१८ महिनापछि पूर्णरूपमा खुल्यो जोगबनी नाका- प्रदेश १ - कान्तिपुर समाचार

१८ महिनापछि पूर्णरूपमा खुल्यो जोगबनी नाका

देवनारायण साह

मोरङ — विराटनगरस्थित रानी–जोगबनी नाका १८ महिनापछि शनिबारदेखि पूर्णरूपमा खुला भएको छ । मोटरसाइकल, कार, जिप, सिटी रिक्सा, साइकलगायतका साना तथा ठूला सवारी साधन आवतजावत खुला भएको हो । 


सरकारले सीमा नाका पूर्णरुपमा खुला गर्ने निर्णय गरेको १२औं दिनमा कार्यान्वयन भएको छ । विराटनगरस्थित रानी भन्सार नाकाबाट कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले २०७६ चैत १२ गते लकडाउन गरेदेखि मालबाहक सवारी बाहेकका सवारी साधन चलेका थिएनन् ।

सीमा नाका पूर्णरुपमा खुला भएपछि सर्वसाधारणले सीमावर्ती भारतीय बजार जोगबनीमा घरायसी उपयोगका सामग्री किनमेलका लागि निजी सवारी लिएर जान थालेका छन् ।

विराटनगर, इटहरीलगायतका ठाउँबाट सर्वसाधारणले मोटरसाइकल लिएर जोगबनीमा दसैंका लागि घरायसी उपयोगको सामान खरिद गर्न जानेको घुइँचो लाग्न थालेको छ । यसअघि रानीस्थित ढाट नजिक मोटरसाइकल राखेर पैदल एक किलोमिटर हिँड्दै जोगबनीमा विभिन्न आवश्यक सामग्री खरिद गर्न जाने बाध्यात्मक अवस्था समाप्त भएको भन्दै विराटनगरका रमेश पोखरेलले खुशी व्यक्त गरे । भारतको कटिहारका प्रमेश कुमारले निजी सवारी खुलेपछि डेढ वर्षपछि आफ्नै कार लिएर विराटनगरमा आफ्न्त भेट्न आएको बताए ।

नाकाबाट अवैध रुपमा चोरी निकासीका साथै सर्वसाधारणले जबरजस्ती भारतीय बजार ओहोरदोहोर गर्न थालेपछि स्थानीय प्रशासनले साउन २७ गतेबाट नै पैदलयात्रीका लागि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सीमा नाका खुल्ला गरिसकेको छ । तर, नेपालबाट भारत र भारतबाट नेपालतर्फ साइकलसमेत लिएर सुरक्षाकर्मीले आउन जान दिएका थिएन ।

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सरकारले असोज ५ गते नै सीमा नाका पूर्णरुपमा खुला गर्ने निर्णय गरे पनि भन्सार विभागले शुक्रबार आवश्यक तयारी गरेर सरकारले गरेको निर्णय कार्यान्वयन गर्न पत्राचार गरेको बताए । भन्सार विभागको पत्रका आधारमा विराटनगर भन्सार कार्यालयले आवश्यक तयारी गरेपछि शनिबारदेखि जोगबनी नाका पूर्णरुपमा खुला गरिएको उनले बताए । ‘भारतबाट नेपाल र नेपालबाट भारत जान आउन पूर्णरुपमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु पर्ने व्यवस्था गरेका छौं,’ उनले भने, ‘कोरोना महामारी समाप्त नभई संक्रमण मात्रै घटेकोले सबैलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुको विकल्प छैन ।’

भारतबाट आउने भारतीय तथा नेपाली नागरिकलाई रानी नाकास्थित हेल्थ डेस्कमा एन्टिजेन परीक्षण गरेर मात्रै नेपाल प्रवेश गर्न दिने व्यवस्था गरेको प्रजिअ दाहालले बताए । रानी नाकास्थित हेल्थ डेस्कका प्रमुख डा. कमलकिशोर यादवले साउन २७ गतेदेखि असोज १६ गतेसम्ममा भारतमा बसेर आएका १ हजार ५४१ जनाको स्वास्थ्य परीक्षण गर्दा एक जनामा पनि कोरोना संक्रमण पुष्टि नभएको बताए । ‘भारतमा कोरोनाविरुद्धको खोप तीव्र गतिमा लगाएकाले संक्रमण नियन्त्रणमा आएको हुन सक्ने भएकोले भारतबाट आउनेहरुमा संक्रमण देखिएको छैन, ’ उनले भने, ‘संक्रमण नदेखिए पनि भारतमा बसेर आउनेहरुलाई नियमित एन्टिजेन परीक्षण गर्ने कार्यलाई निरन्तरता दिइरहेका छौं ।’ कोरोना संक्रमण न्यूनीकरण मात्रै भएकोले जुनसुकै बेला अर्को लहरको रुपमा आउने सक्ने भएकोले सुरक्षात्मक उपाय छोड्न नमिल्ने उनको भनाइ थियो ।

