कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

युवतीको हत्या ‘विष खुवाई भिरबाट धकेलेर'

प्रहरीले हत्या आरोपमा एक जनालाई पक्रिएको छ
आनन्द गौतम

ताप्लेजुङ — शुक्रबार बिहान मृत भेटिएकी १८ वर्षीया युवती पुष्पा तबेबुङको हत्या भएको प्रहरीले दाबी गरेको छ । प्रहरीले हत्या आरोपमा एक जना पक्राउसमेत गरेको छ ।

युवतीको हत्या ‘विष खुवाई भिरबाट धकेलेर'

पक्राउ पर्नेमा फुङलिङ नगरपालिका–१० फुरुम्बुका ट्याक्टर चालक राम कार्की छन् । प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाका अनुसार कार्कीले हत्या गरेको स्वीकार गरिसकेका छन् । ‘उनले आफूहरू नौ महिनादेखि प्रेममा रहेको र सँगै मर्ने भन्दै युवतीलाई फकाएर फुङलिङ नगरपालिका–५ को सेते चौतारा छेउमा पुर्‍याई विष सेवन गराएर पहाडबाट धकेलेको बयान दिएका छन्,’ राणाले भने । युवतीलाई धकेलेको भनिएको पहाडबाट झन्डै सय मिटर तल शव भेटिएको थियो । ‘मोटरसाइकलमा लगेर निकै नाटक गरेर धकेलेको देखिन्छ,’ राणाले थपे, ‘यो प्रारम्भिक अनुसन्धान हो, विस्तृत अनुसन्धान गरिरहेका छौं ।’ कार्कीलाई शनिबार राति प्रहरीले पक्राउ गरेर ल्याएको राणाले बताए ।

पुष्पाका परिवारले यसअघि नै कार्कीप्रति शंका गरेर किटानी जाहेरी दिएका थिए । तर प्रहरीले पक्राउ नगरेपछि आपत्ति जनाएका उनीहरुले आइतबार बिहान पत्रकार सम्मेलन गरी सोमबारदेखि हडताललगायत कार्यक्रम गर्ने चेतावनी दिएका थिए । उनीहरूले प्रहरीलाई शव पोस्टमार्टम नगर्न भन्दै आफूहरूले नबुझ्ने बताएका थिए ।जिल्ला अस्पतालमा राखिएको शवको पोस्टमार्टम हुन सकेको छैन ।

कार्की भने शनिबारसमेत ट्याक्टर लिएर सदरमुकाम फुङलिङबाट फक्ताङलुङ गाउँपालिका केन्द्र तापेथोक गएको स्थानीयले बताएका छन् । सदरमुकाम फुङलिङको बिहीबारेमा दिदी र आफन्तसँग बस्दै आएकी पुष्पाले बिहीबार बेलुका उनै कार्कीसँग कुराकानी गरेको र राति हराएको परिवारले बताउँदै आएका थिए ।

प्रकाशित : आश्विन १०, २०७८ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?