कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

जोखिम मोल्दै गाँजा खेती गर्दै

गाउँपालिकाले सुन्तला खेती र बाख्रा पाल्दा आधा रकम अनुदान दिने योजनामा किसानको छैन आकर्षण
डिल्लीराम खतिवडा

उदयपुर — लागूऔषध नियन्त्रण ऐनले गाँजालाई अवैध मानेको भए पनि उदयपुरको पश्चिम र उत्तरी क्षेत्र ताप्ली गाउँपालिका र आसपासको क्षेत्रमा भने ठूलो मात्रामा गाँजा खेती हुन थालेको छ । स्थानीय निकायले गाँजा खेतीको विकल्पमा सुन्तला खेती गर्न र बाख्रा पाल्न लाग्ने ५० लाख रुपैयाँसम्मको परियोजनामा आधा रकम अनुदान दिने योजना अघि सारे पनि किसानलाई आकर्षित गर्न सकेको देखिँदैन ।

जोखिम मोल्दै गाँजा खेती गर्दै

कतिपय किसानले त अनुदान लिएर गरेको सुन्तला खेतीभित्रै पनि गाँजा खेती गरेका छन् । अवैध गाँजा खेती गरिरहेका भन्छन्, ‘सुन्तलाबाट कहिले कहिले ? गाँजाबाट अहिले ।’

दुई दशकभन्दा बढी समय गाँजा खेतीमा संलग्न यहाँका किसानले पछिल्ला ३/४ वर्षदेखि वैकल्पिक खेतीमा लागे पनि तुलनात्मक रूपमा आम्दानी कम भएको भन्दै जोखिम मोलेरै पुनः गाँजा खेतीमै फर्किएको बताउँछन् । २०४८ यता झन्डै २५ वर्ष ताप्ली गाउँपालिका र आसपास क्षेत्रमा गाँजा खेती हुँदै आएको पाइन्छ । २०५२ सालयता मुलुकमा सशस्त्र द्वन्द्व फैलिएसँगै गाजा खेती पनि फस्टाउँदै गएको हो । शान्ति प्रक्रियासँगै प्रहरी प्रशासनको सक्रियता र स्थानीय तहको गठनपछि गाँजा खेती घट्दै गएको थियो । तर गाँजाको जस्तो ‘मनग्य आम्दानी’ मा पल्किएकाले वैकल्पिक खेतीमा अडिन नसकेका हुन् । अवैध खेती भन्ने जान्दाजान्दै पनि उनीहरू जोखिम मोल्न तयार देखिएका छन् ।

‘गाँजा खेती हुँदा आम्दानी पनि राम्रो थियो,’ ताप्लीका किसान नरजग ठकुरीले भने, ‘अरू खेतीको आम्दानीले पुग्ने अवस्था देखिएन ।’ संघीय, प्रदेश र स्थानीय सरकारले गाँजाको विकल्पमा अन्य खेती गर्न किसानलाई सहयोग नै नगरेको ताप्ली गाउँपालिका, कुमालटारका समाजसेवी जन्मजय राईले वताए । ‘अन्य खेतीको तुलनामा गाँजाबाट नै राम्रो आम्दानी हुन्छ भन्ने यहाँका किसानमा छाप परेको छ,’ समाजसेवी राईले भने, ‘अवैध हो भन्ने थाहा हुँदाहुँदै पनि अन्य खेतीबाट सोचे जस्तो आम्दानी नभएकाले नै होला किसान फेरि गाँजामा लागेको फाटफुट देखिन्छ ।’ तीनै तहका सरकारले गाँजा खेती अवैध हो, त्यसको विकल्पमा अन्य खेती गरेर सोचेजस्तै आम्दानी गर्न सकिन्छ भनेर जनचेतना जगाउनै नसकेको उनले बताए ।

