३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

महामारीले तेजपत्ता निर्यात प्रभावित

प्रदीप मेन्याङ्बो

सुनसरी — तेजपत्ताको वनले भरिएको साँगुरीगढी गाउँपालिकाको जिमी गाउँ (साविक भेडेटार गाविस) मा मसलाजन्य नगदेबाली तेजपत्ता यतिबेला रूखमै छ । वर्षमा दुई पटक छाँट्नुपर्ने तेजपत्ताको माग नभएपछि ५ सयभन्दा बढी तेजपत्ताका व्यावसायिक कृषक चिन्तामा छन् ।

महामारीले तेजपत्ता निर्यात प्रभावित

कोरोना महामारीपछि भारतीय बजारमा निर्यात हुन नसक्दा जिमी गाउँका तेजपत्ताका कृषक विकल्पविहीन हुन पुगेका छन् । तीन दशकदेखि तेजपत्ताको व्यावसायिक खेती गर्दै आएका जिमी गाउँका अगुवा कृषक धनबहादुर राईले भने, ‘नाका खुल्यो त भन्छन् तर अझैसम्म माग आएको छैन ।

रूखमै खेर गइरहेको छ तेजपत्ता ।’ उनले आफ्नो भएभरको २० रोपनी जग्गामा तेजपत्ताको खेती गर्दै आएका छन् । उनका छिमेकी ज्ञानेन्द्र राई, तुलवीर राई, कृष्ण मगरलगायतले पाखा भित्तामा लगाएको तेजपत्ताले यो बर्ष भाउ पाउन सकेको छैन ।

औषधीय गुणसमेत भएको मसलाजन्य तेजपत्ताको उत्पादन र बिक्री वितरण पछिल्लो समयमा फाट्टफुट्टमात्र हुने गरेकाले कृषकहरू मारमा परेका छन् । हुन त कोरोना महामारी सुरु हुनुभन्दा अघि पनि कृषकहरूले घाँसको भाऊमा स्थानीय थोक बिक्रेतालाई बिक्री गरेर ती थोक बित्रेताहरूले भारतीय व्यापारीहरूको मागअनुसार भारतीय बजारमा निर्यात गर्दै आएका थिए ।

घाँसकै भाउमा पनि वार्षिक रूपमा धरानका कृषि उपजबजारबाट मात्र करिब २० करोड रुपैयाँको कारोबार हुने गरेका थियो । धनबहादुरले भने, ‘दुई वर्षअघिसम्म म एक्लैले करिब अढाई तीन लाख रुपैयाँको तेजपत्ता बिक्री गर्थें । तर पछिल्लो दुई वर्ष यता वार्षिक रूपमा २०/३० हजार रुपैयाँको मात्र बिक्री गर्नुपरेको छ ।’

तेजपत्ताको बजार बाह्रमासे मानिन्छ । नेपालको पूर्वी पहाडमा उत्पादित तेजपत्ता सबैभन्दा राम्रो मानिएकाले भारतीय व्यापारीले घाँसको भाउमा लैजाने गरेका छन् । तेजपत्ता भारतीय बजारमा पुर्‍याइएपछि त्यहींका ठूला व्यापारीले प्याकेजिङ, ब्रान्डिङ, लेबलिङ गरेर अर्को मुलुकमा महँगो मूल्यमा बिक्री गर्ने गरेका छन् ।

खाद्यपदार्थलाई सुगन्धित बनाउनमात्र तेजपत्ता प्रयोग नभएर अनेक औषधि बनाउनसमेत प्रयोग हुने गरेको छ । तेजपत्तामा मानवीय शरीरलाई चाहिने पोटासियम, क्याल्सियम, फालेट, जिंक र आइरन प्रचुर मात्रामा हुने भएकाले मसलाका रूपमा मात्र प्रयोग नगरी औषधीका रूपमा पनि प्रयोग हुने गरेको छ ।

नेपालमा उत्पादित तेजपत्तामध्ये ९५ प्रतिशत निर्यात भारतीय बजारमा हुन्छ । सुनसरी, मोरङ, तेह्रथुम, धनकुटा, संखुवासभाबाट किसानहरूले घाँसकै भारी जस्तो बनाएर धरानको कषि उपज बजारमा ल्याउने गरेका छन् ।

धरान–१३ स्थित कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले भने, ‘कोरोना महामारीका कारण भारतीय व्यापारीहरू आउन नसक्दा नेपाली तेजपत्ताका व्यावसायिक कृषकहरू मारमा परेका छन् । नत्र यो सिजनसम्ममा कम्तीमा १५ करोड रुपैयाँको त भारतीय बजारमा निर्यात भइसक्नुपर्ने हो ।’

प्रकाशित : आश्विन २१, २०७८ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?