३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दृष्टि कम हुनेलाई बाँच्ने कला सिकाइँदै

देश–विदेशका विभिन्न अस्पतालमा उपचार गराउँदासमेत दृष्टि फिर्ता नपाएपछि हरेस खाएकाहरु यहाँ आउँछन् 
जितेन्द्र साह

विराटनगर — कोठा नम्बर ३५ । टाढैबाट देखिने सेतो बाक्लो भित्ता । निलो ढोका । निलोमा ठूलाठूला सेतो अक्षरले लेखिएका ब्लकहरू । लहरै बाक्लो कालो रंगको कुर्सी । सहज हिँडडुलका लागि प्यासेजमा कलेजी रंगको धर्काहरू । 

दृष्टि कम हुनेलाई बाँच्ने कला सिकाइँदै

सेतै पर्खाल भएको भान्छामाथि हल्का खैरो रंगको र्‍याक । ठिक मुन्तिर खैरो रंगको स्ल्याब, निलो रंगको र्‍याक । स्लाब माथि निलो बिर्को भएको प्लास्टिकको पारदर्शी भाडोमा सेतो कागतमा कालो अक्षरले लेखिएको सामग्रीको नाम । निलो रंगको बेसिन माथि सहजै देखिने धारा । शौचालयको भुइँमा सेतो र भित्तामा कालो टायल बीचमा कमोड एवं सेतो रंगको बेसिन । आँखा तान्ने गहिरो रंगको पर्दाहरू ।

नेत्र ज्योति संघद्वारा सञ्चालित विराटनगर आँखा अस्पतालको न्यून दृष्टि तथा पुनर्स्थापना कक्षको दृश्य हो यो । उपचारबाट पनि दृष्टि सामान्य अवस्थामा नफर्किनेलाई यहाँ दृष्टि विशेषज्ञले सहज रुपले दैनिक जीवनयापन गर्न सिकाउँछन् । ‘उपचारको विकल्प नरहेमा कमजोर दृष्टि भएकालाई चिकित्सकले यहाँ पठाउँछन्,’ दृष्टि विशेषज्ञ पंकज राय भन्छन्, ‘दैनिक जीवनयापनका तरिका बताउँछौं, परामर्श दिन्छौं ।’ उनका अनुसार आँखामा रोग नलागोस् भनेर अस्पतालले सचेतना, रोकथाम र उपचार अभियान सञ्चालन गर्दै आएको छ ।

दृष्टि कमजोर भएकामा पुरै धमिलो देख्ने, कुनै वस्तु वा तस्बिरको छेउछाउ नदेख्ने र कसैले बीचमा मात्र देख्ने समस्या समेत हुने उनी बताउँछन् । हाई पावरको चस्मा, हाते म्याग्निफाइङ ग्लास र दूरबिन प्रयोगबाट कसरी सहज ढंगले हेर्ने भन्ने अभ्यास गराउने गरेको राय बताउँछन् । ‘कमजोर दृष्टि भएकालाई कोठामा उज्यालो बढाउन भन्छौं, चढ्दा भर्‍याङ देखिन्छ तर ओर्लिंदा नदेखिने हुनाले विशेषखाले चस्माको प्रयोग गर्न सिकाउँछौं,’ उनी भन्छन्, ‘कोठाभित्रका सामग्री सहजै चिन्न वा ठम्याउन अलग अलग रंगमा राख्न भन्छौं ।’

सन् २००६ मा स्थापना भएको उक्त अस्पतालमा फाटफुट रूपमा न्यून दृष्टि भएकाहरू आइरहे पनि छुट्टै व्यवस्थित कक्ष थिएन । ‘अस्पतालको अन्य विभागहरूमार्फत भए पनि सेवा भने जारी थियो, उपचारबाट निको नहुने कमजोर दृष्टि भएकाको संख्या बढ्दै गएपछि विज्ञको सेवासहितको छुट्टै कक्ष बनायौं,’ अस्पतालका कार्यक्रम अधिकृत सुधीर ठाकुर भन्छन् । सन् २०२० को नोभेम्बरमा पुनःस्थापना केन्द्रको स्थापना भएको हो । २०२१ को सेप्टेम्बरसम्म उक्त पुनःस्थापना कक्षमा उपचार गराउन आइपुगेका १ सय ६५ पुरुषसहित २ सय ३४ मध्ये ५५ बालबालिका र ३१ ज्येष्ठ नागरिकमा न्यून दृष्टिको समस्या देखियो भने २४ जना पूर्णतया दृष्टिविहीन थिए ।

पुनःस्थापना कक्ष स्थापना हुनु अगाडि सन् २००८ देखि २०२० नोभेम्बरसम्म दृष्टि कमजोर भएका ३ हजार ७६ पुरुषसहित ४ हजार ४ सय १६ को जाँच गरिँदा १ हजार १ सय ६ बालबालिका एवं ७ सय ८० ज्येष्ठ नागरिकमा उपचारबाट निको नहुने न्यून दृष्टिसम्बद्ध समस्या देखिएको थियो । तीमध्ये १ हजार २ सय ८० नेत्रहीन थिए ।

भारतको दिल्ली, मुम्बई र चेन्नईको अस्पतालमा उपचार गराउँदासमेत दृष्टि फिर्ता नपाएपछि हरेस खाएकाहरू यो कक्षमा आउँछन् । ‘राम्ररी नदेख्दा दैनिक काम गर्न समेत कठिन हुन्छ, कतै पनि एक्लै जान सक्दिन, परिवारका कसैलाई सहयोगका लागि लानुपर्छ,’ विराटनगरका एक स्थानीयले भने, ‘बाहिर निस्कँदा र घरमै बस्दा ध्यान दिनुपर्ने कुराबारे यहाँ आएर सिकेँ ।’ उनलाई हेरेर कसैले पनि न्यून दृष्टि भएका हुन् भनेर अनुमान गर्न सक्दैनन् ।

विराटनगरकै एक १० वर्षीय बालकलाई चस्मा लगाउँदासमेत समस्या भइरहेको थियो । परिवारले उनलाई १५ दिन अगाडि उपचारका लागि यस अस्पताल ल्याए । ‘उपचार नहुने भएपछि टाढा हेर्नलाई बालकलाई दूरबिन दिनुपर्‍यो,’ राय भन्छन् ।

प्रकाशित : आश्विन ११, २०७८ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?