सडक सञ्जालले छोएको क्षेत्रमा अहिले गाँजा खेतीको विकल्पमा सुन्तला, अम्रिसो, अदुवा र बेसार खेती गरेको देख्न सकिन्छ । तर बाहिरिया मानिस हतपत नपुग्ने, तिनको नजर नपर्ने ठाउँमा गाँजा खेती हुँदै आएको छ । गाउँ गाउँसम्म मोटरबाटोको ट्र्याक खोलिएपछि त्यसले पनि गाँजा खेती घटाउँदै गएको छ । सडकले छोएका र सबैको नजर पर्ने ठाउँमा गाँजा खेती घटेको ताप्ली गाउँपालिकाको मादलेका रुकमान राईले बताए । ‘मोटर बाटोले नछोएका क्षेत्रमा त्यसलाई समेत समेट्ने गरी खेती सुरु गरिएको छ,’ राईले भने, ‘भोकभोकै मर्नुभन्दा त जोखिम भए पनि खेती गरेर गुजारा गर्नुपरेको छ ।’ कोदो, मकै, फापर, दाल, सुन्तला, कागती, अदुवा र बेसार खेतीको आम्दानीले राम्रोसँग ३/४ महिना पनि खान नपुग्ने उनले बताए ।

२०७५ सालअघि गाँजा खेती हुने साबिकका गाउँ विकास समितिमा गृह मन्त्रालयले गाँजाको सट्टा अरू खेती गर्न प्रोत्साहित गरेको थियो । त्यसका लागि फलफूलका बिरुवा र तरकारीको बीउ बाँडेको थियो । तर, किसानले गाँजा खेती गर्न छोडेनन् । फलफूलका बिरुवा र तरकारीको बीउ बाँडेको भरमा गाँजा खेती रोक्न नसकिएको ताप्ली गाउँपालिका प्रमुख उद्धवसिंह थापाले बताए । ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत गाउँपालिकामा सुन्तला खेतीलाई प्रोत्साहन दिन कार्यक्रम ल्याइएको थियो,’ प्रमुख थापाले भने, ‘त्यसले किसानलाई सुन्तला खेती गर्न सहयोग पुर्‍यायो । तर खडेरीले सुन्तलाका बोट सखाप पार्‍यो, अन्य खेती पनि सप्रिएन ।’ त्यसैले अहिले गाउँपालिका क्षेत्रका एकाध स्थानमा गाँजा खेती हुने गरेको उनले बताए ।

केही स्थानीय तहले पनि गाँजाभन्दा अन्य खेती गर्न प्रोत्साहित गर्ने नीति लिएका छन् । ताप्ली गाउँपालिकाले सुन्तला खेती गर्ने र बाख्रा पाल्ने किसानलाई ५० लाख रुपैयाँसम्मको आयोजनामा आधा रकम अनुदान दिने योजना अघि सारेको थियो । तर त्यसमा पनि किसान खासै आकर्षित नभएको गाउँपालिका प्रमुख थापाले बताए । त्यसैले सुन्तला खेती लगाए पनि किसानले सुन्तलाको बोटमुनि गाँजा खेती गर्न छाडेका छैनन् । बिरुवा रोपेको केही वर्षपछि मात्र सुन्तला फल्ने र त्यसपछि मात्र आम्दानी हुने भएकाले पनि किसानलाई सुन्तला खेतीले आकर्षित गरेन । ‘सुन्तलाबाट कहिले कहिले, गाँजाबाट अहिले’ धेरै किसानले बोल्ने थेगो बन्यो ।

‘गाँजाबाट छोटो समयमा धेरै पैसा हात पर्छ,’ ताप्लीका किसान अरुणज्यू ठकुरी भन्छन् । ‘अरू खेती हेरी गाँजा खेतीमा जोखिम छ, त्यसबाट बच्न सकियो भने आम्दानी धेरै हुन्छ’ ठकुरीले सधैं भन्ने गरेका छन् । २०३३ सालमा आएको लागूऔषध नियन्त्रण ऐनले गाँजामा प्रतिबन्ध लगायो । उक्त ऐनअनुसार २५ बोटसम्म गाँजाको खेती गर्ने व्यक्तिलाई ३ महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिवाना र २५ बोटभन्दा बढी गाँजाको खेती गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद वा ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुन्छ ।

प्रकाशित : आश्विन १४, २०७८ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?