विराटनगर महानगरमा कोइराला समूहका चापागाईं सभापति चुनिए- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विराटनगर महानगरमा कोइराला समूहका चापागाईं सभापति चुनिए

मोरङका १७ स्थानीय तहमध्ये १४ मा कोइराला, ३ मा देउवा समूह
देवनारायण साह

मोरङ — कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङका १७ वटै पालिकामा अधिवेशन सम्पन्न भएको छ । विराटनगर महानगरसहित १४ पालिकामा कोइराला र तीनवटामा देउवा–समूह विजयी भएका छन् । विराटनगर महानगरपालिकामा कोइराला समूहका दीपक चापागाईं २१२ मत ल्याएर सभापति चुनिएका छन् । 

यहाँ सभापतिमा कोइराला समूहकै तीन जना उम्मेदवार थिए । देउवा समूहबाट सन्तोष न्यौपाने एकल उम्मेदवार थिए । न्यौपानेले १६५, कृष्ण कार्कीले १३३ र अरुण न्यौपानेले १२७ मत ल्याएको सहायक निर्वाचन अधिकृत जयबहादुर भुजेलले बताए । उपसभापतिमा इन्दु सुवेदी खतिवडा र नीरज कोइरला, सचिवमा झुमा निरौला गौतम र तेजिन्द्र भट्टराई, सह–सचिवमा सचिन पोखरेल र दिवस नेपाल निर्वाचित भएको उनले जानकारी दिए ।

यस्तै, लेटाङ नगर सभापतिमा कोइराला समूहका दीपकचन्द्र राई, केराबारी गाउँपालिका सभापतिमा प्रकाश बस्नेत, मिक्लाजुङमा बबीकुमार राई, उर्लाबारीमा सुरेन्द्र लिम्बू, पथरी शनिश्चरेमा रुपनारायण भट्टराई, बेलबारीमा छत्र लिम्बू सभापतिमा विजयी भएका छन् ।

कोइराला समूहबाटै सुन्दरहरैंचामा भक्तिप्रसाद सिटौला, बूढीगंगामा जितु थापा मगर, कटहरीमा रामकुमार कामत, रंगेलीमा जगरनाथ मण्डल, रतुवामाईमा पोस्टबहादुर बस्नेत, कानेपोखरीमा योगेन्द्र दाहाल, सुनवर्षीमा किशोर सिंह सभापति चुनिएका छन् ।

यस्तै देउवा समूहबाट जहदा गाउँपालिकामा महेन्द्र मण्डल, धनपालथानमा दीपकवीर पाण्डे र ग्रामथानमा तुलसी विश्वास सभापतिमा विजयी भएको सहायक निर्वाचन अधिकृत भुजेलले बताए ।


प्रकाशित : आश्विन १७, २०७८ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्

दिल्लीमा नेपाली चौतारो

नेपालमा क्यान्सर उपचारको सुविधासम्पन्न अस्पतालको खाँचो दिल्ली आइपुगेका नेपालीको भीड र उनीहरूले पाएका दुःखले पनि देखाउँछ
राजेश मिश्र

नयाँदिल्ली — चिया पसलमा बिहानैबाट जमघट हुनु अनौठो होइन । तर दिल्लीको सोमबजारमा एक पसल अगाडि बिहानैदेखि अबेरसम्म नेपालीको जमघट देखिन्छ । यो कुनै खास दिन मात्रै होइन, सधैंभरि उस्तै हो । व्यक्तिहरू भने फेरिइरहन्छन्, दोहरिन्छन् ।

दिनमा कम्तीमा एक सय र बढीमा २–३ सय जनासम्म नेपाली त्यहाँ पुग्छन् । त्यो पसलले त्यत्रो नेपालीलाई जोडिरहनुको प्रमुख कारण हो, सञ्चालक नेपाली हुनु । र, नेपालीलाई सहयोगका लागि तत्पर रहनु ।

गत मंगलबार दिउँसो कान्तिपुरकर्मी त्यहाँ पुग्दा एकपछि अर्को गर्दै ओहोरदोहोर गरिरहेका नेपाली भेटिए । साँझ पर्दै गएपछि पसलको बाहिरी भाग नेपालीकै भीडले भरियो नै, पसल अगाडिको सडकमा गाउँका चौतारोमा जसरी नेपाली गफिन थाले । मुलुकको राजनीतिमा देखिएको विकृति, भ्रष्टाचार, दिल्लीस्थित नेपाली दूतावासको व्यवहारदेखि भारत आउँदाको अनुभव मात्रै होइन, व्यक्तिगत सुख दुःखका चर्चामा व्यस्त देखिए उनीहरू ।

