टिपरको ठक्करबाट चालकको मृत्यु, स्थानीयद्वारा पूर्वपश्चिम राजमार्ग अवरुद्ध- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टिपरको ठक्करबाट चालकको मृत्यु, स्थानीयद्वारा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

पर्वत पोर्तेल, अर्जुन राजवंशी

काँकडभिट्टा — टिपरको ठक्करबाट सोमबार बिहान झापामा एक जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत माइधार भन्ने ठाउँमा टिपरले म्याजिक भ्यानलाई ठक्कर दिँदा त्यसका चालकको मृत्यु भएको हो । सवारी दुर्घटनाका विषयमा स्थानीयले झापाको माइधार खण्डमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

मृतक झापाको दमक नगरपालिका–९ निवासी अन्दाजी ४० वर्षीय नेत्रबहादुर खड्का रहेको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को२च २६३२ नम्बरको सो भ्यानलाई प्रदेश–०३–००१–क ००९५ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

ठक्करपछि भ्यान उछिट्टिएर कनकाई नहरभित्र डुबेको थियो । नहरमा डुबेका कारण चालकको निस्सासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनापछि स्थानीयले गलत ठाउँमा ट्राफिक प्रहरीले जाँच गरेको भन्दै कारबाही माग गर्दै पूर्व–पश्चिम राजमार्गमा अवरोध गरेका छन् ।

प्रकाशित : आश्विन ११, २०७८ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्

दुई महिनामा भेटिए ६ सय कुपोषित बालबालिका

कोरोना संक्रमणका कारण बालबालिकाको नियमित जाँच नहुँदा यो अवधिमा कुपोषित बालबालिकाको संख्या बढेको छ
भवानी भट्ट

कञ्चनपुर — कैलाली वनभेडाकी प्रेमवतीकी १९ महिनाका छोराको तौल अहिले ८ किलोग्राम पुगेको छ । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालको पोषण पुनःस्थापना गृहमा एक महिना उपचार र स्याहारपछि यो तौल पुगेको हो । यहाँ आउनुअघिसम्म ती बालकको तौल ६ किलो थियो । जबकि एक वर्षअघि बालकको तौल साढे ७ किलो थियो । 

कैलालीको धनगढी, सुख्खड र टीकापुरलगायतका अस्पतालमा देखाउदा बालकमा कडा खालको कुपोषण भएकोले बचाउन नसकिने भन्दै पुनःस्थापना गृहमा पठाएको थियो । एक महिनाअघि बेहोस अवस्थामा यहाँ पुर्‍याएको बालक बाच्ने आशा थोरै थियो । नियमित उपचार र उपचारात्मक खानाले उनको अवस्था सुधार हुँदै गएको छ ।

बैतडीकी निर्मला साउदकी २२ महिनाकी छोरीको तौल अहिले पनि ६ किलो मात्रै छ । पुर्चौडी क्षेत्रको स्वास्थ्य चौकीमा जाँच गर्दा कडा खालको कुपोषण देखिएपछि यहाँ ल्याइएको हो । १४ दिनको उपचारपछि ६ सय ग्राम बढेर ६ किलोग्राम पुगेको हो । बालिका अहिले पनि राम्ररी खुट्टा टेक्न सक्दिनन् । ‘घरमा कामकै चटारो बच्चाको रेखदेख गर्नै नपाइने,’ साउदले भनिन्, ‘बच्चालाई खाना खुवाउनै नसकिने, अवस्था झन्झन् बिग्रिँदै गएपछि यहाँ ल्याए ।’ पोषण पुनःस्थापना गृहमा १४ दिनको उपचारपछि बालिकाको तौल ६ सय ग्राम बढेकोमा उनी निकै खुसी देखिन्थिन् ।

सुदूरपश्चिममा कुपोषित बालबालिकाको संख्या अन्य क्षेत्रको तुलनामा अहिले पनि उच्च नै । पछिल्लो समय कोरोना संक्रमणका कारण बालबालिकाको नियमित जाँच नहुँदा यो अवधिमा कुपोषित बालबालिकाको संख्या झनै बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले ग्रामीण भेगमा कुपोषित बालबालिकाको पहिचान गर्न खोजी अभियान नै चलाएको छ । जिल्लाभरिमा स्क्रिनिङ गर्दा दुई महिनामै ६ सय बढी कुपोषित बालबालिका भेटिएका छन् । यसले समेत पोषणको क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई झनै झस्काएको छ । कोरोना संक्रमणका कारण लामो समयसम्म बालबालिकाको जाँच हुन सकेन । खोप लगाउने काम भए पनि तौल गर्ने कार्य नहुँदा कुपोषित बालबालिकाको पहिचान हुन सकेन । जसका कारण एकै पटक ठूलो संख्यामा कुपोषित बालबालिका भेटिएको स्वास्थ्यकर्मी बताउँछन् । ‘कोभिडका कारण लामो समय बालबालिकाको नियमित तौल (ग्रोथ मोनिटरिङ) गर्न नसकेका कारण हामीले खोजी अभियान चलाएका हौं,’ जिल्ला स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन कपिलदेव जोशीले भने, ‘एउटा टोलमा एक/डेढ सयको स्क्रिनिङ गर्दा १५/२० बालबालिकामा कुपोषण भेटिएको छ ।’

