२० रुपैयाँको नास्पाती डेढ महिनापछि १००

शीतभण्डारको परीक्षण सफल भएपछि किसानलाई दिलायो राहत
प्रदीप मेन्याङ्बो

सुनसरी — उत्पादन हुने सिजन सकिएको दुई महिनापछि पनि यसपालि पूर्वका फलफूल तरकारी बजारमा नास्पाती बिक्री भइरहेका छन् । त्यो पनि थोक मूल्यमा ७० रुपैयाँदेखि ८० रुपैयाँ केजीको भाउमा । धरानको कृषि उपज बजारमा स्थापना गरिएको शीतभण्डारमा स्टोर गरेर राखेको अर्गानिक नास्पाती नै पूर्वका फलफूल बजारमा पुगेका छन् ।

२० रुपैयाँको नास्पाती डेढ महिनापछि १००

धनकुटा र सुनसरीको सिमानामा पर्ने सांगुरीगढी गाउँपालिकाको नाम्जे गाउँमा उत्पादित नास्पाती संभवत पहिलोपटक शीतभण्डारमा राखिएको हो । दशैं, तिहार, छठजस्ता ठूला चाडबाडलाई लक्षित गरेर डेढ महिना अघि राखिएको थियो । नाम्जेका माली मगर र उनका भाई शम्भू मगरको बारीमा उत्पादन भएको नास्पाती कृषि उपज बजार व्यबस्थापन समितिका अध्यक्ष पर्शुराम कट्वालले शीतभण्डारमा राखेका थिए ।

दशैंको पहिलो दिन घट्स्थापनादेखि शीतभण्डारमा राखिएको नास्पातीलाई बजारमा निकालिएको अध्यक्ष कट्वालले बताए । उनले भने, ‘नास्पातीको सिजन करिव दुई महिनाअघि भदौमा सकिएको थियो । तर अरु फलफूल जस्तै नास्पातीलाई पनि शीतभण्डारमा केही महिना राखेर चाडमा विक्रि वितरण गर्न सकिन्छ भनेर प्रयास गरिएको थियो । सफल भइयो ।’ नास्पातीलाई शीतभण्डारमा राखेर डेढ दुई महिना पछि बजारमा पुर्‍याउने अभ्यास धरानबाटै सुरु गरेको उनले दाबी गरे । शीतभण्डारमा राख्नका लागि कति तापक्रममा, कसरी राख्ने भन्ने पूर्व ज्ञान नभए पनि कतै राम्रो नतिजा नआउला कि भनेर पहिलो पटक एक हजार किलो मात्र राखिएको थियो ।

शीतभण्डारमा नास्पाती राखेको बेला प्रतिकिलो १५ देखि २० रुपैयाँमात्र थियो । उनले भने, ‘अहिले खुद्रा मुल्य एक सय रुपैयाँ किलो कटेको छ । प्रतिकिलो २० रुपैयाँको नास्पाती शीतभण्डारमा डेढ/दुई महिना राख्दा खुद खर्च भने प्रतिकिलो २८ रुपैयाँमात्र भएको छ ।’

चाडबाडको बेला फलफूलको माग अत्यधिक हुन्छ । कृषि उपज बजारले पनि नास्पातीको सिजन सकिएको दुई महिनापछि उपभोक्तासम्म पुर्‍याउने लक्ष्य राखेर पहिलो प्रयोग गरेको बजार व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । उनका अनुसार नास्पातीलाई स्टोर गर्ने तरिकाबारे पूर्व ज्ञान नभए पनि ४ देखि ६ डिग्री सेल्सियसको तापक्रममा राख्दा नबिग्रिएको बताए । चाडबाडकै बेला विदेशबाट आयात हुने स्याउ र नास्पातीको तुलनामा स्वदेशी नास्पातीले मूल्य पाएको भट्टराईले बताए । उनले भने, ‘पूर्वी पहाडमा उत्पादन हुने नास्पाती सिजनको बेला बढीमा २० रुपैयाँ प्रतिकिलोमा किसानले ७ करोड रुपैयाँको ३ हजार ५ सय ७१ मेट्रिक टन बिक्री गरे ।

केही किसान र व्यापारीले भने चाडबाडलाई लक्षित गरेर शीतभण्डारमा राखे । वास्तवमा त्यो एक प्रकारले ‘जुवा खेलाइ’ जस्तै थियो । प्रयोग असफल पनि हुन सक्थ्यो । तर धरानमा गरिएको प्रयोग सफल भएकाले अर्को वर्षदेखि पूर्वका किसान र व्यापारीले अझ बढी मूल्य पाउने अवस्था सिर्जना भएको छ ।’ उनले अर्को आर्थिक वर्षमा नास्पातीको कारोबार कम्तीमा १० करोड रुपैयाँको हुन सक्ने बताए । नाम्जेका नास्पाती कृषक माली मगरले अर्को वर्षदेखि आफैंले स्टोर गर्ने बताए । शीतभण्डारमा स्टोर गरेर दसैंतिहार, छठजस्ता चाडबाडमा पनि नास्पाती बिक्री गर्न सकिन्छ भन्ने सोच पहिले आएको थिएन ।

धनकुटा, तेह्रथुम, संखुवासभा लगायतमा उत्पादन हुने नास्पाती कृषि बजारमा झारिएपछि प्रदेश १ र प्रदेश २ का तराई जिल्लाका उपभोक्ताले खपत गर्दै आएका छन् । नेपालमै अर्गानिक नास्पाती उत्पादन भए पनि ब्रान्डिङ, लेबलिङ, मार्केटिङ र प्याकेजिङ गर्न सरकारले सहयोग नगर्दा विदेशबाट आयात गरिएका नास्पातीमा नेपाली उपभोक्ता आकर्षित हुने गरेका छन् । कृषि विज्ञका अनुसार नास्पातीमा मानव शरीरलाई चाहिने आइरनको मात्र अत्यधिक हुन्छ । एन्टिअक्सिडेन्ट तत्त्वसमेत पाइने उच्च फाइबर युक्त नास्पातीमा आइरनसँगै भिटामिन ए, बी–१, बी–२, क्याल्सियम, सल्फर, फस्फोरस, सोडियम, म्याग्नेसियम, पोटासियम, कपरजस्ता तत्त्व पाइन्छ ।

प्रकाशित : आश्विन २४, २०७८ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?