३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अस्पताललाई धान्नै मुस्किल, भुइँमै असरल्ल बिरामी

घट्नुपर्ने समयमा अस्वाभाविक बढे, ज्वरो र टाइफाइडका धेरै, ओपीडीमा दैनिक १ सय ३० थपिए
आनन्द गौतम

ताप्लेजुङ — बिरामीको चाप अत्यधिक बढेपछि साउन पहिलो र दोस्रो साता जिल्ला अस्पतालका बेड त खचाखच थिए नै, भुइँ पनि खाली भएनन् । कोरोना संक्रमितको संख्या पनि उच्च रहेको त्यो बेला आइसोलेसन बेड नपाएपछि संक्रमित अरु बिरामी राखिएकै ठाउँमा गएर सुत्न बाध्य थिए ।

अस्पताललाई धान्नै मुस्किल, भुइँमै असरल्ल बिरामी

अन्य बिरामीसमेत जोखिममा पर्ने भएपछि संक्रमितलाई नेपाल नेत्रज्योती संघको भवनको पहिलो तलामा सारियो । २२ वटा नयाँ बेड थप गरेर अस्पतालदेखि करिब सय मिटर दूरीमा रहेको संघको भवनमा छुट्टै आइसोलेसन कक्ष स्थापना गरियो । अस्पतालमा राख्ने गरी संक्रमित नभएपछि अहिले उक्त आइसोलेसन कक्ष बन्द छ । तर जिल्ला अस्पतालमा भने अन्य बिरामीको चाप साउनकै जस्तोगरी बढेको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन डा. सोनिम लामा बिरामी घट्नुपर्ने समयमा अस्वाभाविक रूपले बढिरहेको बताउँछन् ।

‘सामान्यतया असोज महिनादेखि बिरामी घट्दै जानुपर्ने हो,’ लामाले भने, ‘तर यो वर्ष असोजमा चाहिँ धेरै बढिरहेको छ ।’ ज्वरो र टाइफाइडका बिरामी धेरै रहेको लामा बताउँछन् । सामान्यतया यो समस्या बर्खायाममा धेरै देखिन्छ । साउन अन्तिम र भदौ सुरुमा धेरै देखिने समस्या असोज महिनासम्मै देखिएको उनले बताए । पाका उमेर समुहको तुलनामा बालबालिका बढी प्रभावित भएको अस्पतालले जनाएको छ । एक सय डिग्री फरेनहाइटभन्दा उच्च ज्वरो आउने, रुघाखोकीले सताउने बिरामीलाई अस्पतालमै राखेर उपचार गर्नुपरेको लामा बताउँछन् । उनका अनुसार त्यो पनि प्राथमिकीकरण गरेर बढी सिरियसलाई मात्रै भर्ना गरिएको हो । कतिपयले अस्पतालबाहिर बसेर बिहान, दिउँसो, बेलुका चिकित्सकलाई देखाएर पनि आफ्नो बालबालिकाको उपचार गराइरहेका छन् ।

ओपिडिमा दैनिक १ सय ३० जनासम्म बिरामी आउने गरेको लामाले बताए । जबकि अरू समयमा आइतबार र सोमबारमात्रै एक सयको हाराहारिमा बिरामी हुन्छन् । साताभरि नै सयभन्दा बढी बिरामी आउनु भनेको बिरामीको संख्या अस्वाभाविक रूपमा बढ्नु रहेको अस्पतालले जनाएको छ । जिल्ला अस्पतालमा मात्रै नभएर गाउँका स्वास्थ्य चौकीमा पनि बिरामीको संख्या उल्लेख्य छ । मिक्वाखोला गाउँपालिका–३ लिवाङ स्वास्थ्य चौकीका इन्चार्ज सूर्य लिबाङ गाउँमा पनि बच्चाहरू अधिक बिरामी रहेको बताउँछन् । ‘लक्षणचाहिँ कोभिडको जस्तैजस्तै छ, कोभिड परीक्षणचाहिँ गरिएको छैन,’ लिबाङले थपे, ‘ज्वरो, रुघा, खोकी अत्यधिक छ ।’ मौसम परिवर्तनको प्रभाव भएको आकलन गरिएको उनले बताए । लिबाङका अनुसार स्वास्थ्य चौकी आउन नसक्ने बालबालिकालाई गाउँघरमै गएर पनि उपचार सेवा प्रदान गरिएको छ ।

अस्पताल ५० शय्याको नभएसम्म उपचारमा निकै चुनौती रहेको लामा बताउँछन् । संघ र प्रदेश १ सरकारले जिल्ला अस्पताललाई ५० शय्याको बनाउने भने पनि हालसम्म कार्यान्वयन भएको छैन । १५ शय्याको अस्पताललाई ३५ शय्यासम्ममा ल्याइएको अस्पतालसम्बद्ध बताउँछन् । नियमित, इमर्जेन्सी र कोभिडका बिरामीसहितलाई राख्ने गरी ३५ शय्या पुगेको हो । तर यसलाई व्यवस्थित बनाउन सरकारले नै ध्यान दिनुपर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र मादेन बताउँछन् । घोषणा गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिले समस्या भएको उनको गुनासो छ । ‘हामीले अक्सिजन प्लान्ट पनि जडान गरिसक्यौं,’ मादेनले भने, ‘अब प्रदेश सरकारले भनेअनुसार ५० शय्याका लागि भौतिक पूर्वाधार र चिकित्सकको व्यवस्थापन गरिदिनुपर्छ ।’

प्रकाशित : आश्विन १९, २०७८ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?