१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कर्मचारीकै मिलेमतोमा भन्सार छली

साउनमा भन्सार एजेन्टकै संलग्नतामा १८ लाख राजस्व छली, बुधबार पुनः ३४ लाखका कपडाको न्यून मूल्यांकन
विनोद भण्डारी

विराटनगर — कर्मचारी र एजेन्टको मिलेमतोमा विराटनगर भन्सारबाट न्यून मूल्यांकनमा सामान छुटाउने प्रवृत्ति अझै रोकिएको छैन । बुधबार साँझ ३४ लाख मूल्य बराबरका कपडा न्यून मूल्यांकनमा छाडिएको भन्दै प्रहरीले एक ट्र्याक्टर सामान नियन्त्रणमा लिएको छ ।दुई साताअघि भन्सार परिसरबाटै अवैध रूपमा सामान भित्र्याउने भन्सार एजेन्ट कृष्ण थापा र सामान आयात गर्ने फर्म पूर्णकृष्ण ट्रेडर्सलाई ५५ लाख रुपैयाँ धरौटी लिएर भन्सारले दुई महिनाका लागि निलम्बन गरेको थियो ।

कर्मचारीकै मिलेमतोमा भन्सार छली

बुधबार साँझ भेइकल एन्ड कन्साइन्मेट ट्र्याकिङ सिस्टम (भीसीटीएस) मा गाडी नम्बर उल्लेख नगरी भन्सार जाँचपास गरेर यार्डबाट निस्किएको ३४ लाख मूल्यको कपडा लोड गरिएको वीआर ३८ डी ३२४३ नम्बरको ट्र्याक्टरलाई सशस्त्र प्रहरीको रानी सीमा आउट पोस्टले नियन्त्रणमा लिएको थियो । अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाएको छ । ट्र्याक्टर चालक पंकज यादव पक्राउ परेका छन् । भीसीटीएस नम्बर उल्लेख नगरी सामानको आयात गर्न सहजीकरण गर्ने भन्सार एजेन्ट गुलाफ साह हुन् । उनका प्रतिनिधि मन्टु साहले भीसीटीएस नम्बर उल्लेख नगरी कपडासहित ट्र्याक्टर भित्र्याएको पाइएको प्रहरीले जनाएको छ ।

उक्त कपडा विराटनगरको जया इम्पेक्सले आयात गरेको प्रहरीले जनाएको छ । यसरी भीसीटीएस नम्बर उल्लेख नगरी लाखौं मूल्यको सामान आयात गर्दा कम मूल्यांकन गरिने र भन्सार कर्मचारीसँग मिलेर राजस्व छली हुने गरेको प्रहरीको भनाइ छ । भीसीटीएस प्रणालीअन्तर्गत इन्टरनेटबाटै व्यावसायिक फर्मले सामान ढुवानी कसरी गर्छन् भन्ने जाँच गरिन्छ ।

यो प्रणालीमा सामान ढुवानी हुनुभन्दा अघि के, कहाँ, कति, ढुवानीलगायत सबै विवरण प्रविष्ट गर्नुपर्ने नियम छ । ढुवानीको सुरुको बिन्दु र अन्तिम बिन्दुसम्म विभागले ट्र्याकिङ गरिरहेको हुन्छ । राजस्व चुहावटको सम्भावना कम गरेर राजस्व प्रशासनमा सुधार ल्याउने उद्देश्ले २०७६ साल साउन १ देखि अनिवार्य रूपमा भीसीटीएस लागू गरिएको थियो ।

सामान पुग्नुभन्दा अगाडि अनगोइङ र पुगेपछि डेलिभरीको सूचना अनलाइनमै प्राप्त हुन्छ । भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले भीसीटीएस भन्सारले नहेर्ने दाबी गरे । उनले यो विषय राजस्व अनुसन्धानको भएकाले भन्सारसँग सरोकार नहुने उनको भनाइ छ ।

यसअघि साउन पहिलो साता पनि विराटनगर भन्सार कार्यालयका कर्मचारी र एजेन्ट मिलेमतोमा १८ लाख रुपैयाँ राजस्व छली गरेको पुष्टि भएको थियो । राजस्व अनुसन्धान कार्यालय इटहरीले कपडा र विभिन्न सामान बोकेका दुई ट्र्याक्टर नियन्त्रणमा लिएर अनुसन्धान गर्दा १८ लाख राजस्व ठगी भएको पुष्टि भएको थियो ।

राजस्व छली गरेको आशंकामा राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दीपक खड्काको नेतृत्वमा आएको टोलीले विराटनगरदेखि विभिन्न सामग्री बोकेका को२त ६८११ र बीआर५०जी ५०५३ नम्बरका ट्र्याक्टर नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

प्रारम्भिक चरणको अनुसन्धानदेखि भन्सार एजेन्ट प्रतिनिधि अकबर अलीले आयात गरेको दुई ट्र्याक्टर सामानमा १४ लाख मूल्य बराबर कम मूल्यांकन र ४ लाख रुपैयाँ मूल्य बराबरको सामान भन्सार नै नतिरी ल्याएको राजस्व अनुसन्धान कार्यालयले जनाएको छ ।

यसअघि अलीका एजेन्ट राजकुमार रौनियारले गत वैशाखमा एउटै प्रज्ञापनपत्रमार्फत दुई पटक १८–१८ लाख मूल्यका कपडा भारतबाट आयात गरेर भन्सार महसुल नतिरी भारतीय नम्बर प्लेटको बीआर ३८ जीए २६०६ पिकअप भ्यानमार्फत भन्सार परिसरबाट बाहिर निकाल्दा प्रहरीले पक्राउ गरेको थियो । उक्त दुई ट्र्याक्टर लत्ताकपडा भन्सार महसुल नतिरी बाहिर निकाल्न कर्मचारीले सहयोग गरेको स्रोतको दाबी छ ।

प्रकाशित : आश्विन १५, २०७८ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?