाही अलिक गम्भीर घाइते छन् ।’

८ जना सामान्य उपचारपछि फर्किएको यादवले जानकारी दिए । यादवका अनुसार जिपमा फुङलिङ नगरपालिका ४ का चन्द्र, ३१ वर्षीया नमुना बस्नेत, १३ वर्षीय रिपब्लिक बस्नेत, ७ वर्षीय रोमन बस्नेत सवार थिए । यही वडामा बस्दैआएका ६७ वर्षीय अत उल्लाह, ३८ वर्षीय सजाद अली र १७ वर्षीय अब्दुल करी पनि जिपमा सवार थिए ।

सिरिजंगा गाउँपालिका ६ का २६ वर्षीया प्रमिला लिम्बू उनका ५ वर्षीय छोरा ससिहाङ मावो र २ वर्षीय फुङसामा मावो सवार थिए । यही वडाका २५ वर्षीया विमला लिम्बू, उनका ४ वर्षका छोरा रिजन लिम्बू, सिरिरजंगा ८ का ३० वर्षीय सन्त मावो लिम्बू, ३८ वर्षीय पदम लिम्बू, २३ वर्षीय राजकुमार दर्जी र मिक्वाखोला गाउँपालिका ३ का डेबिड लिम्बू जिपमा सवार थिए ।

जिप चालक फुङलिङ नगरपालिका ८ का ३८ वर्षीय डिल्ली बिक्रम सुनुवार र जिप मालिक सिरिजंगा गाउँपालिकाका सञ्जिव मावो पनि घाइते भएको यादवले जानकारी दिए । जिप सडक नजिकै रुखमा अल्झिएका कारण ठूलो दुर्घटनाबाट बचेको स्थानीयहरुले बताएका छन् । ल्याङवा क्षेत्रमा यसअघि पनि पटक/पटक सवारी दुर्घटना भएको थियो ।

प्रकाशित : आश्विन २८, २०७८ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?