माइबेनी हाइड्रोमा दुई महिनाअगावै व्यावसायिक उत्पादन

विप्लव भट्टराई

इलाम — ऊर्जा डेभलपर्स ग्रुपको कम्पनी सामलिङ पावरद्वारा इलाममा निर्माण सम्पन्न ९ दशमलव ५१ मेगावाटको माईबेनी जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन थालेको छ । भदौ १८ देखि परीक्षण उत्पादन सुरु गरेको आयोजनाले गत असोज १ देखि व्यावसायिक उत्पादन सुरु गरेको हो । 

माइबेनी हाइड्रोमा दुई महिनाअगावै व्यावसायिक उत्पादन

आयोजनाले नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिहरूको रोहवरमा विभिन्न चरणको परीक्षण सम्पन्न गरी विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) बमोजिम १५ दिन प्रधिकरणलाई निःशुल्क विद्युत् उपलब्ध गराएको थियो ।

माईखोलाको पानीलाई २ हजार ५ सय मिटरको सुरुङमार्फत ल्याएर माइबेनी नजिक पावर हाउस निर्माण गरिएको छ । सुरुङदेखि पावरहाउसम्मको हेड १ सय ४७ मिटर छ । आायेजना सम्पन्न गर्न २ अर्ब रुपैयाँ खर्च भएको कम्पनीको भनाइ छ ।

इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकाबीचमा उक्त आयोजना निर्माण गरिएको हो । नेपाल सरकार ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयबाट आयोजनाले २०७५ साल वैशाख ६ गते विद्युत् उत्पादनको अनुमति प्राप्त गरेको थियो । आउदो मंसिरदेखि मात्र व्यापारिक उत्पादन गर्ने सम्झौता भए पनि आयोजनाले लक्ष्यभन्दा दुई महिना अगावै काम सम्पन्न गरेको हो । सरकारसँग भएको खरिद बिक्री सम्झौताअनुसार सुक्खायाममा ८ रुपैयाँ ४० पैसा र बर्खायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा प्राधिकरणले विद्युत् खरिद गर्नेछ । ‘आयोजनाले प्रभावित क्षेत्रका लागि सेयरसमेत निष्कासन गरिसकेको छ,’ प्रोजेक्ट मेनेजर राजेन्द्रराज भारतीले भने ।

माइबेनीको कुल १२ लाख ३० हजार कित्ता सधारण शेयर (आईपीओ) मध्ये आयोजना प्रभावित बासिन्दाप्रति लक्षित पाँच लाख कित्ता शेयरका लागि भदौ १८ गतेबाट असोज १ गतेसम्म सेयर लिएको छ । यस्तै, थप सात लाख तीस हजार कित्ता सेयर कम्पनीका कर्मचारी र सर्वसाधारणका लागि खुल्ला गर्ने उनले जानकारी दिए । लक्षित समयभन्दा २ महिनाअघि नै काम सकेर उत्पादन थालेकाले विभिन्न चरणमा रहेका अन्य आयोजनाबाट समेत समयमै विद्युत् उत्पादन गर्न थप हौसला थपिएको प्रोजेक्ट मेनेजर भारतीको भनाई छ । ऊर्जा डेभलपर्सकै अर्को सहायक कम्पनीमार्फत इलाममै निर्माण भइरहेको ६ दशमलव २ मेगावाटको तल्लो जोगमाई निर्माणको अन्तिम चरणमा पुगेको छ । आगामी महिनाबाट यसले पनि व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीले जानकारी दिएको छ ।

इलामको माई, जोगमाई र पुवामाईमा गरी १८ वटा विद्युत् आयोजना निर्माण भइसकेका छन् । जिल्लाको अहिले कुल विद्युत् उत्पादन क्षमता १ सय ४० मेगावाट पुगेको छ । केन्द्रीय प्रशारणमा यहाँ उत्पादित विद्युत् पुर्‍याउन कावेली करिडोरले सघाएको छ । राजदुवालीको सवस्टेसनमा यहाँ उत्पादित विद्युत् पुर्‍याइएको छ ।

इलामसहित पाँचथर र ताप्लेजुङमा निर्मित आयोजनाबाट उत्पादित विद्युत् कावेली करिडोरमार्फत केन्द्रीय राष्ट्रिय प्रसारण लाइनमा जोडिन्छ । २०५८ मा विद्युत् प्राधिकरण मातहतको पुवाखोला हाइड्रो पावर ६ दशमलव २ मेगावाटको विद्युत् उत्पादन थालेपछि जिल्लामा निजी क्षेत्रबाट यति धेरै आयोजना सम्पन्न भएका हुन् । रन अफ द रिभरको आधारमा यहाँ निर्मित आयोजनाले बर्खायाममा क्षमताअनुसार नै विद्युत् उत्पादन गरे पनि हिउँदयाममा न्यून मात्र विद्युत् उत्पादन गर्ने गरेका छन् ।

प्रकाशित : आश्विन ११, २०७८ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?