जीर्ण सडकमा जोखिमपूर्ण यात्रा

पर्व नजिकिएसँगै सवारी चाप बढे पनि सडक व्यवस्थित भएन
डिल्लीराम खतिवडा

उदयपुर — दुई दशकअघि गरिएको ‘वटासिल कालोपत्र’ उप्किएर जीर्ण हुँदै गएपछि सिद्धिचरण राजमार्गमा कालोपत्र गरी टालटुल गरेपनि व्यवस्थित छैन । कालोपत्र सडक धूले सडकमा परिणत भएको वर्षौं भइसक्यो । राजमार्गको अति संवेदनशील मानिने कटारी–घुर्मी ४६ किलोमिटर खण्ड ठाउँ–ठाउँमा भत्किएको छ ।

ठूला–ठूला खाल्डो परेका कारण सवारी आवगमनमा समस्या छ । दैनिक दर्जनौं सवारी आवतजावत गर्ने सडक साँघुरिँदै गइरहे पनि स्तरोन्नतिका लागि सम्बन्धित निकायले बेवास्ता गर्दा यात्रु र सवारीसाधनले जीर्ण सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । सामान्यतः बढीमा १० टन भार क्षमताभन्दा चार गुणा बढी भारका सवारी गुड्दा पनि सडक अगावै बिग्रने गरेको हो ।

यही सडक हुँदै कटारीबाट ओखलढुगा, सोलु र खोटाङका लागि सिद्धिचरणसम्म सामग्री ढुवानी हुन्छ । तराईमा उत्पादित वस्तु माथिल्लो सगरमाथा पुर्‍याउन पनि सिद्धिचरण राजमार्ग उपयोगी छ । ‘कटारी/घुर्मी खण्डको माथिल्लो क्षेत्र बेतेनीदेखि घुर्मीसम्म पूरै सडक भत्किएको छ,’ उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खड्काले भने, ‘वर्षौंदेखि भत्किएको सडक मर्मत र पुन निर्माण नहुँदा ज्यादै कठिनाइ भएको छ ।’ अन्यत्रबाट सडक सञ्जालले ती जिल्लालाई जोडिए पनि दूरी र भाडाका कारण सिद्धिचरण राजमार्गको नै प्रयोग हुने गरेका स्थानीयले बताए ।

राजर्मागमा बर्सेनि दजनौं सवारी साधन दुर्घटना हुने गरेका छन् । दुर्घटनाको मुख्य कारण पनि जीर्ण सडक नै भएको प्रहरीको तथ्यांकले देखाउँछ । ‘कटारी बजारदेखि घुर्मीसम्मको कालोपत्र कामै नलाग्ने गरी उप्किसकेको छ,’ कटारीका स्थानीय अंकित केसीले भने, ‘बटासिल गरिएको डेढ दशक नपुग्दै अधिकांश स्थानमा उप्किएर धूले सडक बनेको छ ।’ जीर्ण सडककै कारण पटकपटक दुर्घटना हुने गरेकाले दसैंको समयमा धेरै सावधानी अपनाउनुपर्ने जिकिर गर्दै लेखानी गाविसका पूर्वअध्यक्ष भीमबहादुर मगरले भने, ‘तर बाहिरबाट आउने सवारी साधनले यस्तो गरेका छैनन् ।’ सिट संख्याभन्दा धेरै यात्रु राखेर सवारीसाधन चलिरहेको उनले बताए ।

सडक जीर्ण भएकाले बर्सेनि पटकपटक दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ज्यान जोखिममा राखेर साँघुरो र जीर्ण सडकमा यातायात सञ्चालन गर्नुपरेको व्यवसायीले बताउँदै आएका छन् । ‘दसैंमा यात्रुलाई सुविधा होस् भनेर जोखिम मोलेर सवारीसाधन सञ्चालन गरेका छौं,’ हिमाली यातायात व्यवसायी संघका परमेश्वर घिमिरेले भने ।

प्रकाशित : आश्विन १२, २०७८ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?