कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

धम्क्याउँदै रकम असुल्ने समूह सक्रिय

जितेन्द्र साह

विराटनगर — स्थानीय व्यवसायीलाई धम्क्याएर रकम असुल्ने दुई जनालाई मोरङ प्रहरीले विराटनगर–१० स्थित बसपार्कबाट १८ असोज बेलुकी पक्राउ गर्‍यो । रकम माग्न प्रयोग भएको दुई मोबाइल र १० हजार रुपैयाँ पनि बरामद भयो । त्रास देखाइलगातार रकम उठाइरहेका उनीहरूबाट आजित भएपछि केही व्यवसायीले प्रहरीलाई गुहारेका हुन् । आपराधिक लाभ लिएको कसुरमा म्याद थप भई उनीहरूविरुद्ध प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । 

धम्क्याउँदै रकम असुल्ने समूह सक्रिय

हरेक वर्षझैं यसपालि चाडबाडमा बजारमा भीड बढिरहेको बेला यस्ता गिरोह पनि सक्रिय छन् । उक्त घटनाको चार दिनपछि २२ असोज बिहान ११ बजेतिर विराटनगर–७ स्थित वडा प्रहरी कार्यालय नजिकैको एक गार्मेन्ट पसलमा पेस्तोलसहित तीनजना प्रवेश गरे । उनीहरूले पसलको काउन्टरमा उपलब्ध ११ हजार रुपैयाँ नगद तथा साहु र कर्मचारीका ४ थान मोबाइल लुटे । सोचे जति रकम पसलमा फेला नपरेपछि लुटेरामध्ये एक आक्रोशित भएर पेस्तोलको पछाडि पट्टिको भागले टाउकोमा प्रहार गरी पसल सञ्चालकलाई घाइते बनाए । मोटरसाइकलमा आएका ती लुटेराको प्रहरीले खोजी गरिरहेको छ ।

प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसीले लुटमा संलग्नलाई पक्राउ गर्न र यथार्थ पत्ता लगाउन विशेष टोली खटाइएको बताए । औद्योगिक एवं व्यावसायिक नगरी विराटनगरमा असुली र लुटसम्बन्धी यस्ता घटनाहरू पहिलो पटक भएको होइन । एक वर्षअघि भएको असुलीको घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । जसमध्ये दुई जना तत्कालीन नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूसँग आबद्ध थिए ।

आर्थिक रूपले चाँडै स्थापित भएर समाजमा प्रभाव कायम गर्न उनीहरू असुलीको धन्दामा लागेको प्रहरी अनुसन्धानमा खुलेको थियो । प्रहरीले उनीहरूबाट स्वचालित पेस्तोल र तीन गोलीसमेत बरामद गरेको थियो । दुई व्यापारीसँग ५/५ लाख रुपैयाँ माग गरेकोमा एकले दिए पनि अर्काले प्रहरीलाई सम्पर्क गरेपछि उनीहरू पक्राउ परेका थिए ।

उक्त अपराधको रहस्य खुल्नु अगाडिसम्म ती विद्यार्थी नेताहरू उच्च पदस्थ प्रहरी एवं नेताहरूको कार्यक्रममा सहभागी हुन्थे । प्रदेशका मुख्यमन्त्री, मन्त्री, सभासद, सांसद र वरिष्ठ नेतासँग उनीहरूले तस्बिर खिचाएर सामाजिक सञ्जालमा राख्थे । अपराध कर्मलाई ढाकछोप गर्न उनीहरू राजनीतिक एवं सामाजिक गतिविधिको आड लिएको प्रहरीको भनाइ छ । ‘लुटको नयाँ घटनामा पनि पेस्तोल प्रयोग भएको छ, यो कटुवा हुनुपर्छ, गत वर्ष र यो वर्षको घटनालाई पनि दाँजेर अनुसन्धान गर्दैछौं,’ डीआईजी बीसीले भने । तर जानकारका अनुसार सार्वजनिक भएका अपराधभन्दा यथार्थ फरक छ । फाटफुट एक/दुई घटना बाहिर आएर दुई चार जना पक्राउ परि हाले पनि यस्ता गिरोहरू वर्षभर सक्रिय हुन्छन् ।

चन्दा, सहयोग र सामाजिक कार्यक्रमको नाममा वर्षभरि विभिन्न समूहले रकम असुल्ने गरेको एक व्यवसायीले बताए । उनको अनुसार चाडबाड र चुनावका बेला यो बढ्छ । ‘चाडबाडमै बढी व्यापार हुन्छ, व्यापारीलाई यतिखेर चटारो हुन्छ, अनावश्यक झमेला र विवादमा परेर तनाव लिनुभन्दा रकम दिनु नै उचित ठान्छन्,’ उनले भने । भन्सार एवं कर छल्ने, चर्को मूल्य राख्ने र कमसल सामग्री बेच्ने व्यापारीहरूको बारेमा पत्ता लगाएर समेत आपराधिक समूहले रकम असुल्ने गरेको एक जानकारले बताए । उनले भने, ‘आफ्नै पोल खुल्ने डरले अवैध कारोबार गर्ने व्यापारी रकम असुल्नेविरुद्ध प्रहरीमा उजुरी दिँदैनन्, यसले अपराधीको मनोबल बढ्दै जान्छ ।’ सामाजिक कार्यक्रम र सहयोगको नाउँमा रकम उठाउँदै हिँड्न पल्केपछि असुली अपराधमा लाग्ने गरेको एक प्रहरी अधिकृतले बताए ।

प्रकाशित : आश्विन २५, २०७८ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?