१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

मुख्यमन्त्री आचार्यले दसैंअघि विश्वासको मत नलिने

मुख्यमन्त्री आचार्य भन्छन्- ‘दसैंमा मासु खाएर ठन्डा दिमागले सोच्नुस्, दसैं पछाडि राम्ररी सल्लाह गरेर संसद्‍मा छलफल गरौंला’
देवनारायण साह

मोरङ — एमाले विभाजनसँगै अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दसैंअघि विश्वासको मत नलिने संकेत गरेका छन् । प्रदेशसभा भवनको उद्घाटन कार्यक्रममा बुधबार उनले गठबन्धन दललाई ‘दसैंमा मासु खाएर ठन्डा दिमागले सोच्नुस्, दसैं पछाडि राम्ररी सल्लाह गरेर संसद्मा छलफल गरौंला’ भनेका छन् । 

मुख्यमन्त्री आचार्यले दसैंअघि विश्वासको मत नलिने

प्रदेश प्रमुख सोमनाथ अधिकारीले असोज २२ मा सुरु हुने गरी प्रदेशसभाको आठौं तथा हिउँदे अधिवेशन आह्वान गरिसकेका छन् । संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री आचार्यको दल एमाले विभाजनपछि २३ गतेसम्ममा प्रदेशसभाका विश्वासको प्रस्ताव राखिसक्नुपर्नेछ । प्रदेशसभामा विश्वासको प्रस्ताव गर्नुभन्दा दुई दिनअगाबै प्रदेशसभा सचिवालयमा दर्ता गराउनुपर्ने कानुनी व्यवस्था छ । मुख्यमन्त्री आचार्यले अहिलेसम्म प्रदेशसभा सचिवालयमा विश्वासको मतका लागि प्रस्ताव दर्ता नगराएकाले सरकारको आयु जबर्जस्ती लम्ब्याउन खोजेको आशंका विपक्षी गठबन्धनले गरेका छन् ।

सत्तारूढ दल एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेशसभा सचिवालयमा एकीकृत समाजवादीले पत्र दर्ता गराएको ३० दिनभित्र विश्वासको मत लिने सुविधा आफूहरूसँग रहेको दाबी गरे । प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले मुख्यमन्त्री आचार्य संवैधानिक व्यवस्थाअनुसार अघि बढ्ने विश्वास व्यक्त गरे । ‘

मुख्यमन्त्रीज्यू अल्पमतमा परिसक्नुभएकाले राजीनामा दिएर अन्य दलका लागि मार्ग प्रशस्त गरिदिनु उचित हुन्छ,’ उनले भने । एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले अंकगणितका हिसाबले अहिलेको सरकार अल्पमतमा परिसकेको बताए । उनले असोज २२ सम्ममा प्रदेश प्रमुख परिवर्तन भइसक्ने बताए । माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाविपरीत सरकारको आयु लम्ब्याउन खोजेको टिप्पणी गरे ।

मुख्यमन्त्री आचार्यलाई विश्वासको मतका लागि ४६ सांसद चाहिन्छ । ९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १/१ जना सांसद छन् । एमालेका ४१ मध्ये एक जना गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागजात मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् ।

प्रकाशित : आश्विन २१, २०७८ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?