जो सर्पलाई मित्र मान्छन्

विनोद भण्डारी

विराटनगर — सर्प देख्नेबित्तिकै अधिकांश आत्तिन्छन् । भागदौड नै चल्छ । सर्प अझ विषालु छ भने त ज्यानकै जोखिम पनि हुन्छ । विराटनगर–१२ का प्रेम विष्ट भने सर्पका मामिलामा अलि फरक छन् । उनले तीन दशकदेखि सर्पलाई आफ्नो ‘मित्र’ मान्दै आएका छन् ।

जो सर्पलाई मित्र मान्छन्

जतिसुकै विषालु सर्पलाई पनि सजिलै च्यापच्यापी समाउँछन्, झोलामा हाल्छन् अनि जंगलतिर लगेर सुरक्षित छोडिदिन्छन् । कसैको घरमा सर्प छिरेको जानकारी पाए विष्ट त्यहाँ पुगिहाल्छन् अनि सर्प लिएर सँगै फर्किन्छन् । उनले तीन दशकको अवधिमा गोमन र करेत प्रजातिका ४ हजार ६ सय विषालु सर्पको उद्धार गरिसकेको बताए । उनी कसैलाई पनि सर्प मार्न दिँदैनन् । ‘सर्प मार्ने मानिस मेरा शत्रु हुन्,’ विष्ट भन्छन्, ‘सर्पले जानीजानी डस्दैन । ऊ आफैं अप्ठ्यारोमा परेको अवस्थामा मात्र डस्ने हो ।’ उनी सर्पको महत्त्वका बारेमा सर्वसाधारणलाई जानकारी पनि दिन्छन् । २०६९ मा नेपाल प्रहरीको हवल्दारबाट सेवानिवृत्त भएका विष्ट प्रहरीमा कार्यरत हुँदा पनि सर्प समाउने गर्थे ।

अहिलेसम्म उनी मोरङ, सुनसरी, झापा, सप्तरी, सिरहा, सिन्धुली र पोखरासम्म पुगेर सर्प पक्रेर ल्याउने अनि जंगलमा लगेर छाड्ने काम गर्छन् । हाल मोरङको सलकपुरस्थित सव डिभिजन वन कार्यालयमा सशस्त्र वन रक्षकमा कार्यरत विष्टका अनुसार नेपालमा ८० प्रजातिका सर्प पाइन्छन् भने तीमध्ये १८ प्रजातिका मात्र विषालु छन् । त्यसमा ५ प्रजातिका गोमन, ६ प्रजातिका करेत, ५ प्रजातिका पिट भइपर र एक–एक प्रजातिका हरेउ र मुगा सर्प हुन् ।

उनका अनुसार किङ कोब्रा (राज गोमन) सबैभन्दा विषालु सर्प हो र यो सर्पले डसेको १० मिनेटमा मानिसको ज्यान जान सक्छ । नाजानाजा गोमन, नाजा काउसिया, कमन करेत, ब्यान्डेट करेत, हिमाली करेत, हरेउ (ग्रीनकिट भाइपर) र पिट भाइपर विषालु सर्प हुन् ।

विष्टलाई विषालु गोमन र करेतले तीनपटक डसिसकेको छ । त्यसमध्ये सिन्धुली दुधौलीको जितपुरमा घरभित्रबाट आफैंले उद्धार गरेको गोमनले डसेर झन्डै ज्यान गएको सुनाए । ‘घरभित्रबाट गोमन सर्प समातेर झोलामा हाली मोटरसाइकलमा फर्कंदै गर्दा झोला भित्रबाटै डस्यो,’ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९६ भाइल एन्टिस्नेक भेनम प्रयोग गरेर बालबाल बाँचेको विष्टले बताए ।

जस्तोसुकै विषालु सर्प पक्रिन खप्पिस विष्टले विराटनगर महानगरपालिकासँगको सहकार्यमा ‘स्नेक पार्क’ बनाउने अभियानमा जुटेका छन् । काम सुरु गरेको पाँच महिनासम्ममा महानगरले आर्थिक उपलब्ध नगरेपछि उनको अभियान अवरुद्ध भएको थियो ।

प्रकाशित : आश्विन १८, २०७८ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?