स्वास्थ्य कार्यालयले जिल्लाका २४ वटा कुपोषित बालबालिकाको उपचार केन्द्रबाट स्वास्थ्यकर्मी र स्वयंसेविकाहरू परिचालन गरेर खोजी गरिरहेको छ । पोषण फोकल पर्सन जोशीका अनुसार ९५ बालबालिकामा कडा खालको र ५ सय ७ बालबालिकामा मध्यम खालको कुपोषण देखिएको छ । मुआक टेप (पाखुराको परिधि नाप्ने) ले पाखुराको परिधि नापेपछि रातो चिह्न आउँदा कडा खालको, पहेँलो चिह्न आउँदा मध्यम खालका र हरियो चिह्न आउँदा सामान्य अवस्थाको भन्ने बुझिन्छ ।

कडा खालको कुपोषण देखिएका बालबालिकालाई एक महिनासम्म दैनिक २ प्याकेट खुवाउने गरी तयार पारिएको उपचारात्मक खानाको प्याकेट दिइन्छ । मध्यम खालको कुपोषण देखिएकाहरूका लागि एक महिनासम्म प्रतिदिन एक प्याकेट उपचारात्मक खानाको प्याकेट दिइन्छ । यसबाहेक घरको खाना पनि नियमित खुवाउनुपर्छ । एक महिनापछि सुधार पुनः जाँच गरेर सुधार भएमा उपचारात्मक खाना बन्द गरिन्छ । नभएमा निगरानीमा वा खानाको मात्रा बढाइन्छ । उपचारात्मक खाना वा घरको खाना खान नमानेमा पोषण पुनःस्थापना गृहमै राखेर उपचार गरिन्छ ।

कञ्चनपुरमा सबैभन्दा बढी पुनर्वास नगरपालिकाका १४ बालबलिकामा कडा खालको र ९५ मा मध्यम गरि १०९ बालबालिकामा कुपोषण देखिएको छ । बेलौरीमा १२ मा कडा खालको र ५९ मा मध्यम खालको गरी ७२ मा कुपोषण देखिएको छ । २०६५ मा एक गैरसरकारी संख्थाले गरेको अध्ययन अनुसार कञ्चनपुरमा कुपोषित बालबालिकाको दर उच्च छ । त्यसयता यसबारे सचेतना बढेपछि कुपोषित हुने बालबालिकाको दर भने घट्न सकेको छैन । स्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा कडा खालको ९४ र मध्यम खालको कुपोषण २६२ बालबालिकामा देखिएको थियो । यस वर्ष दुई महिनामै त्यसको दोब्बर बालबालिकामा कुपोषण देखिएको छ । २०७६/७७ मा १३५ मा कडा र ३७७ मा मध्यम खालको कुपोषण देखिएको थियो ।

कञ्चनपुरमा ५ वर्षमुनिका बालबालिकाको संख्या ५३ हजार ४९४ रहेको छ । कुपोषणको बढी सिकार हुने २३ महिनामुनिका बालबालिकाको संख्या २१ हजार ८५९ छ । स्वास्थ्य कार्यालयले २३ महिना मुनिका बालबालिकाहरूकै स्क्रिनिङ गरिरहेको हो ।

विश्व स्वास्थय संगठनका अनुसार बालबालिकाहरूको ९० प्रतिशत बौद्धिक विकास ५ वर्षमुनिकै उमेरमा भइसक्छ । अझ ८० प्रतिशत बौद्धिक विकास २ वर्षभित्रै भइसक्छ । यही उमेरमा बालबालिकाहरू कुपोषित भएका शारीरिकसँगै बौद्धिक विकासमा ठूलो असर पर्ने पोषण फोकल पर्सन जोशी बताउँछन् । कुपोषणकै कारण बालबालिकाहरू सुस्त मनस्थितिका समेत हुन सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

बालबालिकालाई कुपोषणबाट जोगाउन स्थानीय तहहरूले प्रत्येक वडामा नियमित रूपमा जाँच गर्नुपर्ने पोषण पुनःस्थापना गृहकी कार्यक्रम प्रबन्धक इन्द्रा भट्ट बताउँछिन् । उनका अनुसार डेढ दशकअघि नै कुपोषित बालबालिकाको संख्या उच्च रहेकोमा अहिले पनि कुनै परिवर्तन हुन सकेको छैन । ‘सचेतनामा सुधार भएको छ, चाँडै चेकजाँच गराउने र उपचार गराउन थालेका छन्,’ उनले भनिन्, ‘तर कुपोषित बालबालिकाको संख्या अझै घट्न सकेको छैन ।’

प्रकाशित : आश्विन ११, २०७८ १०:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×