त्यहाँ काठमाडौं, भक्तपुर, सुनसरी, धनुषा, लमजुङ, कास्की, नवलपरासी, पाल्पा, रूपन्देही, तनहुँका व्यक्तिहरू भेटिए । त्यसैबीचमा थपिए सर्लाहीका प्रदेशसभा सदस्य डिल्ली उप्रेती । एकीकृत समाजवादीका नेता उप्रेतीको आगमनसँगै नेपाली नेताहरूमाथिको बहस थप चर्किन थाल्यो । पसलका सञ्चालक दैलेखका विष्णु शाही सबैलाई चिया बाँड्दै थिए । तातो चियाको चुस्कीका बीच छलफल पनि तात्दै थियो ।

त्यसरी त्यहाँ जम्मा भएका सबै नेपाली घुम्नका लागि भने दिल्ली आएका होइनन् । सबैका आआफ्ना पीडा छन् । उनीहरू सबै नजिकैको राजीव गान्धी क्यान्सर अस्पतालका बिरामी हुन् । र, ट्राभल एजेन्सी चलाउने दैलेखका नेपाली युवा शाही उनीहरूका सहयोगी ।

महिनाको दुई पटक किमो गर्नुपर्ने बाध्यतामा रहेका काठमाडौं वनस्थलीका राधाकृष्ण पण्डित दिल्लीको रोहणी सेक्टर ५, सोमबजारमा ८ महिनादेखि श्रीमती सहित बसेका छन् । उनी भन्दै थिए, ‘दिल्लीको नेपाली दूतावास त नेताका लागि मात्र खोलिएको रहेछ । कोही एक जना नेता अस्पताल भर्ना हुँदा दिनदिनै धाउने दूतावास यहाँ सयौं नेपालीको हालचाल बुझ्न सामान्य औपचारिकता पनि निर्वाह गर्दैन ।’

उनले शाहीको मुक्तकण्ठले प्रशंसा गरे । ‘८ महिना भयो यता बसेको, क्यान्सरका लागि उपचार गराउन आउने जो कोही नेपालीलाई यहाँ सहयोग गर्न अग्रसर व्यक्ति हो शाही, परदेशमा कोही सहयोगी नेपाली भेटाउनु नै बिरामीका लागि ठूलो राहत हुँदो रहेछ,’ उनले सुनाए ‘अस्पतालमा कोही मर्दा पर्दा आइपर्ने समस्या कम्ती सानो हुन्न । तर, त्यतिबेला पनि दूतावास भेटिँदैन । त्यसमा पनि शाहीले ठूलो सहयोग गरेको देखेको छु ।’ पण्डित विद्युत् प्राधिकरणको उपनिर्देशक पदबाट अवकास प्राप्त हुन् ।

काठमाडौंबाट वा नेपालको कुनै भागबाट राजीव गान्धी क्यान्सर अस्पतालमा उपचारका लागि आउने नेपालीले आफन्तजन वा साथी भाइबाट कुनै न कुनै माध्यमबाट शाहीको सम्पर्क नम्बर प्राप्त गरेका हुन्छन् । अन्य कुनै सम्पर्क नभएका मानिस दिल्ली विमानस्थल वा रेल्वे स्टेसनबाट सिधै शाहीको ट्राभल एजेन्सी भएको सोमबारको सटरमै पुग्छन् । त्यहाँ आइपुगेकालाई सबैभन्दा पहिलो हतारो, परिवारलाई सम्पर्क गर्नुपर्ने हुन्छ । भारतीय सिमकार्ड नभएपछि सम्पर्कमा समस्या हुने नै भयो । शाहीले सबैभन्दा पहिले उनीहरूलाई सञ्चार सम्पर्क सहज बनाइदिन्छन् । परिवारमा सम्पर्क भइसकेपछि सुरु हुन्छ आश्रय स्थलको खोजी । शाहीकै माध्यमबाट सोमबजारमै दैनिक भाडामा फ्ल्याट भेटाउँछन् ।

१, २ वा ३ बेडरुम, किचेन, बाथरुम, भाँडाकुडा, फ्रिज, ओभन र आवश्यक फर्निचरसहितका विभिन्न स्तरका फ्ल्याटमध्ये आफ्नो बजेटमा फिट हुने आश्रयस्थल पाएपछि अस्पताल धाउने दिनचर्या सुरु हुन्छ बिरामीको । प्रदेशसभा सदस्य उप्रेती आफूले पनि काठमाडौंबाट उड्दै गर्दा शाहीकै नम्बर प्राप्त गरेको बताए । शाहीकै माध्यमबाट खोजिएको फ्ल्याटमा बसेर उनी एक महिनादेखि राजीव गान्धी अस्पतालमा उपचाररत छन् ।

