२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

पाँचथर बालिका मृत्यु प्रकरण : ५ सदस्यीय छानबिन समिति गठन

लक्ष्मी गौतम

पाँचथर — पाँचथर अस्पतालमा उपचाररत तीन वर्षीया बालिका क्रिस्टिना थाम्सुहाङको मृत्यु प्रकरणको छानबिनका लागि ५ सदस्यीय छानबिन समिति गठन भएको छ । समिति गठनपश्चात अन्त्येष्टि गर्न ४० हजार रुपैयाँ उपलब्ध गराउन स्थानीय प्रशासन सहमत भएसँगै मृतकको शव पोस्टमार्टम गर्न अविभावक सहमत भएका छन् ।

पाँचथर बालिका मृत्यु प्रकरण : ५ सदस्यीय छानबिन समिति गठन

बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय पाँचथर प्रमुख जिल्ला अधिकारी पुष्यप्रसाद ढकालसहित सुरक्षा निकायका प्रमुख, अस्पताल व्यवस्थापन समिति नागरिक समाज र राजनीतिक दलसँगै मृतकका आफन्तहरुको उपस्थितिमा भएको छलफलमा सहमति जुटेको हो ।

घटनाका छानबिनका लागि नेपाल रेडक्रस सोसाइटीका सभापति कृष्णप्रसाद बास्कोटा संयोजकत्वमा समिति गठन गरिएको हो । समितिको सदस्य सचिवमा पाँचथर अस्पतालका मेडिकल रेर्कड अधिकृत नारायण जोशी, मृतकका पिता कमल थाम्सुहाङ, आफन्त होमराज थाम्सुहाङ र पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपाल सदस्य छन् । समितिले ७ दिनभित्र छानबिन प्रतिवेदन तयार पार्ने समयसीमा तोकिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । यसैगरी मृतकको आजै पोस्टमार्टम गरेर आफन्तले शव बुझ्ने प्रक्रिया सुरु गरिएको छ ।

ज्वरो आएपछि २ दिनअघि अस्पताल भर्ना भएकी फिदिम नगरपालिका २ कि ३ वर्षीया क्रिस्टिनाको वुधबार बिहान चिकित्सकले सुई लगाइदिएलगत्तै निधन भएको थियो । घटना छानबिनको माग गर्दै मृतकका आफन्तले बुधबार राति अस्पताल परिसरमा ढुंगामुढा प्रहार गर्दै भवनसहितका संरचनामा क्षति पुर्‍याएका छन् ।

पाँचथर जिल्ला अस्पतालले आजदेखि आकस्मिकबाहेक सबैखाले सेवा ठप्प पारेको छ । अस्पतालमा तोडफोड गर्नुका साथै चिकित्सकलाई अभद्र व्यवहार गरेको भन्दै अस्पतालले सेवा ठप्प पारेको हो ।

प्रकाशित : आश्विन २१, २०७८ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?