कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

प्रदेश १ मा बन्यो प्रदेशसभाको नयाँ भवन 

देवनारायण साह

मोरङ — प्रदेश १ सरकारले पहिलो स्थायी संरचना प्रदेशसभा भवन निर्माण गरेको छ । नवनिर्मित प्रदेशसभा भवनको बुधबार मुख्यमन्त्री भीमप्रसाद आचार्यले उद्घाटन गर्ने तयारी छ । असोज २२ गतेबाट सुरु हुने हिउँदे अधिवेशनको बैठक नवनिर्मित प्रदेशसभा भवनमै हुने प्रदेशसभा सचिवालयले जनाएको छ । 

प्रदेश १ मा बन्यो प्रदेशसभाको नयाँ भवन 

सुविधा सम्पन्न नयाँ प्रदेशसभा भवन निर्माणका लागि प्रदेश सरकारले कुल ३ करोड १० लाख १८ हजार ३ सय ६८ रुपैयाँ खर्च गरेको छ । अहिलेको भवन साँगुरो र वर्षायाममा पानी पस्ने गरेकोले प्रदेशसभा सदस्यहरुले नयाँ भवन निर्माणका लागि आवाज उठाउँदै आएका थिए । प्रदेशसभा साँगुरो भएको र कोरोना महामारीले व्यक्तिगत दुरी कायम गरेर बसाई व्यवस्थापन गर्दा पत्रकार र आगन्तुक तथा कर्मचारी अर्को हलमा बस्न बाध्य थिए ।

नवनिर्मित भवनमा सभामुख बस्ने तथा रोस्ट्रमबाहेक प्रदेशसभा सदस्यहरुका लागि ११० वटा कुर्सी, टेबल र टेबलमै माइक जडान गरिएको छ । पत्रकारहरुका लागि माथिल्लो तल्लामा बसाई व्यवस्थापन गरिएको हो । दर्शकदीर्घामा कुल ४० जना, पत्रकारहरुका लागि २० र कर्मचारीहरुका लागि २० वटा कुर्सीको व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बताए ।

अहिले प्रदेशसभामा सत्तारुढ एमाले, प्रमुख प्रतिपक्षी कांग्रेस, विपक्षी दलहरु माओवादी केन्द्र, नेकपा (एकिकृत समाजवादी), जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका लागि छुट्टाछुट्टै बसाई व्यवस्थापन गरिएको छ ।

प्रदेश सरकारले बजेटको सुनिश्चितता गरेपछि प्रदेशसभा सचिवालयले २०७७ असोज १ गते प्रदेशसभा भवन शिलान्यास गरेको थियो । प्रदेशसभा सचिवालयका सचिव पराजुलीले २ करोड ५१ लाख ८१ हजार ९७६ रुपैयाँमा स्वामी नारायण निर्माण सेवा धरानलाई ठेक्का दिएको बताए ।


प्रकाशित : आश्विन १९, २०७८ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?