३५ वर्षीय शाही दिल्लीमा बस्न थालेको त धेरै भयो । तर, ५ वर्षदेखि उनी सोमबजारमा छन् । यता आएदेखि उनको सधैंको दिनचर्या क्यान्सरका बिरामी वा क्यान्सरको आशंका भएर परीक्षणका लागि आएकाहरू तथा उनका आफन्तकै बीचमा हुने गरेको छ । ‘मैले नेपालीलाई केही पनि ठूलो काम गरिदिएको छैन, ममार्फत हुने सामान्य सहयोग पनि उहाँहरूका लागि ठूलो हुँदो रहेछ । पहिलो कामै मैले परिवारमा सम्पर्क गर्ने वातावरण मिलाउँछु,’ शाहीले सुनाए ‘दिनको ५ सयदेखि १५ सयसम्मका फ्ल्याट यहाँ पाइन्छ । नेपालीका लागि २ बेडरुम र किचनको ५/७ सय भारु प्रतिदिनको फ्ल्याट खोजिदिने मेरो अर्को प्राथमिकता हुन्छ ।’ साता, महिना वा त्योभन्दा धेरै बढी बस्नुपर्ने भएकाले बिरामीका लागि होटलको रुमभन्दा फ्ल्याट नै सस्तो हुने उनले बताए । आफ्नै हिसाबले सिधै अस्पताल पुगेका नेपाली पनि त्यहाँ भेटिने कुनै न कुनै नेपालीको माध्यमबाट शाहीकै सम्पर्कमा आइपुग्छन् ।

पत्रकार भवसागर घिमिरे आफन्तको उपचारका लागि एक सातादेखि सोमबजारमा छन् । उनी दिल्ली आउनुपूर्व केही इष्टमित्रबाट शाहीकै सम्पर्क नम्बर पाएका थिए । ‘मैले चार जनाबाट उनको नाम र नम्बर पाए, एयरपोर्टबाट सीधै उनकै पसलमा आइपुगेको हुँ,’ उनले भने, ‘तत्काल आवश्यक पर्ने सबै काम शाहीकै सहयोगमा भयो ।’ चिकित्सकले क्यान्सर भन्नेबित्तिकै बिरामी तथा परिवारजनमा बज्रपातसरह नै हुन्छ । बिरामीको मनोबल टुटेको हुन्छ । ‘तर, सोमबजारमा एकपछि अर्को आफूजस्तै क्यान्सरका बिरामीसँग पीडा, अनुभव, उपचारमा प्रगतिका कथाहरू सुनेपछि बिरामीको मनोबल उठ्ने रहेछ,’ उनले भने, ‘शाहीजीको पसलमा हुने नेपालीको जमघटले फाइदा पुर्‍याउने रहेछ ।’

नेपाली बैंकका कार्डबाट दिल्लीका एटीएमबाट दिनमा १५ हजार भारु मात्रै निकाल्न पाइन्छ । डेबिट कार्ड स्वाइप गरेर बढीमा ६० हजारसम्म मात्रै भुक्तानी गर्न सकिने सीमितता कारण नेपालीले पैसाको अभाव झेल्नुपर्ने अवस्था आइपर्ने गरेको शाहीले बताए । ‘त्यस्तो अवस्थामा उहाँहरूलाई आवश्यक सहयोग मैले गरेको हुन्छु,’ उनले भने ‘अरू केही होइन, विश्वासकै आधारमा गर्छु । धेरैले पठाउनुहुन्छ । कतिको ढिला आउँछ । अपवाद केही केहीले बेइमानी पनि गर्नु हुन्छ ।’

अहिले पनि एक सय फ्ल्याटमा नेपाली रहेको शाहीले बताए । बिरामी र आफन्त गरेर नेपालीको संख्या २ सयभन्दा बढी छ । अस्पतालको हेल्प डेस्कका संयोजक आजाद त्यागीका अनुसार दैनिक उपचारका लागि आउने बिरामीमध्ये नेपालीको संख्या १५ देखि २५ प्रतिशतसम्म हुने गरेको छ । कोभिडका कारणले संख्यामा केही कमी आएको अनुभव काठमाडौं हात्ती गैंडाकी सुनिता थापाको छ । उनी अढाई वर्षदेखि उपचारका लागि दिल्ली आउजाउ गरिरहेकी छन् । यातायात, बास, खाना र उपचारमा अहिलेसम्म ८५/८६ लाख उनले खर्चिसकेको सुनाए । लमजुङका मोहनप्रसाद गुरुङले तीन वर्षदेखि दिल्लीमा उपचार गराइरहेको र आफ्नो पनि खर्च करोड पुगेको बताए । त्यसरी उपचारमा भारतमै लाखौं र करोड रकम खर्चिने नेपालीको संख्या ठूलो छ । नेपालबाट त्यसरी भारतमा खर्च हुने रकमको कुनै लखाजोखा नभएको शाही बताउँछन् । सोमबजारका नेपालीबीच धेरै बहस हुने विषय हो– त्यो रकम नेपालमै रोकिन सक्ने ठूला सबै सुविधाले सम्पन्न अस्पताल बन्ने कहिले ?

प्रकाशित : आश्विन १७, २०७८ ०८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×