२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

पाथीभरामा एकैदिन १४ पाथी सिक्का भेटी

आनन्द गौतम

ताप्लेजुङ — ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा पछिल्ला वर्ष ठूलो परिमाणमा सिक्का पैसा संकलन हुने गरेको छ । पहिला देवीलाई बलि चढाउन बोकापाठा लैजानेहरू अहिले सिक्का पैसा लिएर जाने गरेका छन् । 

पाथीभरामा एकैदिन १४ पाथी सिक्का भेटी

त्यसलाई माना र पाथीमा भर्छन् र बोकेर मन्दिर परिक्रमा गर्छन् । बाटैदेखि सिक्का चढाउँदै हिँड्नेहरू पनि हुन्छन् । यसरी चढाइएको सिक्का भेटीपाती व्यवस्थापन समितिका कर्मचारीले संकलन गर्छन् र टल्काउँछन् ।

पाथीभराका कर्मचारी राजेन्द्र महतका अनुसार सिजनको समयमा एकै दिनमा १४/१५ पाथीसम्म सिक्का संकलन हुन्छ । असोजदेखि मध्यमंसिरसम्म र फागुन/चैत/वैशाखलाई पाथीभराको प्रमुख सिजन मानिन्छ । यी सिजनमा एकै दिन १३ हजारसम्म तीर्थयात्री आएको तथ्यांक पाथीभरा क्षेत्र विकास समितिसँग छ । गत वर्ष असोजमा एकै जनाले १६ पाथी सिक्का पैसा चढाएका थिए ।

यी सिजनमा दैनिक दुई क्विन्टलसम्म सिक्का जम्मा भएको महतले जानकारी दिए । एकै सिजनमा ७० क्विन्टलसम्म सिक्का जम्मा भएको तथ्यांक समितिसँग छ । एक पाथीमा २२ किलो हुन्छ । सिक्का पैसा लिएर जानेले काफ्लेपाटीदेखि नै ढुंगाहरूमा सिक्का चढाउने गरेका छन् । पाथीभरामा मुठीले पनि सिक्का चढाउने भक्तजन आउने गरेका मन्दिरका पुजारी डिल्ली आचार्य बताउँछन् । मन्दिरमा प्रत्येक दिन संकलित सिक्का गोदाममा राखिन्छ । त्यसका लागि एउटा छुट्टै भवन बनाइएको छ । त्यहाँबाट बोरामा हालेर ५ किलोमिटर तल काफ्लेपाटी झारिन्छ ।

ढाडमा बोक्न अप्ठेरो हुने र ओरालो बाटो भएकाले एक जनाले ३५/४० किलोमात्रै बोक्ने गरेका छन् । सुकिलो सिक्का ४ किलोमा १ हजार रुपैयाँ हुन्छ ।

प्रकाशित : आश्विन १३, २०७८ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?