पर्यटन व्यवसायी उत्साहित

सीमानाका पूर्णरुपमा खुला भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । कोरोना महामारी सुरु भएदेखि धारासायी बनेको पर्यटन व्यवसाय नाका खुला भएसँगै भारतीय पर्यटक भित्र्याएर व्यवसाय उकास्ने योजनामा यहाँका पर्यटन व्यवसायी रहेका छन् ।

होटल व्यवसायी संघका प्रदेश १ अध्यक्ष राजन श्रेष्ठले अब भारतबाट आउने पर्यटकहरुलाई स्वागत गरेर प्रदेश १ तथा नेपाल भित्र्याउने तयारी गरेको बताए । ‘ भारतबाट आउने पर्यटकहरुलाई स्वतन्त्र र सुरक्षित रुपमा प्रदेशस्थित विभिन्न पर्यटकीय गन्तव्यसम्म पुर्‍याउन तथा यहाँका मनोरम स्थलहरुमा घुमफिर गर्ने व्यवस्थामा जुटेका छौं, ’ उनले भने, ‘यस प्रदेशमा तथा देशभरिमा आउने भारतीयलगायतका देशका पर्यटकहरुलाई कुनैपनि किसिमको बाधा अवरोध हुन नदिनका लागि यहाँका सुरक्षा निकायलगायत सबै सरोकारबाला निकायसँग सहकार्य गरेर बढीभन्दा बढी पर्यटक भित्र्याउने योजनामा छौं ।’

होटल व्यवसायी भवेश श्रेष्ठले दुई वर्षदेखि धारासायी बनेको पर्यटन क्षेत्र उकास्नका लागि सरकारले तत्काल पर्यटन क्षेत्रमा लागेका प्रत्येक व्यक्तिलाई पूर्ण रुपमा कोरोनाविरुद्धको खोप लगाउनु आवश्यक भएको बताए । भारतीय पर्यटन व्यवसायीहरुसँग सहकार्य गरेर भारतीय पर्यटकहरुलाई होटलमा बस्न, खान, प्याकेजलगायतमा छुटको व्यवस्था गरेको श्रेष्ठले बताए ।

नेपाल ट्राभल्स एण्ड टुर्स एसोसिएसन प्रदेश १ का उपाध्यक्ष पुण्य भट्टराईले अहिले तत्काल दसैंको घटस्थापनाको दिनदेखि ३२ हजारमा धरानको टुँडिखेलबाट हेलिकप्टरमा पाथीभरा दर्शन गराउने प्याकेज ल्याएको बताए । उनले गाडीबाट ८ हजारमा विराटनगरबाट इलामको कन्यमदेखि फिदिम हुँदै ताप्लेजुङको पाथीभराको दर्शन गराएर विराटनगर फर्काउने तीन दिनको प्याकेज ल्याएको सुनाए । भट्टराईले अहिले बढीभन्दा बढी भारतीय पर्यटक भित्र्याएर थला परेको पर्यटन व्यवसायलाई उकास्नका लागि सीमावर्त्तीं भारतीय बजारमा प्रचार प्रसार आवश्यक भएकोले त्यसका लागि आफूहरुले तयारी गरेको र त्यसमा सरकारको साथ र सहयोग आवश्यक रहेको बताए ।

प्रकाशित : आश्विन १६, २०७८ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्

एमालेले संसद् अवरुद्ध पार्नु संविधानमाथि नै हमला : भुसाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले प्रमुख प्रतिपक्ष एमालेले संसद् अवरुद्ध पारेर संविधानमाथि नै हमला गरिरहेको आरोप लगाएका छन् । महासचिव भुसालले एमालेले अदालतमा विचाराधीन मुद्दालाई विषय बनाएर संसद् अवरुद्ध पार्नु गैरसंवैधानिक र गैरकानुनी कदम भएको तर्क समेत गरे । 

काठमाडौंमा शनिबार आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले सदन अवरुद्ध पार्ने कामले एमाले आफै जनताको माझमा नांगिदै गएको दाबीसमेत गरे । उनले भने,‘यो लोकतन्त्रमाथिको हमला हो । संविधानमाथिको हमला हो । गैरजिम्मेवार र अनैतिक काम हो । जो उहाँहरुले गरिरहनु भएको छ, त्यसले उहाँहरु नांगिनु भएको छ । संविधानमा अदालतमा विचाराधीन विषयमा संसद्‌मा छलफल हुन नसक्ने संवैधानिक व्यवस्था छ । एमालेले संविधानको त्यो व्यवस्थाविपरीतका काम गरिरहेको छ ।’

महासचिव भुसालले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारुढ गठबन्धनले पहिलो प्राथमिकता दिएको पनि बताए ।


प्रकाशित : आश्विन १६, २०७८ १७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×